म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा रहेको मालिका कागज उद्योगले पाँच महिनापछि पुनः उत्पादन सुरु गरेको छ।
स्थानीय कच्चा पदार्थ र कामदारको अभाव तथा विद्युत् आपूर्तिको अनियमितताका कारण लामो समय बन्द रहेको उद्योगले बजारमा कागजको माग बढेसँगै शनिबारदेखि पुनः व्यावसायिक उत्पादन थालेको हो।
उद्योगका सञ्चालक मोतिराज गौतमका अनुसार नेपाली कागजको बजारमा माग उच्च रहे पनि कच्चा पदार्थ र कामदारको समस्याले उत्पादनमा समस्या आइरहेको छ। "कागजलाई बजारको समस्या छैन, तर कच्चा पदार्थ र कामदारको अभावले नियमित सञ्चालनमा कठिनाइ हुने गरेको छ," उनले भने।
उद्योगमा विभिन्न साइजका कागजको माग भइरहेको छ, जसमा सरकारी तथा गैरसरकारी कार्यालयहरूका लागि विशेष कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माणको लागि ६–७ ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागज लगायतका उत्पादनहरू मुख्य रूपमा छन्।
उद्योगका अनुसार कच्चा पदार्थ लोक्ताको अभाव, विद्युतको अनियमितता, उपकरण मर्मतसम्भार, र हिटरको रड जल्ने समस्याले गर्दा पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको हो।
स्थानीय तह र सम्बन्धित निकायको सहयोगमा उद्योगमैत्री वातावरण निर्माण गरिएमा र डिभिजन वन कार्यालयले कच्चा पदार्थ सङ्कलनका लागि सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने सम्भावना रहेको जनाइएको छ।
म्याग्दीको माथिल्लो पहाडी क्षेत्रमा रहेका सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता) का बोटहरू पाइन्छन्, तर निकाल्ने कामदारको अभावले ती वनजंगलमै खेर गइरहेका छन्।
विसं २०७५ मा स्थापना भएको यो उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौं, चितवन लगायतका सहरमा कागज बिक्री गर्दै आएको छ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका अन्य नेपाली कागज उद्योग भने हाल बन्द अवस्थामा छन्।
प्रकाशित: १ भाद्र २०८१ १५:३५ शनिबार