४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डेंगीको ‘हटस्पट’ पोखरा

पछिल्लो समय गण्डकी प्रदेशमा डेंगी संक्रमण झनै तिब्र बनेको छ। अघिल्लो महिनासम्म तनहुँमा संक्रमण तिब्र रहेकोमा अहिले कास्कीमा संक्रमण बढिरहेको छ। कास्कीको पोखरा अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको प्रदेशको स्वास्थ्य मन्त्रालयले बताएको छ। पर्यटकीय सहर पोखरामा दिनहुँ संक्रमण बढिरहेको मन्त्रालयको भनाई छ।  

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। स्वास्थ्यकर्मीले अहिले पनि डेंगी संक्रमण असोज महिनाभर नै रहिरहने अनुमान गरेका छन्। गण्डकीमा यो वर्ष डेंगीका झन्डै सातहजार संक्रमित पुगिसकेका छन्। तीमध्ये पाँचजनाको ज्यान गएको पनि मन्त्रालयको भनाई छ। मन्त्रालयका प्रवक्ता सुरज गुरौका अनुसार योवर्ष बुधबारसम्म गण्डकीमा ६ हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको छ।  

‘पछिल्लो समय पोखरामा संक्रमण तिब्र बनेको छ। पोखरा अहिले प्रदेशकै डेंगीको हटस्पट हो,’ प्रवक्ता गुरौले भने, ‘अगष्ट महिनामा मात्र गण्डकीमा झन्डै चारहजार संक्रमित थपिएका थिए। सेप्टेम्बरको अहिलेसम्म २ हजार जनामा संक्रमण देखिएको छ।’ उनका अनुसार यो वर्ष अहिलेसम्म कास्कीमा सबैभन्दा बढी ३ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित पोखरामा छन्।  

त्यसपछि तनहुँमा २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतमा ६ सय ४, गोरखामा ३ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। स्याङजामा २ सय ७९, बागलुङमा १ सय ७६, लम्जुङमा ८९, म्याग्दीमा पनि ८९, नवलपुरमा ८६ र मनाङमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गुरौले बताए। प्रदेशभित्र सबैभन्दा बढी संक्रमित रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्र ३ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि तनहुँको आँबुखैरेनी गाउँपालिकामा १२ सय ६८ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।  

‘गत जुलाईपछि संक्रमणले एकाएक गति लिएको हो। जुलाईमा प्रदेशमा जम्मा ७ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो आकार अगष्टमा चारहजार हाराहारीमा थियो। सेप्टेम्बरमा अहिलेसम्म २ हजार जनामा संक्रमण पुष्टि भईसकेको छ,’ उनले भने , ‘असोजभरि नै संक्रमण रहिरहनेछ। अघिल्लो वर्ष पनि असोज सकिएपछि बल्ल संक्रमण कम हुन थालेको थियो।’ 

पानी पर्न रोकिने र चिसो बढ्न थालेपछि संक्रमण कम हुने स्वास्थ्यकर्मीको अनुमान छ। डेंगी संक्रमणले यो वर्ष प्रदेशमा पाँचजनाको ज्यान पनि गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा तीनजना पुरुष र दुइजना महिला छन्। ती मध्ये कास्कीका तीन, म्याग्दी र तनहुँका एक–एक गरि पाँचजनाको ज्यान पनि गएको प्रवक्ता गुरौले बताए। ‘डेंगी संक्रमण रोक्न समूदाय आफै सचेत नभएसम्म सम्भव छैन। घरघरमा लामखुट्टे नभएसम्म संक्रमण पनि कम हूँदैन,’ उनले भने, ‘नियन्त्रणका लागि सबैतिर सचेतना पनि जगाईरहेका छौ।’  

संक्रमण बढेपछि डेंगी परीक्षण गर्ने किटको समेत अभाव हुने अवस्था आउन थालेको उनले बताए। उनका अनुसार प्रदेशको आपूर्ति केन्द्रले सुरुमा १० लाख रुपैयाँको डेंगी परीक्षण गर्ने किट किनेको थियो। तर, ती सबै सकिनै थालेको उनले बताए। यो वर्ष संक्रमण बढिरहेपछि थप २० लाख रुपैयाँ प्रदेशको अर्थ मन्त्रालयसँग मागेर किट कन्ने योजना बनाएको पनि उनले बताए। ‘प्रदेशमा दिनहुँ संक्रमित थपिएका छन्। त्यसैले परीक्षण गर्ने पनि बढेको बढ्यै छन,’ उनले भने।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: २७ भाद्र २०८१ १७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App