कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै चार दिनदेखि अनसनमा बसेका सङ्घर्ष समितिको आन्दोलन स्थगित भएको छ।
हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको मागसहित आमरन अनसनमा बसेको सङ्घर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति पछि अनसन स्थगित भएको हो।
समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलवारदेखि आमरण अनसनमा रहेका युवाहरूको अनसन तोडाएका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र सङ्घ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको छ।
साथै पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने सहमति भएको बताइएको छ।
प्रकाशित: ७ भाद्र २०८१ १३:०५ शुक्रबार