१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

पाल्पा – अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ ।

शनिबार जिल्लालाई ४८ औं खुला दिशामुक्त जिल्लाको रुपमा सङघीय प्रशासन तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले घोषणा गर्दैछन् ।तर जिल्लामा रहेको १० स्थानीय तहका सबै घरधुरीमा शौचालय नै निर्माण नहुँदै जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न लागेको हो ।खुला दिशामुक्त क्षेत्र घोषणा गरिएका गाउँपालिका तथा नगरपालिकाका विपन्न समुदायका बासिन्दाको घरमा शौचालय नै छैनन् । गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टी गरेका छन्।

खानेपानीको समेत चरम अभाव खेपिरहेका रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी, निस्दीको अर्चले, पूर्वखोलाको सिलुवा, जल्पा तथा तिनाउँ गाउँपालिकाको सत्यवती क्षेत्रमा विरलैमात्र साईफनयुक्त चर्पी प्रयोग हुने गरेको छ । तानसेन र रामपुर नगरपालिकाको विपन्न बस्तीहरूमा शौचालय पूर्णरुपमा बनेका छैनन् । शौचालय बनाएकाहरूले समेत पानीको अभाव भएको बताउने गरेका छन् । कतिपय त घरका सामाग्री राख्ने स्टोर कोठाका रूपमा शौचालयलाई प्रयोग गर्ने गरेका छन्।

पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष शैलेन्द्र भट्टराई जंगलमा पिसाब गर्दै गरेको कार्टुन पोष्ट गर्दै लेख्छन्, ‘खुला दिशापिसाब मुक्त क्षेत्र भनेरमात्र कहाँ हुन्छ सरकार ?बाटो हिँड्दा च्याप्यो भने अरूको घरमा पस्ने कुरो पनि त भएन नि !!’ पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले खुला दिशामुक्त र सार्वजनिक शौचालय नबन्दै कसरी घोषणा गर्ने भनेर स्वच्छता समितीका जिज्ञाशा राखेको बताए।

उनी भन्छन्, ‘मैले पनि जिज्ञाशा राखेको थिए । सार्वजनिक शौचालय नहुँदा नहुँदै घोषणा गरिएको कुरा साँचो हो । प्रत्येक घरमै शौचालय निर्माण भए घोषणा गर्न मिल्छ भने । सोही अनुसार हुँदै छ ।’ प्रजिअ ढकालले सार्वजनिक स्थानमा स्थानीय तहले सार्वजनिक शौचालय र खुला ढललाई व्यवस्थित गराउनुपर्ने बताए ।  तिनाउँ गाउँपालिकाको वडा नं.४–सत्यवती खुला दिशामुक्त गाउँ हो । तर झण्डै ५० घरका महिलाहरु महिनावारीको समयमा जंगलमा दिशापिसाब गर्न बाध्य छन्।

स्थानीय पृथी प्रकाश माविमा कक्षा ८ मा अध्ययनरत पुष्पा राना भन्छिन्, ‘आमाबुबाले पहिलेदेखीको चलन भन्दै बस्ने, खाने र शौचालय प्रयोग गर्ने स्थान छुट्टै चाहिन्छ भन्नुहुन्छ हामी पनि त्यहि गर्दै आएका छौं । सत्यवती बज्यै रिसाउने भन्ने कारण यहाँका सबै दिदीबहिनीले यसै गर्छन्। कहिलेकाँही स्कुल जान समय नै पुग्दैन।’ पुष्पाले चल्दै आएको चलनलाई आफुहरुले तोड्न नसकेको बताईन्।

यही वडाकै स्वास्थ्य स्वयंसेविका पनि यस कुराबाट अलग रहन सकेकी छैनन्। स्वयंसेविका भन्छिन्, ‘सत्यवती बज्यै परापूर्व कालमा यस गाउँमा बसेको र महिलाले रजस्वला हुँदा नबारेकै कारण रिसाएर ठाउँ सरेकी रहिछन्।

त्यसैले यहाँका हामी सबै महिलाले छुट्टै रहनुपर्छ ।’ उनले स्वास्थ्य र सरसफाईमा ध्यान दिनुपर्ने भएता पनि आफुहरूका निम्ती अलग्गै बस्ने, खाने र सुत्ने स्थान निर्धारण हुने गरेको बताईन्। स्थानीय पूर्णबहादुर दर्लामी भन्छन्, ‘महिलाहरु पन्छिँदा छुन हुँदैन भन्छन् । शौचालयमा रहेको पानी छोईन्छ त्यसैले जङगलमा नै दिसा पिसाब गर्नुपर्छ । महिलाले जथाभावी गरेमा बज्यै रिसाएर अनिष्ट हुन्छ।’

तानसेन नगरपालिको साविकको वडा नं. ३, ११ र १२ वडा खुला दिशामुक्त घोषणा गरिएको छैन । स्थानीय बासिले खुला ढल बगिरहेको अवस्थामा खुला दिशामुक्त घोषणा गर्न अवरोध गरेका थिए । तानसेन सुन्दर नगरी हो । जहाँ पस्ने बित्तिकै होलङ्दीमा ठूलो घुम्ती छ। घुम्तीमा सानो झरना पनि देख्न सकिन्छ। आकाशबाट पानी पर्दा त यो झरनाको आकार पनि ठूलो हुन्छ । कतिपय बाहिरी जिल्लाबाट सुन्दर नगरिको अवलोकन गर्न तानसेन भित्रनेहरुले यो झरनामा फोटो खिचाउने गरेको आफ्नै नाङ्गो आँखाले देख्न बाध्य छन् तानसेनबासी।

 होलाङ्दीका स्थानीय महेन्द्र पाण्डेले वर्षाको समयमा झरनामा कपडा खोलेर नुहाउने गरेको देखेको बताउँछन् । तर यो झरना भने होईन । तानसेन नगरको ढल होलाङ्दी घुम्तीमा झरना बनेर झरिरहेको यहाँका अभियान्ताहरुले पनि नदेखेको भने होईन। उनीहरुले यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ। यहाँबाट बग्ने ढलको दिशा खुला रुपमै बगेर प्रभाष क्षेत्रमा पुग्ने गरेको छ।

तानसेनको बसपार्क नजिकै पेट्रोल पम्पबाट कारागार क्षेत्रमा ढाकिएर फालिएको ढल काजिपौवा क्षेत्रबाट खुला रुपमै प्रभाष क्षेत्रमै पुग्ने गरेको छ। तानसेनको कैलाशनगर क्षेत्र सञ्चारको धनी क्षेत्र मानिन्छ । यहि क्षेत्रमा बस्ने विपन्न, गरिब तथा दलित बस्तीका रुपमा पहिचान पाएको तल्लो क्षेत्रको धेरैको घरमा अहिले पनि शौचालय छैन । भएका शौचालयहरुमा साईफन प्यान जडान भएको देखिँदैन।

तानसेनको बिचमा रहेको नेपाल रेडक्रस सोसाईटी रहेको क्षेत्रमा तानसेन नगरपालिकाका सरसफाईका कर्मचारी बस्ने गर्दछन् । यस क्षेत्रमा रहेको सिस्नोघारी वरपर अहिले पनि खुला दिशामा ठूलो माखा भुन्भुनाएको सबैको नजरमा छ। ‘कुकुरसँगै मर्निङ्ग वाक गर्ने अनि खुला ठाउँमा कुकुरलाई दिशापिसाब गराउने ! कुरा भने खुला दिशामुक्त घोषणाका गर्ने । टक्सारको मन्दिर अगाडी बिहान आउनुस् मेयर साप्, के–के देखिन्छ ।

यस्ता मान्छेलाई के कारवाही हुन्छ ?,’–तुम्ला बज्राचार्यले तानसेन नगर सरकारलाई प्रश्न गर्दै भनिन्, खुला दिशाका ढल बगाएर खुला दिशामुक्त घोषणा गर्दैमा नगर स्वच्छ हुन्छ ?’ बर्तुङ्गकी लक्ष्मि पाण्डे भन्छिन्, हाम्रो खेतीयोग्य जमीनमा काम गर्न भित्र पस्न नसकिने भएको छ । टोलका ढल खुलै रुपमा हाम्रो खेतमा फालिएका छन्।यसले स्वास्थ्य स्थितिमा समेत प्रभाव पारेको छ । बसपार्कका दिनेश गन्दर्भ भन्छन्, ‘पर्यटकीय नगरिको बसपार्कमा सार्वजनिक शौचालय छैन । दलित बस्तिमा खुला खाल्टे चर्पिछन्।

’टोल विकास संस्थाका प्रमुख चेतबहादुर थापाले ढलको व्यवस्थापन गर्न ५४ लाखको योजना पेश गरिएकोमा ३ लाख ७५ हजारको काम सुरु भएको बताए। उनी भन्छन्, ‘२०६७ सालमा ३ लाख ७५ हजारको काम भयो । २०७० पनि त्यही र अहिले भने काम नै हुन सकने ।’ सुनिता शर्मा भन्छिन्, ‘खुला दिशामुक्त नगर भैसक्यो रे ? तपाईहरु देख्नुभएको छैन भने तीन नम्बरमा आउनुस् खाल्टे चर्पिमा दिशा गर्ने कसरी खुला दिशामुक्त ?’ फागुन ३० गते तानसेन नगरपालिकाले आयोजना गरेको अर्धवार्षिक सार्वजनिक सुनुवाईमा अनुत्तरित जिज्ञाशाको उदाहरण हुन् यी।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्यले झण्डै शत प्रतिशत जस्तै घरहरुमा शौचालय बनेको बताउँछन् । उनी भन्छन्, ‘साविक गाविसहरु सबैमा औपचारिक रुपमा खुला दिशामुक्त गाविस घोषणा भए । नगरपालिकाका केही वडा घोषणा नभए पनि शौचालय बनेका छन् । क्षेत्रीय टोलीले अनुगमन गरेर सूचक पुरा भएको भनेपछि घोषणा गर्न लागेका हौं।

’ सन् २००० बाट सुरु भएको सरसफाई सप्ताह मनाउने कार्यक्रम जिल्लामा पहिलो पटक भैरवस्थान गाविस २०६८ माघ १० पहिलो खुला दिशामुक्त गाविस घोषणा भएसँगै घोषणा गर्ने होडबाजी नै चल्यो। ‘सुरु सुरुमा घोषणा गर्नेहरुको त्यति राम्रो थिएन । पहिलो दोस्रो हुने होडबाजी चल्यो । जिविसले पूर्ण सरसफाई भएकोलाई १ लाख दिने गर्दथ्यो।

धेरै त्यसैको पछि लागे । त्यो समय ८५ घरहरुमा स्थायी र बाँकीमा अस्थायी शौचालय बनाएको भए पनि घोषणा गर्न सकिन्थ्यो,’–शाक्यले भने । जिल्लालाई खुला दिशामुक्त घोषणा पछि सार्वजनिक स्थानहरुमा शौचालय बनाउने र ढलहरु व्यवस्थित गरिने शाक्य बताउँछन् । जिल्लामा ६९ हजार २ सय ९१ घरधूरी रहेका छन् । यस अभियानको दौरानमा ३६ हजार ७ सय ६० घरधूरीमा चर्पी बनाएको कार्यालयले जनाएको छ।

साविस गाविस तथा नगरपालिकाले १५ हजारदेखी १ लाखसम्म धनराशी खर्च गरेर तामझामका साथ घोषणा कार्यक्रम गरिँयो । जुन समय अति विपन्न वर्गलाई प्यान र प्याडमात्र दिएर झुलाईएको पूर्वखोला–६ का चक्र विकले बताए।

कतिपय गाविसहले अति विपन्नलाई १२ सय बराबरको पुरस्कार दिने भनेर रकम पनि दिए । गाउँ स्तरीय समन्वय समितिले सिफारिस गरेको १० देखी १५ घरधूरीलाई साविक गाविसले १ हजार २ सय रुपैयाँ सहयोग गरेको तथ्याङ्कमा छ । सक्षम गाविसले स्रोत छ भनेर मनोमानी पनि खर्च गरे । कतिपयले भने सिमेन्टसम्म पनि किनेर दिए।

सरकारी अनुदान छुट्टै भने नगएको केशवलाल बताउँछन् । यस अभियानको क्रममा साविक जिल्ला विकास समितिले १ करोड २६ लाख रुपपैयाँ खर्च गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले मात्र १ करोड ६० लाख रुपैयाँ खर्च गरेको देखिन्छ । तर सार्वजनिक शौचालय एउटा पनि बनेको छैन । गाविस र नगरको जम्मा रकम लिने हो भने जिल्लामा मात्र झण्डै ५ करोड बढी खर्च भएको छ । तर जिल्लामा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय भने बनेको छैन।

सामाजिक परिचालकलाई शौचालय बनाउने अभियानलाई तिव्रता दिन भन्दै जिल्ला विकास समितिले समयसीमा तोकेरै घोषणा अभियान सञ्चालन गर्यो । तर त्यस समयमा घोषणा भएका साविक गाविसकै १५ देखी २५ प्रतिशत घरधूरीमा अझै शौचालय बनाउन बाँकी रहेको सामाजिक अभियान्ताहरु बताउँछन् । तर उनीहरुले यसको खुलेरै विरोधमा उत्रिन भने कठिन हुने बताउँछन्।

सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त बनाउने सरकारी रणनीतिअनुरुप खुला दिशामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समितिले जनाएको छ । ‘पोस्ट ओडिएफ’ कार्यक्रमले यो समस्यालाई सामाधान गर्ने खानेपानी तथा सरसफाई स्वच्छ्ता समन्वय समितिको तर्क छ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जिल्लामा सार्वजनिक शौचालय नबन्दा पनि घोषणा गरिनुमा आफु पनि अन्यौलमा रहेको बताउँछन् । ‘सबै घरहरुमा त शौचालय बनेका पनि छैनन् । करिब ९५ प्रतिशत बनेपछि क्षेत्रियले पनि मान्दो रैछ । शत प्रतिशत शौचालय निर्माण गर्ने गरि घोषणा गर्न लागिएको हो । हामीले पनि कति साह्रै गर्ने भनेर हुन्छ भन्यौं । वास्तवमा खुला ढल व्यवस्थित बन्नुपर्ने हो,’–बस्यालले भने।

चर्पी नभएका ठाँउमा चर्पी बनाउन पहल गर्ने, मर्मत–सम्भार, चर्पीको प्रयोग, स्वच्छ खानेपानी लगायत विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन हुने समितिको भनाई छ । पूर्ण सरसफाइ हुन चार्पीको प्रयोग, साबुन पानीले हात धुने, सुरक्षित पानीको प्रयोग, सफा घर, आँगन, सफा वातावरण जस्ता छ वटा सूचकांक  राखिएको छ।
 

प्रकाशित: २३ चैत्र २०७४ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App