२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ। मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्ड अन्र्तगत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीको जेसिभी र एस्काभेटरको चाबी फिर्ता दिएको हो।

आगामी दिनमा मापदण्ड विपरित जथाभाबी ढुंगा गिटी उत्खनन् नगर्ने र नगरपालिकाको मापदण्ड अनुसार मात्र ढुंगा गिटी उत्खनन् गर्ने शर्तमा सोमबार चाबी फिर्ता दिइएको मेयर इवन राईले बताए। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवलपुर जाने सडक आसपासबाट मापदण्ड विपरित ढुंगा गिटी उत्खनन गरेकाले नगरपालिकाले बिहीबार ठेकेदारको दुई वटा जेसिभी र एक वटा एस्काभेटरको चाबी खोसेको थियो। प्रहरीचौकी अर्खौलेलाई बुझाइएको एस्काभेटर र जेसिभीको चाबी मापदण्ड पूरा गरेर मात्र गिटी ढुंगा निकाल्ने शर्तमा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ।

प्राकृतिक अवस्थिति तथा स्थानीय सामुदायिक बनलाई समेत असर पुग्नेगरी गिटी ढुंगा उत्खनन् गरेको पाइएकाले नगरपालिकाले रोक लगाएको थियो। यसअघि तीन पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै ढुंगा गिटी निकाली रहेकाले मेयर राईले ठेकेदारको चाबी खोसेका थिए। नगरपालिकाको खानी तथा श्रोत परिचालन समितिले तयार पारेको मापदण्ड पूरा नगरी नगरभित्रका गिटी तथा ढुंगा उत्खनन् नगर्न चेतावनी दिएको छ।

नगरपालिकाले किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम क्षेत्रको ढुंगा नझिक्नका लागि समेत ठेकेदारलाई सचेत गराएको छ। मध्यपहाडीकै हलेसी–बिजुले खण्ड कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी कन्काई सुर्य जेभीले सडक फराकिलो पार्ने नाममा तुवाचुङ–जायाजुमडाँडा मुनीबाट प्राकृतिक श्रोतको दोहन गरेको भन्दै नगरपालिकाले तुवाचुङ जायाजुमलाई अशर नपुग्नेगरी सडक स्नरोन्नतीका काम गर्न भनेको हो।

प्रकाशित: २० चैत्र २०७४ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App