२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बस दुर्घटनाका घाइते भन्छन्: ‘बस एक्कासि पल्टियो, अकल्पनीय दुर्घटना’

नेपालगन्जको भेरी अस्पतालमा उपचाररत बस दुर्घटनाका घाइते । तस्बिर: अर्जुन ओली/नागरिक

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रु बाहक बस बिहीबार ‘अपत्यारिलो’ ठाउँमा पल्टियो।

गन्तव्यमा पुग्न करिब ४ किलोमिटर दुरी बाँकी रहँदा भएको दुर्घटनामा अहिलेसम्म ३ जनाले अकालमा ज्यान गुमाई सकेका छन्। उक्त दुर्घटनामा अन्य २६ जना घाइते भएका छन्। दुर्घटना स्थल नेपालगन्ज–कोहलपुर (सुर्खेत रोड) सडक अन्तर्गत बाँकेको गनापुरस्थित नमस्ते रेस्टुरेन्ट नजिकै हो।

चार लेनको उक्त सडकमा यति ठुलो दुर्घटना होला भन्नेमा कसैले पनि कल्पना गरेका थिएनन्। सिधा सडकको लेनमै गुडिरहेको बस एक्कासि दुर्घटनामा पर्‍यो। दुर्घटनाका घाइते मध्ये २१ जनाको भेरी अस्पताल र ४ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

घाइते मध्येकी एक दाङ तुलसीपुर निवासी टंकेश्वरी लामिछानेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ। कल्पना नै नगरिएको ठाउँमा दुर्घटना भएको टंकेश्वरीले बताइन्। ‘बस आफ्नै रफ्तारमा गुडिरहेको थियो, अनियन्त्रित भएर एक्कासि बस पल्टियो,’ उनले नागरिक न्यूजसँग भनिन्। यति सहज बाटोमा दुर्घटना होला भनेर आफुले कल्पना नै नगरेको टंकेश्वरीको भनाई छ।

अर्की घाइते भगवती लामिछानेले दाङबाट त्यति अप्ठ्यारो (पहाड) बाटोलाई पार गरेर आएको बस सजिलो बाटोमा दुर्घटना हुनुमा चालकको लापरबाही भएको बताइन्। ‘यसमा चालकको कहीँ न कहीँ लापरबाही भएको छ, यसको छानबिन गरेर कारबाही हुनुपर्छ,’ उनले भनिन्। अस्पतालमा उपचाररत अधिकांश घाइतेले अकल्पनीय दुर्घटना भएको बताएका छन्। नेपालगन्ज आइपुग्नै लाग्दा भएको दुर्घटनाको अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

उक्त दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली, तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषाल र दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मृतक ओली र राई बसका यात्रु तथा भुषाल बसका सह–चालक रहेको बुझिएको छ। मृतक शव पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीले जानकारी दिए।

अन्य घाइतेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले पनि उपचार चलिरहेको उनले बताए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तर, चालकले भने बसको पट्टा नै भाँचिएर दुर्घटना भएको प्रहरी समक्ष बयान दिएका छन्। 

प्रकाशित: १३ भाद्र २०८१ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App