४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।

परीक्षार्थीलाई जानीजानी असफल गराएर नक्कली लाइसेन्स लिन प्रेरित गर्ने काम ट्रायल सेन्टरहरूबाटै भएको सतर्कता केन्द्रका सचिव रामआधार साहले बताए। ‘नक्कली लाइसेन्सका जननी नै उपत्यकाका ट्रायल सेन्टरहरू हुन्,’ साहले भने, ‘त्यसैले ती ट्रायल सेन्टरहरूलाई कानुनको दायरामा नल्याएसम्म नक्कली लाइसेन्स लिने प्रवृत्ति रोकिँदैन।’

सतर्कता केन्द्रले गत चैतमा एउटा टोली बनाएर उपत्यकाका ट्रायल सेन्टहरूको विषयमा विस्तृत अनुगमन र अध्ययन गरेको थियो। अनुगमनका क्रममा उपत्यकाका पाँचवटा ट्रायल सेन्टरले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ अनुसार प्रयोगात्मक परीक्षा नलिएर परीक्षार्थीलाई असफल गराएको पाइएको केन्द्रले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

यसबाट ती सेन्टरले लिँदै आएको प्रयोगात्मक परीक्षामाथि नै प्रश्न उठेको छ। ‘उपत्यकाका पाँचवटा ट्रायल सेन्टरले निर्देशिकाले तोकेको मापदण्डविपरीत प्रयोगात्मक परीक्षा लिएको पाइएको छ। यसबाट विद्यार्थी फेल हुने गरेका छन्,’ साहले भने।

ट्रायल सेन्टररूले प्रयोगात्मक परीक्षा लिँदा निर्देशिकाअनुसार ले आउट (डिजाइन) र सिक्वेन्स (सिलसिला) नमिलाएको प्रतिवेदनमा लेखिएको छ। निर्देशिकामा प्रयोगात्मक परीक्षा लिँदा परीक्षा लिने बाटोको दुरी कम या बढी राख्न नपाइने उल्लेख छ। प्रयोगात्मक परीक्षामा निश्चित दुरी तोकिएको छ। केही ट्रायल सेन्टरले यो मापदण्ड पालना नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी प्रयोगात्मक परीक्षा लिँदा ट्राफिक बत्ती जेब्रा क्रसिङभन्दा ठीक अगाडि राख्नुपर्ने मापदण्डमा उल्लेख छ। तर केही ट्रायल सेन्टरले यो मापदण्डअनुसार ट्राफिक लाइट नराखेको अनुगमन टोलीका संयोजक बुद्धि खनालले बताए।

‘ट्राफिक लाइट मापदण्डअनुसार नराख्दा परीक्षार्थी झुक्किन्छन्,’ सतर्कता केन्द्रको प्रतिवेदनमा लेखिएको छ, ‘केही ट्रायल सेन्टर सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्डअनुसार नभएको र त्यस प्रकारका प्रयोगात्मक परीक्षास्थलमा लिएको परीक्षालाई विधिसम्मत भयो भन्न सक्ने अवस्था देखिएन। तसर्थ अनुगमन तथा निर्देशन दिने निकाय सम्बन्धित यातायात व्यवस्था कार्यालयका जिम्मेवार पदाधिकारी तथा ट्रायल सेन्टरलाई कानुनबमोजिम कारबाही गरी कानुनअनुसार तोकिएको मापदण्डअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिने निर्णय गरिएको छ।’

इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र ललितपुरले तोकिएको मापदण्ड अनुसार प्रयोगात्मक परीक्षा नलिएको केन्द्रले तयार गरेको प्रतिवेदनमा लेखिएको छ।

ती ट्र्याल सेण्टरमा सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिकाबमोजिम भौतिक पूर्वाधार, प्रयोगात्मक परीक्षास्थल र सवारीसाधन समेत नभएको प्रतिवेदनमा उल्लेख छ। प्रयोगात्मक परीक्षा लिँदा परीक्षार्थीलाई उनीहरूकै सवारीसाधन प्रयोग गर्न दिनुपर्नेमा ती ट्र्याल सेन्टरले आफ्नै सवारीसाधन प्रयोग गर्न लगाएको अनुगमनमा पाइएको छ। ‘जसबाट विद्यार्थाी फेल हुने सम्भावना हुन्छ,’ साहले भने।  

बागमती प्रदेश सरकारको बेवास्ता  

मापदण्डविपरीत सञ्चालन भइरहेका ट्र्याल सेन्टरहरूलाई मापदण्डको दायरामा ल्याउन अथवा बन्द गराउन सतर्कता केन्द्रले गरेको प्रयासलाई बागमती प्रदेश सरकारले बेवास्ता गरेको केन्द्रका उच्च कर्मचारीको बुझाइ छ। ट्र्याल सेन्टरहरू प्रदेश सरकार मातहत छन्। प्रदेश सरकारको अनुमतिमा ट्र्याल सेन्टर सञ्चालन भइरहेका छन्।

मापदण्डविपरीत सञ्चालन भइरहेका ट्र्याल सेन्टरहरूलाई कानुनको दायरामा ल्याउन अथवा बन्द गराउन सतर्कताले बागमती प्रदेश सरकारलाई दुईपटक चिठी पठाइसकेको छ।

पहिलोपटक १५ दिनको म्याद राखेर र दोस्रो पटक ७ दिनको म्याद राखेर केन्द्रले बागमती प्रदेश सरकार, यातायता मन्त्रालय, तथा ट्र्याल सेन्टरलाई चिठी पठाएर जवाफ मागेको छ। तर अहिलेसम्म जवाफ नआएको साहले बताए। ‘यसबाट बागमती प्रदेश सरकार नै मापदण्डविपरीत सञ्चालन भइरहेका ट्र्याल सेन्टरलाई कानुको दायरामा ल्याउन उदासिन रहेको हाम्रो बुझाइ छ,’ साहले भने।

परीक्षार्थीलाई फेल गराएर अवैध तरिकाले लाइसेन्स लिन प्रेरित गर्ने काम यिनै ट्र्याल सेन्टरबाट भइरहेको दाबी गर्दै स्रोतले भन्यो, ‘यसो गर्दा लाइसेन्स बिक्री गरी पैसा असुल्न पाइन्छ।’

प्रकाशित: ३० वैशाख २०८१ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App