२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्लभ रेडपाण्डाको बासस्थान वरपर कुकुर प्रवेशमा रोक

कुकुरले मृत अवस्थामा ल्याएर छाडेको रेडपाण्डाको पोष्टमार्टमका लागि हिउँले ढाकेको पाथीभरा मन्दिर आसपास राखेर अध्यनको तयारी गर्दै जिल्ला वन कार्यालयका कर्मचारी। तस्बिरः नागरिक

ताप्लेजुङ – जिल्ला वन कार्यालय ताप्लेजुङले रेडपाण्डा जोगाउने हो भने रेडापाण्डाको घना बासस्थान रहेको क्षेत्रमा कुकुर पस्न नदिनु नै उत्तम विकल्प हुने औंल्याएको छ। ताप्लेजुङको पाथीभरा रेडपाण्डाको अनुकूल बासस्थान रहेको क्षेत्रको रुपमा परिचित छ।

गएको बिहीबार पाथीभरा क्षेत्रमा कुकुरले मृत अवस्थाको रेडपाण्डा मन्दिर आसापास पुर्याएपछि गरिएको अध्यनसगै जिल्ला वन कार्यालय यो निचोडमा पुगेको हो। ‘रेडपाण्डा कुकुरकै आक्रमणबाट मरेको हो भन्ने पुष्टी भयो’जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले भने। उनले रेडपाण्डा जोगाउन अब उसको बासस्थान आसपास कुकुरको उपस्थिति हुन नदिने प्रयासमा लाग्नुपर्ने जानकारी दिए।

पाथीभरा क्षेत्रमा उल्लेख्य मात्रामा रेडपाण्डा पाइने भएकोले अरु भन्दा यो क्षेत्रमा बढी मात्रामा कुकुरलाई जंगल पस्न नदिने योजना बनाउनु अनिवार्य रहेको जानकारी दिए। ‘धेरै मात्रामा कुकुरहरू पालिएको र गोठ रुघ्न राखिएको हामीले पायौं’वन अधिकृत घिमिरेले भने। उनका अनुसार बिहीबार मृत अवस्थामा भेटिएको रेडपाण्डाको मृत्युको मुख्य कारण नै कुकुरको आक्रमण थियो। घिमिरेले यसका लागि पाथीभरा क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी गोठपालाहरूसँग छलफल गर्ने योजना वन कार्यालयले बनाई रहेको समेत बताए।

करिव एकवर्ष उमेर भएको २ किलोग्राम वजनको मृत रेडपाण्डा कुकुरले मुखमा च्यापेर ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिर परिसर पुर्याएपछि मन्दिरमा खटिएका प्रहरी र तिर्थालुले कुकुरबाट मृत रेडापण्डा खोसेका थिए। शरिरका बिभिन्न ठाउँमा चोटपटक रहेको रेडपाण्डाको गहिरो टोकाईमा परेर मृत्यु भएको अध्यनले देखाएको छ। कुकुरकै टोकाईबाट रेडपाण्डा मरेको निचोड सहित जिल्ला वन कार्यालयको टोलीले मृत रेडपाण्डालाई पाथीभरा क्षेत्रमै खाल्डो खनि गाडेको थियो।

दुईवर्ष अघि ताप्लेजुङ सदरमुकाम फुङलिङको सुकेटार क्षेत्रमा कुकुरले जंगलबाट लखेट्दै रेडपाण्डा बस्तीमा ल्याएको थियो। बस्तीमा आइपुगेको रेडपाण्डालाई स्थानीयले कुकुरबाट छुटाएर प्रहरीको सूचना सहयोगमा रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका प्रतिनिधि समेतलाई खबरगरी जिल्ला वन कार्यालयलाई जिम्मा लगाएका थिए। नेटवर्क र मञ्चले रेडपाण्डा संरक्षणका कार्य गर्दै आएका छन्। पछि वन कार्यालयले रेडपाण्डालाई सुरक्षित तवरले जंगलमा छाडेको थियो।

विश्वमै दुर्लभ मानिएको रेड पाण्डा पूर्वी पहाडी जिल्लाहरू २ सय १८ देखि २ सय ५० वटा सम्म भएको तथ्यांक रहेको छ। मेची अञ्चलका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र ईलाममा पछिल्लो समय रेडपाण्डा बढेर यतिको संख्यामा पुगेको हिमाली संरक्षण मञ्च ताप्लेजुङका रमेश राईले बताए। मेचीका पहाडी जिल्लामा रेडपाण्डाको सबैभन्दा बढि बासस्थान ताप्लेजुङमा रहेको रेडपाण्डा नेटवर्ककी कार्यक्रम संयोजक पेमा लामाले जानकारी दिइन्। तीन जिल्लामा २ सय २४ वर्ग किलोमिटर क्षेत्रमा रेडपाण्डा पाइन्छ।

पछिल्लो समय दुर्गम क्षेत्रसम्म यातायात साधन पुग्न थालेपछि बासस्थानको खण्डिकरण, परम्परागत पशुपालन प्रणालीले बासस्थानको विनास, घरपालुवा कुकुरको आक्रमण, आहाराका रुपमा प्रयोग हुने मालिंगो र निगालोको जंगल मासिदै जानु, अवैध व्यापार, अन्य जनावरहरूका लागि थापिने पासो र वन जंगलमा लाग्ने डढेलोका कारण रेडपाण्डा मासिदै गएको यसको संरक्षणमा क्रियाशिल संस्थाको भनाई छ। सोझो तर लजालु स्वभावको रेडपाण्डालाई स्थानीय भाषामा हाब्रे भन्ने गरिएको  । विश्वमा नेपाल, भारत, भुटान, वर्मा र चीन लगायतका देशमा पनि रेडपाण्डा पाइन्छ।

प्रकाशित: १७ चैत्र २०७४ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App