२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

कमला नदीमा नयाँ पुल बनाउन माग गर्दै आमरण अनसन

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमाथि नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरू सामूहिक आमरण अनशनमा बसेका छन्।

उक्त खण्डको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भएपनि कमला नदीमाथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र छ। ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले कमला नदीमा बन्दै गरेको पुल भाँसिएपछि पुनःनिर्माणका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि १० जना अभियन्ता मङ्गलवारदेखि सामूहिक आमरण अनशनमा बसेका हुन्।

इञ्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु भएको हो। हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इञ्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका¬६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं. ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, मनिषकुमार यादव, इञ्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य इञ्जिनियर रुपेश यादव, इञ्जिनियर शिवशङ्कर यादव र सोही गाउँपालिका—३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन्।

बन्दै गरेको पुल भाँसिएपछि मधेस समृद्धिको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी तर्न वर्खामा डुंगाकै सहारा लिनुपरेको छ। १२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।

२०७८ असार १७ गते निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको स्पाम धसिएको थियो। त्यसयता सुक्खामा बाँसको पुल र बर्खामा डुंगाकै सहारामा मानिस नदी वारपार गर्दै आएका छन्। कमला पुल पुनर्निर्माणका लागि बुद्धिजीवी रामरिझन यादवको नेतृत्वमा यसअघि दबाब आन्दोलन भएको थियो। त्यो बेला सरकार पक्षको आश्वासन पछि आन्दोलन रोकिएको थियो्। अहिले सिरहा नगरपालिकामा कार्यरत इन्जिनियर प्रवीणकुमार यादवको संयोजकत्वमा गठित संघर्ष समितिले पुरानो पुल होइन नयाँ पुल बनाउनका लागि बजेट सुनिश्चित गर्न आमरण अनशन सुरू गरेका छन्।

मधेसको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारणले प्रदेशको राजधानी जनकपुरधाम आउजाउमा सास्ती भोग्दै आएका छन्। बर्खाको बेला राजमार्ग वा भारत हुँदै करिब एक सय किलोमिटर बढी दुरी पार गरेर मात्र जनकपुरधाम पुग्न सकिने बाध्यता सिरहावासीको छ। छोटो दुरीमा नदी पार गर्न काठको डुंगा एक्लो सहारा बनेको छ। प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ।

केही दिनअघि मात्रै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए। मुख्यमन्त्री सिंहले मधेसको ‘लाइफलाइन’ मानिएको कमला पुलको निर्माणले मधेस प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए।

सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो, कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धति जोडिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

प्रकाशित: ५ भाद्र २०८१ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App