५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गृहमन्त्रीद्वारा खण्डन

मिति :वैशाख १७, २०८१

श्री प्रधानसम्पादक,

नागरिक दैनिक, काठमाडौं ।

वैशाख १३, २०८१ (बिहीबार) को त्यस नागरिक दैनिकको पहिलो पृष्ठमा प्रकाशित ‘फेसबुकमा गृहमन्त्रीको आलोचना : प्रहरी केरकारबीच आत्महत्याको प्रयास !’ शीर्षकको मुख्य समाचारप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो समाचार कपोलकल्पित, भ्रामक र अतिरञ्जित मात्र होइन, दुराशयका आधारमा व्यक्तिगत प्रतिष्ठा र सार्वजनिक छवि धुमिल्याउने मनसायका आधारमा प्रकाशित गरिएको निष्कर्षका आधारमा माननीय मन्त्रीज्यूको सचिवालयका तर्फबाट निम्नानुसार बुँदामा खण्डन गरिएको छ।

१. समाचारमा ‘जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री रवि लामिछानेविरुद्ध किन फेसबुकमा ‘कमेन्ट’ गरेको भन्दै मानसिक दबाब दिएपछि उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्युरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको’ दाबी गरिएको छ। तर निज ठकुरीलाई ब्युरोले अनुसन्धानका लागि बोलाउनुसँग कहीँकतै पनि गृहमन्त्री जोडिनुभएको छैन।

२. निज ठकुरीका भाइ बताइएका मानबहादुरको एकपक्षीय भनाइमा आधारित समाचारमा ‘यो घटना सार्वजनिक भएपछि गृहमन्त्री र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको’ कपोलकल्पित, भ्रामक र अतिरञ्जित लाञ्छनासमेत लगाइएको छ तर त्यसको पुष्टि हुने आधार खुलाइएको छैन।

३.साइबर ब्युरो गएका ठकुरीको भनाइसमेत समावेश नगरी उनका भाइले बताएअनुसार भन्दै ‘रे’का आधारमा बुनिएको काल्पनिक कथामा दाबी गरिएको घटनाबारे समाचार प्रवाह गर्नुअघि सम्बन्धित सञ्चारमाध्यमले गृहमन्त्रीज्यू र उहाँको सचिवालयलाई मात्र होइन, प्रहरीलाई समेत एक वचन बुझ्ने–सोध्ने प्रयास गरेको छैन। गृहमन्त्री, उहाँको सचिवालय र प्रहरीको समेत भनाइ समावेश नगरिनुले एकपक्षीय प्रहारको नियतमा समाचार प्रवाह गरिएको स्पष्ट हुन्छ।

४. नागरिक दैनिकले गृहमन्त्रीज्यूविरुद्ध नियोजित प्रहारको मनशायमा प्रकाशन गरेको समाचारप्रति प्रहरीकै साइबर ब्युरोले खण्डन गरिसकेको छ। ब्युरोको विज्ञप्तिमा ऋषिराज झा नामको फेसबुकबाट अश्लील सामग्री पोस्ट गरी हैरानी दिएको सम्बन्धमा परेको उजुरीउपर अनुसन्धानका क्रममा वैशाख १२ गते बिहान १० बजे कार्यालयमा उपस्थित हुँदा नै दुई स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्ष पठाइएकोमा अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्‍याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसकुबबाट पोस्ट गरी प्रचार भएको भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको व्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिएको छ,’ भनिएको छ। प्रहरीको विज्ञप्ति स्वयंमा समाचारको खण्डन हो।

५. ठकुरीको भिडियो र त्यसकै आधारमा एकपक्षीय रूपमा प्रकाशन गरिएको समाचारले गृहमन्त्रीज्यूको सामाजिक प्रतिष्ठामा गरेको प्रहार र सर्वसाधारणमा परेको भ्रमको पुरताल त हुन सक्दैन तर पत्रकारिताको सामान्य सिद्धान्त पनि ख्याल नगरी गलत मनसायका साथ समाचार प्रवाह गर्ने त्यस सञ्चारमाध्यमले गल्ती स्वीकार गरी यो खण्डन हुबहु प्रकाशनका लागि आग्रह गर्दछौं । अन्यथा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी गराउँछौं ।

बोधार्थः

नेपाल प्रेस काउन्सिल, सञ्चारग्राम (काठमाडौं)

माननीय मन्त्रीज्यूको सचिवालयका तर्फबाट

प्रदीप आचार्य

स्वकीय सचिव

प्रकाशित: २२ जेष्ठ २०८१ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App