निर्माण सम्पन्न भएको एक महिनामै नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ उप्किएको छ। राष्ट्रिय खेलकुद परिषद्ले रंगशालामा सेन्थेटिक ट्रयाक हालै निर्माण सम्पन्न गरेको थियो।
राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या/साइनकोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो।
सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो।
निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तर माथि प्रश्न उठेको छ। नेपालगन्जवासीले सेन्थेटिक ट्रयाकको गुणस्तर माथि प्रश्न उठाउँदै छानबिन गर्नुपर्ने माग गरेका छन्।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले एकदमै कम गुणस्तरको सामान प्रयोग भएका कारण यति छिट्टै उप्किएको बताए।
‘रंगशालामा पुगेर हामीले अनुगमन गर्यौँ, हेर्दा एकदमै कम गुणस्तरको सेन्थेटिक ट्रयाक प्रयोग भएको जस्तो देखिन्छ,’ उनले नागरिक न्युजसँग भने।
ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न भने बाँकी नै रहेको बताइएको छ। श्रेष्ठले भने, ‘हस्तान्तरण नहुँदै उप्किन थालेको सेन्थेटिक ट्रयाक अब कति वर्ष टिक्ला ?’
सेन्थेटिक ट्रयाक निर्माणका क्रममा राखेपले केन्द्रबाटै इन्जिनियर तथा कर्मचारी टोली खटाएको थियो। निर्माणको काम गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी रुपले काम गरेको लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारी बताउँछन्।
सेन्थेटिक ट्रयाक निर्माण कार्य अनुगमन गर्न खोज्दा पनि राखेपको केन्द्रीय निकायले नदिएको उनीहरुको आरोप छ। जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले राखेपको मनपरीका कारण अहिले सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको बताए।
‘सेन्थेटिक ट्रयाक निर्माणको काम गर्ने क्रममा कसैले अनुगमन गर्न पाएन, हामीलाई पनि अनुगमन गर्ने अधिकार छैन,’ उनले भने ‘मनपरी रुपमा बनाएको कामको परिणाम अहिले देखिहाल्यो।’
राखेप केन्द्रले नै सेन्थेटिक ट्रयाकको डिजाइन, स्टिमेट, ठेक्का स्वीकृत, अनुगमन लगायत सबै गरेकाले जबाफदेही पनि राखेप नै हुने उपाध्यक्ष भट्टराई बताउँछन्।
राष्ट्रिय खेलकुद परिषद्, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा हेरेको प्राविधिक टोली काठमाडौंमा रहेको र आफू यस विषयमा अनविज्ञ नै रहेको बताए।
‘यसको काम हेर्ने प्राविधिक काठमाडौंमा छन्, ठेकेदारले काम त गरेको हो, कहाँ निर के कुरा नमिलेर ट्रयाक उप्कियो, हामी पनि अनविज्ञ छौं,’ उनले भने।
ट्रयाक उप्किएको विषयमा आफूले राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको चन्दले सुनाए। उनले थपे, ‘माथिबाट विज्ञ टोली आएर छानबिन गरेपछि वास्तविक कुरा पत्ता लाग्ला।’
प्रकाशित: २ भाद्र २०८१ २०:२५ आइतबार