३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

वायु प्रदूषण बढेकोले अत्यावश्यक काममा बाहेक घरबाहिर नहिड्न चिकित्सकको सुझाव

निसास्सियो पोखरा

बाक्लो तुवाँलोले ढाकेको पोखरा। तस्बिरः नागरिक

पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। भिजिविलिटी नहुँदा पोखराबाट विभिन्न गन्तव्यसम्म हुने हवाई सेवा पनि प्रभावित छ। तुवाँलोले हिमाल छेकिँदा यहाँ आएका पर्यटक पनि खुसी छैनन्।  

त्यत्ति मात्र नभई तीनदिनदेखि रोकिएको पोखरासँगको हवाई सेवा आइतबार मध्यान्हपछि मात्र खुलेको थियो। भिजिविलिटी घटेर उडान अवरुद्ध हुँदा यात्रुले सकस खेपेका छन। होटल बुकिङ गरेका पर्यटक पनि पोखरा आउन पाएका छैनन। रुघाखोकी लागेको, आँखा पोलेको र चिलाएको भन्दै अस्पतालमा परीक्षण गराउन जाने बिरामीको संख्या पनि थपिएको छ। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।

पृथ्वी नारायण क्याम्पस पोखराका विज्ञान संकायका प्राध्यापक जीवन रेग्मी भन्छन, ‘चारैतिरको आगलागीले पोखरालाई घेरेको छ। पोखरा सहरभित्रै धुवा प्रवेश गरेको छ। धुलो, धुँवाका कारण पोखरा अस्तव्यस्त बनेको छ।’ धुलोका सानो कण जमिनभन्दा केही माथि तैरिएर रहँदा यो समस्या आउने उनले बताए। ‘विकास निर्माणबाट निस्केको ठूलो खालको धुलो जमिनमा आउँछ, तर, सानो कणहरु तैरिएर वायुमण्डलमै रहन्छ, त्यसले गर्दा समस्या भएको हो,’ उनले भने। उनका अनुसार पोखरा वरिपरि लामो समयदेखि आगलागी हुँदा यो समस्या थपिएको छ।  

‘पोखराको वायुमण्डलमा धुलो, धुँवा र ग्यासको मिश्रण छ। यसले भिजिविलिटी घटाउँछ। यो लामो समय रहन्छ। पानी नपरेसम्म रहिरहन्छ’ उनले भने, ‘जमिनदेखि २५ फिट माथि रहने यस्तो प्रदूषण निकै हानिकारक पनि हुन्छ। जमिनको केही माथि तैरिएर बसेको हुनाले हट्न समय लाग्छ ।’

आगलागी भएको र पानी नपरेकाले यो समस्या बढेको उनले बताए। ‘पानी नपरेसम्म हट्न सक्दैन। कि त जोडले हावा चल्नु पर्छ,’ उनले भने। उनका अनुसार यस्तो प्रदूषणले आँखा पोल्नदेखि फोक्सोमा समस्या ल्याउनेसम्मको जोखिम रहन्छ।  

‘जनचेतना कमजोर हुँदा चारैतिर आगलागी भएको छ। घर वरिपरि नै आगो लगाउने चलन छ। हरेक मान्छे यो प्रदूषण फैलाउनमा जिम्मेवार छन,’ उनले भने। उनका अनुसार विश्वासमा वायु प्रदूषणबाट वर्षेनी करिब ७० लाख मान्छेको ज्यान जान्छ, त्यो पनि उमेर नपुग्दैको अवस्थामा। स्थानीय स्तरबाटै सचेत बनाउने र कानुन कार्यन्वयनमा कडाई गर्ने हो भने यस्तो समस्या कम हुने उनले बताए। ‘सरकारी निकायको बेवास्ता छ। प्रदूषण घटाउनेबारे चाँसो नै कसैको छैन,’ उनले भने।  

मणिपाल शिक्षण अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा. सिपी आचार्य अहिलेको प्रदूषणले गर्दा मानव स्वास्थ्यमा असर पर्ने बताउँछन। उनका अनुसार दीर्घकालिन र तत्कालको असर यो प्रदूषणले पार्छ। उनका अनुसार अहिलेको प्रदूषित हावाले सर्वसाधारणको फोक्सोमा असर पर्छ।

फोक्सोमा प्रदूषित हावा पुगेपछि शरिरका अरु अंगमा प्रभाव पार्न थाल्छ। त्यसबाहेक टाउको दुख्ने, आँखा बिझाउने, घाटी दुख्ने लगायतका समस्या हुन्छन। 

त्यसबाहेक दीर्घकालिन रुपमा पनि स्वास्थ्यमा समस्या पर्ने उनले बताए।  उनका अनुसार मुटुको समस्या ल्याउनमा ३२ प्रतिशत हिस्सा प्रदूषित वायुको रहन्छ। त्यसबाहेक स्वासप्रश्वासमा पनि समस्या पर्छ। समस्या बढ्दै जाँदा क्यान्सरसम्मको जोखिम निम्त्याउने उनले बताए। ‘साह्रै डरलाग्दो अवस्था अहिलेको प्रदूषणले नित्याएको छ, अहिले अस्पतालमा बिरामी पनि थपिन थालेका छन,’ उनले भने। 

उनका अनुसार अहिलेको प्रदूषणबाट जोगिनका लागि सकेसम्म घरबाहिर निस्कनु हुँदैन। निस्कनै पर्ने अवस्थामा मुखमा मास्क र आँखामा चस्मा लगाउनुपर्ने उनको सुझाव छ। ‘अनावश्यक कामले घरबाहिर ननिस्कँदा राम्रो हुन्छ। मल, भीडभाडमा नजाँदा राम्रो हुन्छ,’ आचार्यले भने।  

प्रदूषणले छेक्दा पोखराबाट हिमाल नदेखिएको करिब महिनादिन भईसकेको छ। यसको प्रभाव पर्यटनमा समेत परेको पर्यटन व्यावसायीको भनाई छ। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘प्रदूषण यतिसम्म बढेको छ की हिमाल नदेखिएको महिनादिन भन्दा बढी भईसक्यो। हिमाल देख्न नपाउँदा पर्यटक पनि खुसी छैनन। साहसिक पर्यटकीय गतिविधि पनि ठप्प छन।’ उनका अनुसार पोखराको हवाई सेवा पनि अनिश्चित बनेको छ। हवाई सेवा नियमित नहुँदा पर्यटकको आउजाउ प्रभावित भएको उनले बताए।  

प्रकाशित: १६ वैशाख २०८१ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App