२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती, पानीमा मनोमानी शुल्क

गतवर्ष दसैँ तिथिको सप्तमीका दिन साँझ परिवारसहित खाना खान लहानस्थित माखन भोग होटलमा गएका पत्रकार धर्मेन्द्र पासवान गुणस्तरहिनताको सिकार भए। शुद्ध शाकाहारी खानाका लागि कहलिएको यस होटलमा पासवानका लागि पस्केको खानामा किरा भेट्टाएपछि उनी नियमनकारी तथा कारवाही निकाय गुहारे।

ईलाका प्रशासन, नगरपालिका हुँदै उनी जिल्ला प्रशासन कार्यालय सिरहा पुगे। र, तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे समक्ष गुहार लगाए। तर, कतैबाट न्याय नपाएको पासवानको गुनासो छ। माखन भोगलाई कारबाही गर्ने आँट कसैमा नदेखेपछि उनी भन्छन्, ‘जब मान्छेमा डर हराउँछ त्यसपछि उ मनपरी गर्न हौसिन्छ।’

मङ्लवार (असोज १५) गते चाडबाड लक्षित बजार अनुगमनमा पुनःमाखन भोग होटलको समोसामा किरा फेला पर्यो। अनुगमन टोलीको नेतृत्व लहान नगरपालिकाको उपमेयर एवं अनुगमन संयोजक रामचलितर महतोले गरिरहेका थिए। केही पत्रकारहरु पनि थिएँ। र, उनीहरुमध्ये एकजनाले  यसपटक कारबाही नभए ‘मिलेमतोमा छुट दियो’ भनेर समाचार लेख्ने चेतावनी दिए। त्यसपछि अनुगमन टोली यस होटललाई न्युनतम् जरिवाना (२० हजार रुपैयाँ) तिर्नुपर्ने निर्णयमा पुगेको एक सहभागीले बताए।

पटकपटक मानव स्वास्थ्यमाथि खेलवाड गरेको तथ्य भेटिँदा पनि सकेसम्म छुट दिने दबाब बढे न्यूनतम जरिवाना तिराएर जोगाउने नियामक निकायको प्रवृतिले यस होटल सञ्चालकको मनोबल बढ्दै गएको स्थानीय बताउँछन्। लहान नगरपालिकाको करिब हरेक कार्यक्रममा खाजा यसै होटलबाट आपूर्ति हुँदै आएको रेकर्डबाट देखिन्छ।

अनुगमनमा उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार महासंघसहितको संयुक्त टोली सहभागी थियो।

यही अनुगमन टोलीले कृष्णा सप्लायर्स लहानमा पनि म्याद गुज्रिएको पेय पदार्थ फेला पार्यो। कृष्णा सप्लायर्सलाई तीन दिन भित्र म्याद गुज्रिएका एक लाख २५ हजार ६ सय ८० मूल्य बराबरका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ।

ऋषि जल पानी उद्योगमा गरिएको अनुगमनको क्रममा ‘बोतलवाला पानी’ को मूल्य मनपरी तोकेर  उपभोक्तालाई बिक्री गर्ने गरेको भेटिएको छ। त्यसपछि कम्पनीलाई स्पष्टीकरण सोधेर छाडिएको छ।

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, फितलो बजार अनुगमन र कमजोर कारबाही प्रक्रियाका कारण केही व्यवसायीहरुले मनोमानी ढंगले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाट गरिरहेका छन्।

प्रकाशित: १६ आश्विन २०८१ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App