मीना आचार्यको नाम हामी १४/१५ वर्षको हुँदादेखि सुनिएको हो। हक्की, कसैसँग नडराउने, रसियनसँग विवाह गरेर पनि नेपाली नागरिक नै भइराखेकी, नेपाल राष्ट्र बैंकको जागिर खाएर नेपाली महिलाहरूको खराब अवस्थाबारे अनुसन्धान गरेकी आदि। उनी प्रसिद्ध व्यक्तित्व थिइन्। उनी मेरा ठुला बुबाका छोरा इन्जिनियर स्व. विजय उप्रेतीकी साथी थिइन्।
बारम्बार विजय दाजुलाई भेट्न आइराख्थिन्। उनको पहिरन साडी नै हुन्थ्यो। उनले नेपाली समाज र महिलाको अवस्थालाई नेपालको विभिन्न गाउँमा पुगेर नजिकैबाट नियालेर गरेको अनुसन्धानले अधिकारकर्मीहरूलाई एउटा ठुलो हतियार दिएको थियो, नेपाली महिलाहरूको अवस्थालाई फेर्नका लागि के गर्न सकिन्छ भनेर आवाज उठाउन ऊर्जा दिएको थियो। उनको ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ पढेपछि मलाई लाग्यो।
यो नेपाली इतिहास र वर्तमान समाज बुझ्न चाहने सबैका लागि महत्त्वपूर्ण दस्ताबेज हो। किताबलाई विभिन्न विषयमा शीर्षक दिएर लेखिएको छ। मीनाका बुबा टंकप्रसाद आचार्यबारे राणाशासन र प्रजातन्त्र पढ्ने वा चाख राख्ने प्रायः नेपालीलाई थाहा छ। आफ्नी आमाले राणाशासनका बेला कसरी प्रजातन्त्र पक्षधरको युद्धमा पछाडिबाट काम वा सङ्घर्ष गरेकी थिइन् भन्ने कुरा प्रायःलाई थाहा छैन। लुकेको त्यो यथार्थ पुस्तकमा लेखिएको छ।
किताबमा उनले आफ्नो बचपनअवस्थादेखि आमाले गरेका संघर्ष, आमाका अर्ती र मार्गदर्शनले गर्दा उनलाई हक्की, कसैसँग नडराउने, अनुशासनमा रहने बनाएको रहेछ भनेर किताब पढेपछि थाहा हुन्छ। १० वर्ष जेल परेका टंकप्रसाद आचार्यले कुख्यात गोलघरको पिँजडामा २७ महिना बिताएका रहेछन्।
टंकप्रसाद जेलमा बस्दा मीनाकी आमाले उनका पत्रहरू लुकाएर जेलबाहिर ल्याई आन्दोलनकारीलाई दिने गर्थिन्। मीनाले लेखेकी छन्, ‘२००६ सालमा आमा, हजुरआमा र सानी हजुरआमालाई बुबाले जेलबाट पठाएको चिठी लिएर भारत जाने बाटो लाग्नुभयो। चिठीहरू सिपाहीले पिँडौलामा बाँध्नेजस्तै पट्टाले सानी हजुरआमाका तिघ्रा र पिँडौलामा बाँधेर गढी त कटाउनु भयो तर वीरगन्जमा राति सुत्न बसेको होटललाई सिआइडीले घेरेछन्। आमाले पत्ता पाएर चार बजे झिटीगुन्टा त्यहीं छोडेर चिठीपत्र र मलाई मात्र लिएर होटलपछाडिको टाटको प्वालबाट निस्केर रक्सौल पुग्नुभयो अनि झिटीगुन्टा लिन अरूलाई पठाउनुभयो।’ (पेज २२)
आमाले चिठीहरू लगेर तत्कालीन भारतीय प्रधानमन्त्री तथा नेताहरूसँग आफैं भेटेर दिएको कुरा पढेपछि मलाई लाग्यो, रेवती र उनीजस्तै महिलाले गरेका कामबारे प्रायः कतै लेखिँदैन। मिनाले एक असल सन्तान भएर त्यो दायित्व निर्वाह गरेकी छन्।
टंकप्रसाद जेल परेका बेला उनको परिवारले गरेको संघर्ष पुस्तक पढेपछि थाहा हुन्छ। ‘बुबालाई जेल चलान गरेसँगै म जन्मिएको घर, ओढ्ने–ओछ्याउने तथा भाँडाकुँडासहित त्यहाँको सम्पूर्ण जग्गा राणाहरूले लिलाम गरिदिए।’ (पेज ३१) त्यसपछि बनारस पुगेको उनको परिवारले सायद केही सन्तोषको सास फेर्यो। मीनाले बनारसमा दुई वर्ष पढ्न पाइन्। अनि आफ्नो घर सिर्सिया नै पुगिन्। उनको किताबले त्यो बेलाको सामाजिक, आर्थिक अवस्था चिन्न पनि सजिलो बनाएको छ।
‘तितरी’ नामक एक हलीकी छोरी सानी बालिकासँगको प्रगाढ मित्रता थियो उनको। तितरीले बचपनदेखि भोग्नुपरेका पीडाबारे पनि पुस्तकमा लेखिएको छ। झन्डै ३० वर्षअघि अस्मिता पत्रिकामा यो लेख छापिएको छ।
सोभियत संघ पढ्न जाँदा पनि उनले घरमा कसैलाई नभनेर अन्तर्वार्ता दिन गएको कुरा लेखेकी छन्। बल्लतल्ल पढ्न जाने अनुमति पाइन्। सोभियत संघमा जाँदा, पढ्दाको भाषा नजानेर भोग्नुपरेको स्थितिहरूको रमाइलो तरिकाले वर्णन भएको छ। त्यहीं बस्दाबस्दै एक रसियन युवकसँग उनको प्र्रेम भयो अनि विवाह गर्न खोज्दाका अड्चनहरू पढ्दा पाठकको ध्यान आकर्षित गर्छ।
मीनाले पढाइ सिद्धिएपछि आफू रसिया नबस्ने भनेकी थिइन्। उनका हुनेवाला श्रीमान्ले आफू पनि नेपालमा नै जाने र थर पनि आचार्य नै लेख्ने निर्णय सुनाएका थिए रे। तर विवाह गरेर नेपाल आएपछि बिस्तारै बिस्तारै परिस्थितिले गर्दा उनका श्रीमान् नेपाल बस्न नसकेर फर्किए।
उनी लेख्छिन्, ‘मेरा श्रीमान् नेपाल स्थायी बसोबास गर्ने भन्ने कुराले हाम्रो सम्बन्धमा दरार पर्दै गयो र अन्त्यमा पारपाचुकेको निर्णयमा पुग्यौं। लैंगिक मुद्दाका कुरामा म धेरै अघि बढ्दै गएँ तर मिस्टर अर्थात् मिनाका श्रीमान्लाई गाह्रो पर्यो।’ (पृ. १०३)
सायद दुवैजना अल्लारे थिए। जीवन सधैं ‘प्रेम’को नाममा चल्दैन। पहिले जुन कुराले आकर्षित भएर प्रेम गरिन्छ, पछि त्यही बानी मन नपर्ने हुन्छ। यो स्थिति यस्ता धेरै व्यक्तिहरूको हुन्छ जसले एकछिनको आकर्षणलाई ‘जन्मजन्मान्तर शाश्वत प्रेम’ भन्ने ठान्छन्। विवाह गरेको दश वर्षपछि दुवै जनाले हाम्रो वैवाहिक सम्बन्धलाई मैत्रीपूर्ण तरिकाले पूर्णविराम लगायौं भनेकी छन्।
प्रेम गर्न सजिलो हुन्छ तर जब नवजीवनको यात्रामा अड्चन आउँछ, तब प्रेम कम हुँदै गएर सम्बन्धमा दरार आउनु स्वाभाविक नै हो। यसरी पारपाचुके हुँदा मिनालाई पक्कै सजिलो भएन होला तर उनले लेखनमा धेरै दुःख पोखेकी छैनन्।
यो किताबमा उनले कसरी राष्ट्रिय बैंकमा काम गर्दा महिलाहरूका लागि अध्ययन–अनुसन्धान गरेर ती अनुसन्धानबाट आएको जानकारीलाई सरकारको नीति तर्जुमा गर्न कसरी मद्दत पुग्यो भन्ने कुरा विस्तृत रूपमा लेखेकी छन्।
नेपाली महिलाहरूका लागि गरेको अनुसन्धानले मिनालाई पनि समाजमा प्रतिष्ठा दिलायो। आफ्नो कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा काम सिद्धिएपछि एक्लै युरोपका अनेक ठाउँ भ्रमण गरेको कुरा रमाइलोसँग लेखेकी छन्, ‘मैले एक्लै यति लामो ठाउँमा रोकिएर यात्रा गर्नु नै त्यस समयको नेपालमा कतिपयले दुस्साहस नै सम्झिएका होलान्।’ (पृ. १३३)
थाइल्यान्ड, ग्रिस, जापान, बेलायत, स्पेन आदि ठाउँमा भ्रमण गर्दाको अनुभव रमाइलो लाग्छ भन्ने भनाइले उनको जिज्ञासु बानीको झलक देखाउँछ। उनले ४६ सालपछि योग्यता पुग्दापुग्दै पनि ‘ड्युटी गभर्नर’को पद नदिएर अरूलाई नै दिएकाले काम छोडेको कुरा सुन्दा हाम्रा नेताहरूको बुद्धि पहिले पनि थिएन रहेछ भन्ने भान भयो।
उनले विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिन् तर त्यहाँको कामको सिलसिलामा पनि नेपालमा आएर उनले अध्ययन नै गरिरहिन्। त्यही अध्ययनले नेपाली महिला जगत्मा उनले अध्ययन गर्दा बुझिन् कि केवल आर्थिक रूपमा सबल भएर मात्रै पुग्दैन रहेछ।
‘अधिकार’ भन्नेबित्तिकै हामी सम्पत्तिमाथिको अधिकारबारे सोच्थ्यौं तर महिला अधिकारको भोगाइमा यौनिकताको सामाजिक नियन्त्रणले नराम्रोसँग गाँजेको छ, त्यो महत्त्वपूर्ण रहेछ। जनजातिमा भन्दा बाहुन, क्षत्री, हिन्दु आदि संस्कृतिका परिवारमा यौनिकतालाई लिएर महिला अधिकार बढी कुण्ठित हुनुपरेको छ। (पृ. १८३)
उनले राजनीतिमा लाग्ने इच्छा राखेर प्रजा–परिषद्लाई बिउँझाई काम गर्ने कोसिस गरेको तर राजनीतिमा लाग्न जालझेल, बदमासी गर्न नसक्ने हुदाँ त्यो मार्ग त्यागेर ‘टंकप्रसाद आचार्य प्रतिष्ठान’ बाट सामाजिक कार्यमा लागेको कुरा लेखेकी छन्।
यो पढ्दा मन दिक्क हुन्छ तर देशको राजनीति नै यस्तै रहेछ भनेर मन बुझाउनेबाहेक केही गर्न सकिनँ। किताबको अन्त्यमा उनले महिलाहरूले अनेक तरिकाको रणनीति अपनाउनुपर्ने र अनेक सम्झौताहरू पनि गर्नुपर्ने कुरालाई औंल्याएकी छन्। उनकी आमाको अनुभव र अनेक अनुसन्धानबाट निस्केको निचोड होला यो ।
प्रकाशित: १९ श्रावण २०८१ ०६:०१ शनिबार