२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हेटौंडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरे आन्दोलन गर्ने’

सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।

प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रूपमा लिइने भनेर सहमति भएकामा अहिले अस्पताललाई नै प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै नेकपा एमालेबाहेकका राजनीतिक दलले विरोध जनाएका हुन्।

‘एकाएक हेटौंडा अस्पतालको सम्पूर्ण सम्पत्ति र स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रियाले राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिले हामी सबैको ध्यानाकर्षण भएको छ,’ ती दलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। हेटौंडा अस्पतालबाट दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेका छन्।

प्रदेश सरकार गम्भीर प्रकृतिको अभ्यासमा लागेकाले सरकारमै रहेका र सरकारबाहिर रहेका दललाई पनि अस्वीकार्य रहेको आठ राजनीतिक दलको चेतावनी छ। मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले यसको समर्थन गर्न नसकिने जानकारी दिँदै यो प्रक्रिया तत्काल नरोकिए मकवानपुरका राजनीतिक दल सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, राप्रपा नेपाल, राप्रपा र नेकपाका जिल्ला नेतृत्वले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिष्ठान स्थापना गरेर प्रदेश र मकवानपुरको विकासमा योगदान दिने कामको स्वागत गर्दै हेटौंडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेशसभामा समेत आन्दोलनको कार्यक्रम सञ्चाल गर्ने चेतावनी दिइएको छ।

दलले बागमती प्रदेश सरकार गठनपछि प्रदेश राजधानी, पूर्वाधार विकास, प्रदेश गौरव आयोजनाले प्रदेशले विकासमा मारिरहेको फड्कोको प्रशंसासमेत गरेका छन्। प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामै एमबिबिएससम्मको पढाइको तयारी गरेर भौतिक पूर्वाधार निर्माण गरिरहेको छ।

प्रतिष्ठानले चाँडै लक्ष्यअनुसार पढाइ सुरु गर्ने, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गर्ने विषयमा सबै राजनीतिक दल खुला दिलले सहयोग गर्न तयार रहेको जानकारी गराउँदै पछिल्लो समय विकसित घटनाक्रमप्रति भने ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी संयोजक भीम पाख्रीन, स्वतन्त्र पार्टी सभापति भरत पराजुली, एकीकृत समाजवादी अध्यक्ष विष्णु दाहाल, जसपा नेपाल अध्यक्ष सोम घलान, राप्रपा नेपाल अध्यक्ष गुरूप्रसाद सापकोटा, राप्रपा अध्यक्ष अर्जुनप्रसाद गौतम र नेकपाका इन्चार्ज वाटर सीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ३० वैशाख २०८१ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App