१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साकेला उभौलीमा रम्दै पूर्वको किराती समुदाय

प्रतियोगितामा शिली प्रस्तुत गर्दे कलाकारहरु । तस्विरः महेश्वर

१० दिनयता उदयपुर लगायत पूर्वका किराती समुदाय साकेला उभौलीमा रम्दैछन् ।किराती समुदायको ठूलो र महत्वपूर्ण चाड ‘साकेला उभौली २०८१ (धिरीनाम ५०८४)’ पूर्वीभेगका १४ वटै जिल्लामा भव्य रुपमा मनाउने क्रम चलिरहेको छ।

राई, लिम्बु, याक्खा, सुनुवार, आठपहरिया आदि किराती मूलका समुदायहरुले साकेला उभौली, साकेवा, साकेन्वा, तोसतोसी, चासोक तङ्नाम, याक्वा तङ्नाम जस्ता फरकफरक नामले पनि मनाउने गरेका छन् । विगत ६–७ वर्षयता उभौली तथा उधौलीलाई प्रदेशको नाम पहिचानको आधारमा किरात–लिम्बुवान राख्नुपर्ने माग गर्दै मनाउँदै आएकोमा गतवर्षदेखि भने प्रदेशको पुनःनामाकरण गर्नुपर्ने  माग गर्दै आन्दोलनकै रुपमा मनाउन थालेका छन्।

उभौली चाड विगतमा झैँ किरात राई यायोक्खाको अगुवाईमा विभिन्न किरातीजन्य संघसंस्थाहरुको आयोजनामा मनाइदैछ । यसवर्ष पनि प्रदेशको नाम पहिचानको आधारमा पुनःनामाकरण गर्न माग गर्दै आन्दोलनकै निरन्तरताको रुपमा मनाईरहेको यायोक्खा उदयपुृरकी अध्यक्ष गङ्गा राईले बताईन् । उनका अनुसार उभौलीलाई चाडको रुपमा मात्र नमनाई यसको माध्यमबाट पहिचानको आधारमा प्रदेशको पुनःनामाकरण गर्न जनस्तरबाट दबाब दिने उदेश्यले पनि मनाइदै छ । ०७९ फागुन १७ गते १ नं. प्रदेशलाई पहिचानविरोधी ‘कोशी’ नामाकरण गरेको बिरोधमा सभ्य र भव्यरुपमा भद्र अवज्ञा आन्दोलनको रुपमा देशव्यापीरुपमा उभौलीलाई मनाउने यायोक्खाको निर्देशन अनुसार उदयपुरमा पनि मनाईरहेको अध्यक्ष राईले बताईन्।

प्रदेशको नाम राख्दा पहिचानबिरोधी राखेको विरुद्धमा राईहरुको छाता संस्था यायोक्खा र लिम्बु समुायको किरात याक्थुम चुम्चुङलगायत दर्जन बढी संघसंस्थाले प्रदेशको पुनःनामाकरणको माग गर्दै आन्दोलन गरिरहेका छन् । प्रदेशभर चलिरहेको आन्दोलन गत वैशाख १५ गते इलाममा भएको उपनिर्वाचनले जित नदिए पनि पहिचानी आन्दोलनमा सुखद परिणाम दिएको ठहर गर्दै आन्दोलन जारी राखिएको अध्यक्ष राईको भनाई छ ।  

‘प्रदेश पुनःनामाकरण संघर्ष समिति’की अध्यक्षसमेत रहेकी अध्यक्ष राईले पहिचानी आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ)को निधन भईसकेकाले पनि उभौली चाडलाई आन्दोलनकै रुपमा मनाउँनु परेको बताउँछिन् । यायोक्खा र संघर्ष समितिकै निर्देशन र भावना अनुरुप प्रदेशका १४ जिल्ला माात्र नभई सङघीय राजधानी काठमाडौंलगायत देशभर उभौली मनाउदा प्रदेशको पुनःनामाकरणको मागलाई उजागर गर्ने काम भईरहेको यायोक्खाका केन्द्रीय सदस्य बिमल किराती बताउँछन्।उनका अनुसार संघर्ष समितिले उभौलीलाई विशुद्धा चाड मात्र नबनाएर आन्दोलन र पहिचानको अभियानसँग जोडेर अघि बढाइएको छ।

अर्का केन्द्रीय सदस्य दिपक किरातीका अनुसार प्रदेशको नाम पहिचानबिरोधी राखिएको कुरालाई सख्त वहिस्कार गर्दै उभौली मनाउन यायोक्खाले देशव्यापी सर्कुलर गरेको छ।अभियानलाई थप बलियो बनाउँदै तार्किक निश्कर्षमा पु¥याउन उभौलीलाई सदभाव आदानप्रदानसँगै आन्दोलनको स्वरुप मानेर मनाउने यायोक्खाको योजना रहेको किराती बताउँछन् ।उनले सांस्कृतिक गतिबिधि र मुन्दुमी अभियान अन्तर्गत पहिचानको मुद्धालाई घनिभूत बनाउँदै आन्दोलनलाई पणिाममुखी बनाउन उभौलीले सहयोग पुग्ने अपेक्षा यायोक्खाको रहेको बताए।

यायोक्खा नगर प्रारम्भिक कमिटी गाईघाटका सचिव सर्वधन राईका अनुसार १० गतेदेखि सुरु उभौली मनाउने क्रम हरेक एकदिन बिराएर चलिरहेको छ । जस अनुसार त्रियुगा नगरपालिका ११ साकेला टोलबाट सुरु भएको उभौली अहिलेसम्म वडा नं. १ को जोगीदह, ३ को चाप र मोतिगडा, १६ को चिलाउने र शनिबशार १० नं. वडा बोक्सेमा समपन्न भईसकेको छ।

अव २१ गते त्रियुगा ७ को जलजले, १० को बाबरी, ५ को देउरी बालुवाटार, ४ को बगाहा, ७ को चुहाडे, १५ को डहर, ५ को श्रीपुर र ११, १२ र १३ नं. वडाको संयुृक्तरुपमा गाईघाट मनाइने छ। असार ७ गतेसम्म नगरपालिकाका सबै वडामा शिली नाचसहितको कार्यक्रम सम्पन्न गरिसकेपछि ८ गते सदरमुकाम गाईघाटमा नगद राशी र सिल्डसहितको गीता राई स्मृति साकेला शिली प्रतियोगिता सञ्चालन गर्दै पहिलो चरणको कार्यक्रम सम्पन्न गर्ने तालिका रहेको सचिव राईले बताए।

सदरमुकाम त्रियुगासँगै अन्य स्थानीयतहहरुमा पनि सोही तरिकाले उभौली मनाउने कार्यक्रम चलिरहेको यायोक्खाले जनाएको छ । लिमचुङबुङ, ताप्ली, उदयपुरगढी, रौतामाई गाउँपालिका तथा कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाका पनि प्रत्येक वडा र टोलटोलमा भेला भएर दैनिक उभौली मनाउने क्रममा शिली नाच्ने तथा शुभकामना आदानप्रदान कार्यक्रम भईरहेको छ ।  

खोटाङको साकेलामा माचस्का प्रथम

यसैबीच खोटाङको साकेला गाउँपालिकामा आयोजित शुक्रबार सम्पन्न प्रतियोगितात्मक साकेला शिली नृत्य प्रतियोगितामा माचस्का प्रथम भएको छ। किरात राई यायोक्खा र किरात राई चामलिङ खाम्मातिम वडा समिति साकेला २ रतन्छाल आयोजना गरेको प्रतियोगितामा युवा जनसाँस्कृतिक परिवार माचास्का प्रथम भएको हो।

‘हाम्रो सँस्कृति हाम्रो पहिचान, सँस्कृति संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा विजयी टिमलाई १५ हजार मूल्यको ढोल झ्याम्टा पुरस्कार प्रदान गरिएको छ । विभिन्न ५ वटा समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पारुहँ युवा सेवा समाज दोस्रो हुँदै १२ हजार मूल्यको ढोल झ्याम्टा पायो भने तेस्रो हुने किरात भुसुरी यायोक्खा बुतेपालाई ९ हजार मूल्यको ढोल झ्याम्टा पुरस्कार दिइयो । सान्त्वना स्थान लिएको महरुङ मिस्रित सामुदायिक संस्थालाई ६ हजार मूल्यको झ्याम्टा पुरस्कार प्रदान गरिएको छ ।

विजयी समूह र नृतकहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश, उपाध्यक्ष बिर्सिका राई,  यायोक्खा केन्द्रीय सदस्य अञ्जना राई, पूर्व जिविस उपसभापति बाबुराम राई, वडाध्यक्षहरु जितेन्द्र राई र गोविन्द तामाङ तथा समिति अध्यक्ष चुनु राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा नछुङ (धामी)को भूमिका निर्वाह गर्ने देशवीर राई, भिमबहादुर राई र धिराज राईलाई पनि पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।  

साकेलामा नाचिने शिलीले भाषा, कला, ज्ञान, सीप, संस्कार र संस्कृतिको जगेर्ना गर्न मद्धत पुग्ने किराती अगुवाहरु बताउँछन् । यसले किराती र गैरकिरातीबीच सद्भाव र सहिष्णुता कायम हुने पनि किराती विद्वान तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।उनकाअनुसार साकेला शिलीको विषयमा समान बुझाईको विकास गर्न सकदा शिलीले मानव सभ्यताको उत्पत्ति, विकास र प्रगतिबारे धेरै कुरा सिकाउँछ।नृतकहरुले मछामा, बेसारा, सेन्हमा, वापालगायत दर्जन बढी शिली प्रस्तुत गरेको प्रतियोगितामा यायोक्खा पदाधिकारीसहित जनप्रतिनिधिहरु, समाजसेवी, राजनीतिकर्मी सामुहिक शिली नाचेर सद्भाव आदानप्रदान गरेका थिए । 

 

प्रकाशित: १९ जेष्ठ २०८१ १९:५३ शनिबार

साकेला उभौलीमा रम्दै पूर्वको किराती समुदाय