२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान

कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई जना किसानले व्यावसायिक सतुवा खेती गरेका छन्। गाउँपालिका–५ रुप्साका जसमल बोगटी र वडा नं ७ माल्कोटका श्याम बटालाले सतुवा खेती गर्दै आएका हुन्। पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गरेका उनीहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्। उनीहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहेका छन्।

सतुवा एक प्रकारको जङ्गली जडिबुटी हो। त्यसैको खेती गरेर हाल आफूले राम्रो आम्दानी गरिरहेको बताउँछन् बोगटी। उहाँ भन्छन्,‘सतुवा एउटा जङ्गली जडीबुटीको हो, पाच वर्षअघि परीक्षणका रूपमा सुरु रहेको थिए, त्यो सफल भएपछि पछिल्ला केही वर्षदेखि व्यावसायिक खेती गर्न थालेको हुँ। हालसम्म १० क्वीन्टल जति बिक्री गरेँ हुँला’, उनले भने।

बोगटीले करिब ५० हजार सुतवाका बिरुवाको नर्सरी लगाएका छन्। ‘नर्सरीमा उत्पादन भएका बीउ प्रतिकेजी १० हजारदेखि १५ हजारसम्म बिक्री हुने गरेको छ। हाल पाँच केजी बीउ उत्पादन गरेको छु’, उनले भने, ‘यो महँगो खाले जडिबुटी हो। अब सय क्वीन्टलसम्म बनाएर बिक्री गर्ने लक्ष्य राखेको छु।’

उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ। अर्का कृषक श्याम बटालाले भने, ‘सतुवा विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैँसी बिरामी हुँदा खुवाइने चलन छ। पाँच वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएको छु।’ 

उनले बिक्रीको समस्या नहुने तथा पर्याप्त मूल्य पाइने भएकाले खेती सुरु गरेको बताए। ‘तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ। मैले खेती गरेको पाँच वर्ष भयो, हाल मसँग १५ क्वीन्टल जति सतुवा छ। यसलाई बढाएर मात्रै एकमुष्ट बिक्री गर्ने लक्ष्य राखेको छु।’

बीउको राम्रो मूल्य

बोगटीले सतुवाको बीउको मूल्य र बजार माग पनि राम्रो रहेको सुनाए। ‘सतुवाको बीउको मूल्य बजारमा राम्रो छ’, उनले भने, “यसको बजार मूल्य प्रतिकेजी १५ हजारदेखि २० हजारमा पर्ने गरेको छ।’

सुरुमा उत्पादन भएको सतुवाको बीउको मूल्य थाहा नभएका कारणले सस्तोमा बिक्री गरेको अहिले बजार मूल्य थाहा पाएर महँगोमा बिक्री गर्ने गरेको बोगटीले बताए। ‘जति बढी खेती ग¥यो, त्यति बढी बीउ उत्पादन हुन्छ। विगतमा मैले एक केजी मात्र उत्पादन गर्ने गरेको भए अहिले त्यो बढ्दै गएको छ’, उनले भने।

किसान बोगटी भने प्रचारप्रसारको अभावमा बजार विस्तार हुननसकेको बताउँछन्। ‘अहिले प्रचारप्रसारको अभावले बीउ बिक्री हुन सकेको छैन। अलिकति बेचे पनि अझै १० केजी बीउ मौज्दात रहेको छ’, उनले भने।

कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिए पनि कुनै पनि सरकारी निकायले प्रचारप्रसार र बजारीकरणका लागि सहयोग नगरेको दुवै किसानको गुनासो छ।

‘यो खेती र सतुवाको महत्वबारे प्रचार हुनसकेमा जिल्लामा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको माग बढ्ने विश्वास छ। अन्य खेतीका लागि सरकारले नै अनुदान दिएर प्रोत्साहन गरिरहेको छ तर यस खेतीको प्रवर्द्धनका लागि कुनै काम भएको छैन’, दुवैको एउटै गुनासो छ।-रासस

प्रकाशित: २६ भाद्र २०८१ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App