४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटनमन्त्री पाण्डेद्वारा विभिन्न देशका मन्त्रीसँग भेट, सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह

भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन्।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार मन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेट गरेका थिए।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न सहरबाट नेपाली सहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए।

पोखरा र मुक्तिनाथ भारतीय पर्यटकको उच्च रोजाइमा पर्ने गरेको चर्चा गर्दै मन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिएका थिए।

उनले बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग पनि भेटवार्ता गरेका थिए। भेटमा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए।

जवाफमा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिएका थिए।

साइडलाइन बैठकका क्रममा मन्त्री पाण्डेले आईकाओका दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय निकायका प्रतिनिधिलाई बेग्लाबेग्लै भेटेर नेपालले हवाई सुरक्षाका विषयमा सुरु गरेका नीतिगत सुधार लगायत विषयमा जानकारी गराएका थिए।

सोही क्रममा आइकाओका युरोपियन युनियन एभिएशन सेफ्टिी एजेन्सीका प्रतिनिधिहरूलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीव्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार लगायतका विषयमा जानकारी गराएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।

मन्त्री पाण्डेले दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि, पूर्वाधार उपमन्त्री जो जोङओनसँग भेट गरेका छन्। सो क्रममा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो।

मन्त्री पाण्डेले भियतनामका यातायात उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गरेका छन्। भेटमा नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायत नागरिक उड्डयनका विविध विषयमा छलफल भएको थियो।

यसैगरी, मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेट गरेका थिए। भेटमा दुईदेशबीच नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकास लगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो।

सबै भेटमा मन्त्री पाण्डेले विभिन्न देशबाट नेपालमा सिधैं उडान गर्न सकिनेगरी वातावरण बनेको र सरकारले त्यसका लागि आवश्यक प्रबन्ध मिलाएको जानकारी गराएका थिए।

प्रकाशित: २७ भाद्र २०८१ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App