१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बन्द भएका ट्रायल सेन्टर आजदेखि खुल्दै

फाइल तस्बिर

करिब एक महिनादेखि बन्द उपत्यकाका चारवटा ट्रायल सेन्टर आजदेखि खुला हुने भएका छन्। हेभी गाडीको प्रयोगात्मक परीक्षा लिँदै आएको भक्तपुरको बुढाथोकी ट्रायल सेन्टर भने अझै खुला गरिएको छैन।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार चारवटा ट्रायल सेन्टरलाई छट्टाछुट्टै चिठी लेखर आजदेखि खुला गर्न निर्देशन दिएको छ। जस अनुसार आजदेखि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनाले प्रयोगात्मक परिक्षा (ट्रायल परीक्षा) लिनका लागि राजस्व बुझ्न सुरु गर्न भएका छन्। मिनिबस, मिनिट्रक, लहरी, बस, ट्रकको ट्रायल लिँदै आएको बुढाथोकी ड्राइभिङ सेन्टरको विषयमा भने मन्त्रालयले केही बोलेको छैन। उक्त ट्रायल सेन्टरमा हेभी गाडीको प्रयोगात्मक परीक्षा लिन प्राविधिक समस्या भएको सतर्कता केन्द्रले जनाएको छ।

मन्त्रालयका सचिव बलराम निरौलाले ट्रायल परीक्षा खुला गर्न उपत्यकाका चारवटा ट्रायल सेन्टरलाई मन्त्रालयले बिहीबार चिठी लेखेको बताउँदै भने, ‘शुक्रबारदेखि नै उपत्यकाका चारवटा ट्रायल सेन्टर खुला हुनेछन्। हेभी गाडीको ट्रायल अझै खुला गरिएको छैन।’ उनका अनुसार खुला गरिएका ट्रायल सेन्टरले शुक्रबारदेखि नै प्रयोगात्मक परीक्षाका लागि प्रक्रिया अघि बढाउनेछन्। ‘आजदेखि नै राजस्व बुझ्न सुरु गर्नेछन् र रोलक्रम अनुसार प्रयोगात्मक परीक्षा लिने भएका छन्,’ उनले भने।

बन्द भएका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संरचना तयार गरेका छन् कि छैनन् भनी मन्त्रालय र केन्द्रले छुट्टाछुट्टै टोली बनाएर निरीक्षण गरेका थिए। निरीक्षणपछि मन्त्रालय र केन्द्रबाट तोकिएको मापदण्डअनुसार चारवटा सेन्टरहरूले भौतिक संचरना पूरा गरेको रिपोर्ट तयार गरिएको छ।

यसअघि सतर्कताले गत चैतमा एउटा टोली बनाई उपत्यकाका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संचरना तयार गरेको/नगरेको विषयमा विस्तृत अध्ययन तथा निरीक्षण गरेको थियो। निरीक्षणपछि तयार गरिएको रिपोर्टमा ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको थियो। रिपोर्टमा ट्रायल सेन्टरहरूले निर्देशिकाविपरीत प्रयोगात्मक परीक्षा लिएको केन्द्रले तयार गरेको उल्लेख गरिएको छ। ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको प्रतिवेदनमा जनाएको छ।

तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न सतर्कताले निर्देशन दिएको थियो। केन्द्रको यस्तो निर्देशनपछि उपत्यकाका पाँचवटा ट्रायल सेन्टर करिब एक महिना बन्द भएका थिए। यसबाट कम्तीमा २० हजार सेवाग्राही मर्कामा परेका छन्। ट्रायल सेन्टर बन्द भएपछि तोकिएको मापदण्डअनुसार भौतिक पूर्वाधार तयार गरेको या नगरेको विषयमा यातायात मन्त्रालयले मेकानिकल इन्जिनियर रामसुन्दर कुसीको संयोजकत्वमा एउटा प्राविधिक टोली गठन गरेको थियो। उक्त टोलीले गत हप्ता मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।

ट्रायल सेन्टर बन्द भएपछि केन्द्रले दोस्रो पटक बन्द भएका चारवटा ट्रायल सेन्टरमा प्राविधिक टोली पठाएको थियो। दोस्रो पटक पठाइएको टोलीले तोकिएको मापदण्डअनुसार चारवटा ट्रायल सेन्टरले भौतिक संरचना तयार गरेको जनाएको छ। बुढाथोकी ट्रायल सेन्टरमा भने दोस्रो पटक प्राविधिक टोली पठाइएको छैन। गत जेठ ३ गतेदेखि उपत्यकाका पाँच सेन्टरले प्रयोगात्मक परीक्षा लिन बन्द गरेका थिए।

आफ्नै सवारीबाट ट्रायल दिन नपाइने  

सतर्कताले ट्रायल परीक्षा दिँदा सवारी चालकले आफ्नै सवारी प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन प्रदेश यातायात मन्त्रालयलाई चिठी लेखेर निर्देशन दिएको छ। तर प्रदेश यातायात मन्त्रालयले आफ्नै सवारीसाधनबाट ट्रायल परीक्षा दिन व्यावहारिक रूपमा सम्भव नभएको जवाफ केन्द्रलाई फर्काएको छ।

आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिने हो भने पार्किङमा समस्या आउने, सबै सवारी साधनको प्राविधिक परीक्षण गर्न कठिन हुने, सबै सवारीसाधनको स्पेसिफिकेसनमा मेल नखाने, आफ्नै सवारीसाधन प्रयोग गर्ने हो भने बिचौलिया अझै सक्रिय भई शुल्क महँगो हुने निष्कर्ष मन्त्रालयले निकालेको हने। ट्रायल सेन्टर प्रदेश यातायात मन्त्रालयमातहत रहने कानुनमा व्यवस्था छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App