१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

बंगलादेशी सांसद हत्या आरोपी नेपालबाटै अमेरिका!

<br>

सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी मूलका अमेरिकी नागरिक नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका पुगेका छन्। नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार सांसद अनवरुलका व्यापारिक साझेदारसमेत रहेका मोहम्मद अख्तरज्जमान नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका पुगेका हुन्।

सांसद अनारको हत्या कहिले भयो भन्ने यकिन नभए पनि कोलकाता प्रहरीले मे २२ मा उनको शव फेला पारेको थियो। भारतीय सुरक्षा अधिकारीहरूले अनारको हत्या मे २२ अघि नै भएको अनुमान गरेका छन्। उनी मे २१ मा नेपालबाट दुबई गएको र त्यहाँबाट अमेरिका पुगिसकेको दाबी प्रहरी उच्च स्रोतले गरेको छ।

५६ वर्षीय सांसद अनारको हत्यापछि अख्तरज्जमान फरार भएको बताइएको छ। अनार उपचारका लागि २०२४ मे १२ मा कोलकाता पुगेका थिए। त्यसको भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसयता अर्थात् मे १३ देखि उनी सम्पर्कविहीन भएका थिए। यस विषयमा भारतीय प्रहरीले हनी ट्र्यापको कोणबाट पनि अनुसन्धान गरिरहेको बताइएको थियो।

अध्यागमन विभागले भने अख्तरज्जमान नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका गए÷नगएको बारेमा अनभिज्ञता जनाएको छ। अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालले मोहम्मद अख्तरज्जमान अमेरिका गएको सूचना नपाएको बताए।

उनले कोही व्यक्तिको राहदानी कालोसूचीमा नभएसम्म उसलाई रोक्न पनि नसकिने बताउँदै यसबारे अध्यागमन विभागलाई केही जानकारी नभएको स्पष्ट पारे। ‘हामीले हेर्ने भनेको पासपोर्ट हो। पासपोर्ट कालोसूचीमा भएकालाई मात्र रोक्न सकिन्छ,’ दाहालले भने, ‘मोहम्मद अख्तरज्जान बारेमा मलाई कुनै जानकारी छैन।’

बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

गत वर्ष अनार र अख्तरज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्।

बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको छ।

हत्यामा संलग्नताको आशंका गरिएका ३१ वर्षीय बंगलादेशी मोहम्मद सियाम हुसेनलाई भने नेपाल प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी स्रोतका अनुसार उनी बंगलादेशको भोलाका स्थायी बासिन्दा हुन्। उनलाई लिन बंगालदेशको प्रहरी नेपाल आए पनि नेपाल प्रहरीले भारतबाट आएका कारण भारतमै डिपोर्ट गर्ने जनाएको छ।

बंगलादेश प्रहरीको इन्टेलिजेन्स विभागका प्रमुख डिआइजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएको थियो। बंगलादेशका सांसद अनारको हत्या आरोपित हुसेनलाई बिहीबार पक्राउ गरिएको थियो। उनलाई अध्यागमन विभागमा हाजिर गराएर नेपाल प्रहरीले हिरासतमा राखेको छ।

उनलाई नेपाल प्रहरीले विमानस्थलबाट पक्राउ गरेको भनिए पनि स्थानबारे अझै केही खुलाएको छैन। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही नबोले पनि स्रोतले भने बंगलादेशका सांसदको हत्या आरोपित बंगलादेशी नागरिक नेपालको सीमा क्षेत्रबाट पक्राउ परेको दाबी गरेको छ। हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाहरूले जनाएका छन्।

तर हत्यामा संलग्न भनिएका हुसेनसहित अन्य चारजना फरार रहेको जनाइएको छ। त्यसमध्ये हुसेन नेपालमा पक्राउ परेको प्रहरी स्रोतको दाबी छ। बंगलादेशका सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेको र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो।

हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले सांसद अनारको शव टुक्राटुक्रा पारेर फालेको बयान भारतीय प्रहरीलाई दिएका थिए। समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता गएका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए।

यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। उनलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। यसपछि सिरानीको सहाराले हत्या गरिएको हवलदारले बयानमा बताएका थिए।

अनारको शवलाई चक्कु र ब्लेडको सहायताले टुक्राटुक्रा पारेको बयान पनि हवलदारले दिएका थिए। हत्याराले शवका टुक्राहरूलाई प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर लगेको सिआइडीले जनाएको छ।

पक्राउ परेका हवलदारले नै मोहम्मद अख्तरज्जमानकै निर्देशनमा हत्या गरेको बयान दिएका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गरेको र साझेदारीमा दरार आएपछि हत्या गर्न सुपारी दिएको बताएका थिए।

प्रकाशित: २३ जेष्ठ २०८१ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App