२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

चेपाङ समुदायले मनाए छोनाम (न्वागी) पर्व

चितवनमा चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाएका छन्। चेपाङ समुदायको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा विभिन्न कार्यक्रम गरी शनिबार छोनाम (न्वागी) पर्व मनाइएको हो।

भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ।

चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिइरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ। गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाइएको थियो।

चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले आज सबै चेपाङ बस्तीहरुमा धूमधामका साथ न्वागी) मनाउने गरिएको बताए। नयाँ अन्न देवतालाई नचढाई खान हुँदैन भन्ने मान्यता रहेको उनले सुनाए। सोही अनुसार चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि दिएर नयाँ अन्न चढाउने उनले बताए। फलफूल तथा अन्न चढाएपछि खान मिल्ने धार्मिक मान्यता रहेको छ।  

न्वागीमा यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ। कालिका नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष नरजंग प्रजाले चेपाङ समुदायमा साउन महिना देवता बाहिर जाने र भदौ लागेपछि भित्रने विश्वास रहेको बताए।

‘खेतमा उत्पादन गरेको घैया धान, खोरियामा उत्पादन गरेको मकै, निवुवा, खुर्सानी, अदुवा, पिँडालु, काँचो खुर्सानी लगायतका अन्नपात र फलफूल देवतालाई नचढाएसम्म नखाने प्रचलन छ, त्यसको उपयुक्त समय नै भदौ महिनाको पूर्णिमा हो’, अध्यक्ष प्रजाले भने ‘देवतालाई प्रसाद रुपी अन्न चढाएपछि हामीले खान्छौं।’ झाँक्रीले रातभरि फलाकेपछि अन्न बाली खान मिल्ने विश्वास रहेको उनले बताए।

विशेष गरेर न्वागी पर्व भदौको पूर्णिमामा मनाउने गरिन्छ। तर, राष्ट्रिय चेपाङ संघले राष्ट्रिय पर्वको रुपमा भदौ २२ मा मनाउने गर्दछ। पछिल्लो समय चेपाङहरुले धर्म परिवर्तन गर्दै गएका कारण आफ्नो संस्कृति लोप हुने खतरामा भएको समेत अध्यक्ष प्रजाले बताए।

‘हामीले चेपाङको इतिहास बिर्सन हुँदैन। यो पर्व हाम्रो संस्कृति हो। यो बिर्सने हो भने हामी चेपाङ नै बिर्सने हो’, उनले भने ‘यो संस्कृति कहिल्यै पनि हराउन दिनु हुँदैन अहिले क्रिश्चियन भनेर हिँडेका छन्। त्यस्तो गर्नुहुँदैन।’

भदौ महिनालाई चेपाङ समुदायले शुभ महिनाको रुपमा लिन्छन्। चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरुले आफ्नो चाडपर्व, संस्कृति बिर्सँदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई पर्वको जर्गेना गर्न पान्दे बोलाएर पर्व मनाइएको बताए।

उनले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको सुनाए। केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन्।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष यस पर्व मनाउने गरिन्छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्।

सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन्। यसैगरी मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ। 

प्रकाशित: २२ भाद्र २०८१ १८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App