४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्: भगवानको नाम लिँदै नदीबाट सडकमा उक्लियौँ

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको छ। तर अहिलेसम्म बस खसेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन।  

गरुडा नगरपालिका वडा नं.९ का जुगेस्वर राय यादव उपचार गरेर काठमाण्डौँबाट घर तर्फ फर्किएका थिए। गाडीमा भएका यादव एक्कासि त्रिशूली नदीमा पुगे। गाडी भित्र रहेका यादवलाई पानीले गाडीबाहिर फालिदियो।

पौडिन अलिअलि जानेका यादव पौडिएर खोला बाहिर निस्कन लागे। नदी छेउमा रहेको ढुङ्गाको सहाराले नदीको किनारासम्म आइपुगे। यादव भन्छन्, 'माथिबाट पहिरो खस्यो। एक्कासि त्रिशूलीमा पुगेछु। बसमा पानी भोरिँदै गयो । पानीले गाडिबाट बाहिर फाल्यो। पौडिन अलिअलि जानेको थिए। बिस्तारै बाहिर निस्किन पुगेछु। त्यहाँ ढुङ्गा थियो। त्यो समातेर किनार लागे।'

पौडिएर नदीको किनारामा निस्केका यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगे। यादव आफू पौडिएर बाँचे पनि आफ्ना परिवारका अन्य सदस्यहरू अझै बेपत्ता रहेको बताउँछन्।

यादव भन्छन्, 'नदिको किनारामा आएपछि झार समातेर भगवान्को नाम लिँदै माथि चढ्दै चढ्दै आएँ। म त बाँचे मेरो । परिवार अझै खोलामा छन्।'

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, यादवका १० वर्षीय छोरा, ७ वर्षीय नातिनी, २ वर्षीय नाति र ३५ वर्षीया   छोरी सोही दुर्घटनामा परी बेपत्ता भएका छन्।

देवाहीगोनाही नगरपालिका १ का नन्दन दास विदेश जानका लागि काठमाडौँ आएका थिए। विदेश जानका लागि मेडिकल गर्न काठमाडौं आएका दास घर फर्कँदा भने दुर्घटनामा परे।

सुरुमा गाडी गुड्दै तल झरेको दास बताउँछन्। त्यसपछि ढुङ्गा खस्ने क्रम पनि सँगसँगै भयो।  गाडीसँगै नदीमा पुगेका दास पौडी खेल्न थाले। पौडी खेल्दा उनको नजिक एउटा ढुङ्गा आयो, सोही डुङ्गालाई समाएर दास नदी किनारामा आए।  

दास भन्छन्, 'सुरुमा त गाडी गुड्दै तल झर्‍यो । माथिबाट ढुङ्गा खस्ने क्रम पनि सँगसँगै थियो। तल पुगेर गाडीमा पानी भरिएपछि पौडिएर बाहिर निस्कियौँ। ढुङ्गा आयो त्यो समातेर बाहिर निस्किए।'

उनी नदिको किनारामा निस्किदा अन्य दुई जना पनि बसिरहेको देखे। ती दुई जना पनि आत्तिएका थिए। पछि उनीहरु सँगसँगै माथि सडकमा निस्किए।

उनी भन्छन्, 'ढुङ्गा समातेर नदी किनारमा निस्किए। त्यो समातेर बाहिर निस्कँदा अरु दुई जनालाई पनि किनारमा देखेँ। उहाँहरुपनि हतिनुभएको थियो। हामी बिस्तारै माथि निस्कियौँ। पानी ठुलो परेको थियो।'

विदेश जान हिँडेका दासको नागरिकतासहित सबै कागजपत्र नदिमा बगेको छ। 

बिहान करिब तीन बजे तिर एक्कासि मान्छेहरु आफ्नो गाडीमा बस्न आएको प्रत्यक्षदर्शी बताउँछन्।

प्रत्यक्षदर्शी भन्छन्, 'तीन बजे तिरको कुरा हो। गाडी जाम लाग्यो। पहिरोले गाडी पार गर्ने सक्ने अवस्था थिएन। रुख निर दुई जना रोइराखेका थिए। मेरो मान्छे पाँच जना मरेको छ भन्दै थिए। पहिरो निर जाँदा अर्को एक जना पनि रुद्धै थिए। उसले लुगा लगाउँदै थियो। उनी पनि मेरो परिवारका चार जना खोलामा छन् भन्दै थिए। अनि उनीहरु दुई जना मेरो गाडीमा आए। उनीहरुले मेरो मान्छे म¥यो गाडीमा बस्न दिनु भने।'

उनीहरुलाई गाडीमा राखेर ती प्रत्यक्षदर्शी फेरि पहिरो नीर गए। त्यहाँ उनीले अर्को व्यक्ति पनि रोइरहेको देखे। तर उनले गाडी भने देखेनन्। त्यसपछि भने उनले प्रहरीलाई खबर गरे।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालकाअनुसार काठमाडौँबाट गौर जाँदै गरेको बसमा ४० जना र वीर गन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रुहरू थिए। अहिले उनीहरूको खोजी कार्य जारी छ

प्रकाशित: २८ असार २०८१ १५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App