२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

साउने झरीमा खानेपानी भर्न चार दिन !

असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो। त्यसैले यी महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ। यहीँ साउने झरी परिरहेका बेला बैतडीमा भने खानेपानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ।

त्यहाँका स्थानीय नागरिकले एक जर्किन पानी भर्न पनि चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको भोजराज भट्टले बताए। 

‘पालो कुरेर बसे पनि पानी भर्न पाउने नपाउने टुङ्गो नै हुँदैन, पालो पुगेन भने खोलातिर झर्नुपर्छ’, स्थानीय भट्टले भने।

मेलौली नगरपालिकाको काँडा बजारमा बाह्रमासै खानेपानीको समस्या हुने गरेको छ। बर्खामा समेत खानेपानीको जोहो गर्न निकै मुस्किल हुने गरेको उनले दुखेसो पोखे।

नगरको सदरमुकाम समेत रहेको यस काँडा बजारमा खानेपानी नहुँदा यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन्।

बर्खाको बेला झरी परे पनि खानेपानीको हाहाकार भने उस्तै छ। मेलौलीमा सरकारका मन्त्री, सांसदहरु पुग्दा स्थानीयहरूले खानेपानीकै समस्या राख्ने गरेका छन्, तर यसबारेमा अहिलेसम्म कुनै पनि पहल भएको छैन। 

प्रकाशित: ३ श्रावण २०८१ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App