७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले कालीकोट-जुम्ला सडक दुई दिनदेखि अवरुद्ध: यात्रीलाई सास्ती

पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो।

कालीकोटको खाडाँचक्र–१० चौखोला नजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए।

‘अन्यत्र डोजरले फाल्न सकिने ठाउँको पहिरो हटाइसकिएको छ।,’ उनले भने, ‘चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था छ।’

पहिरोले सोमबार बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला  अधिकारी  गणेश नेपालीले बताए । उनले नेपाली सेनासँग समन्वय गरेर ढुंगा विस्फोट गरेपछि मात्र सडक खुल्ने जानकारी दिए।

कालीकोटको चौखोलामा ठूलठूला ढुंगासहितको पहिरो खसेपछि आफूहरू अहिले बाटोमै अलपत्र परेको  जुम्लाका कृष्णबहादुर शाहीले बताए । राजमार्गको पहिरो हटाउन जेसीवी पठाइए पनि ढुंगा ठूला भएकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

आज पनि सडक नखुल्दा सयौं यात्रीहरु अलपत्र परेका छन्। पहिरोले सडकको भाग पुरै ढाकेको छ। सडकमा गाडीका लाइन दुवै तर्फ रोकिएका छन्।

प्रकाशित: २९ श्रावण २०८१ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App