नेपालमा केही वर्ष अघिसम्म बियाँ रहित (सिडलेस) खरबुजा खेती व्यावसायिक तवरले भएको थिएन्। त्यस बेलासम्म सप्तरीका ससन देवकोटालाई चितवनमा खरबुजा हुने नहुने भन्ने अन्योल थियो।
अमेरिकामा समेत कृषि विषय पढेर आएका देवकोटाले चितवनमा खरबुजा खेती गर्ने आँट गरे। अनुसन्धानसहित उत्पादन गर्न थालेका देवकोटा अहिले सफल समेत भएको छ। ‘चितवन सहित नेपालमा भित्र बियाँ हुने खरबुजा उत्पादन राम्रै हुन्थ्यो। तर, सिडलेस खरबुजा भएको पाइँदैनथ्यो,’ देवकोटाले भने ‘नेपालमा पहिलो पटक विदेशबाट बिउँ ल्याएर हामीले गरेका थियौँ । उत्पादन राम्रै भइरहेको छ।’
देवकोटाले भरतपुर महानगरपालिका–५ समिचोकमो बियाँ रहित (सिडलेस) खरबुजा खेती गरेका छन्। यहाँ पहिलो पटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको हो। देवकोटाले तीन वर्षअघि खरबुजा खेती गर्न सुरु गरेका थिए। अहिले उनीहरुले तीन प्रकारका खरबुजा खेती गरेका छन्। सिडलेस, पहेँले सिडलेस र बिउँ भएको खरबुजा लगाएका छन्। त्यसमध्ये सबैभन्दा राम्रो सिडलेस उत्पादन भएको देवकोटाले बताए।
उनले उनले छुट्टै अनुसन्धान भइरहेको समेत बताए। ‘हामीले भारतबाट बिउँ ल्याएर तीन वर्षअघि परीक्षण स्वरूप लगाएका थियौँ। त्यसमा हामी सफल भयौँ,’ उनले भने ‘अहिले हामीले व्यवसायीक रुपमा उत्पादन गरिरहेका छौँ।’ उनीहरुले भारतबाट बिउँ ल्याउँछन्। यहाँ जमाएर बिरुवा रोप्ने गरेको उनले बताए। उनका अनुसार एउटा बिरुवाको लागत १६ रुपैयाँ पर्दछ।
खरबुजा लगाएको चार महिना पछि उत्पादन दिन सुरु गर्दछ। अहिले उनको बारीमा लटरम्म खरबुजा फलेका छन्। बारीबाट नै सिडलेस खरबुजा ७० र अर्को ४० रुपैयाँमा बिक्री भइरहेको उनको श्रीमती राधिका रिजाल देवकोटाले बताइन्।
‘एक हप्ता भयो उत्पादन दिन सुरु भएको छ। हामीले दैनिक बिहान र बेलुका हार्भेस्ट गर्दछौँ,’ उनले भनिन् ‘फर्मबाट नै ७० र ४० रुपैयाँ केजी बिक्री भएको छ।’ यहाँ उत्पादन भएको खरबुजा, भरतपुर र काठमाडौँ बजारमा खपत हुने गरेको उनले बताइन्। फर्ममा आउने ग्राहकहरूले आफै छानेर समेत लैजान पाउँछन्। एउटा खरबुजा ३ देखि ७ केजीसम्मको रहेका छन्।
पिएचडीसम्म अध्ययन गरेका देवकोटा खेतीबाट बचेको समय कृषिका विद्यार्थीहरूलाई ज्ञान बाँड्न व्यस्त रहेको बताउँछन् । उनका फार्ममा सिजन अनुसारको तरकारी समेत हुन्छन्। अहिले भेन्डी, करेला, घिरौँला, कार्को छन्। उनले स्ट्रबेरी खेती समेत गर्दछन्। उनको फार्ममा स्ट्रबेरीको सिर्जनमा फोटो खिच्नेदेखि टिकटक बनाउनेसम्मको लर्को लाग्ने गर्दछ। यहाँ विद्यार्थीहरू इन्टन गर्नसमेत आउने गर्दछन्।
प्रकाशित: १६ जेष्ठ २०८१ १६:५६ बुधबार