३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीन प्रहरी कार्यालयले पाए नयाँ वर्षमा नयाँ भवन

इलाका प्रहरी कार्यालय लिमचुङबुङको उद्घाटनपछि स्थानीयसँग एआईजी टेकप्रसाद राई। तस्बिर : नागरिक

नयाँ वर्ष ०८१ लागेसँगै उदयपुरका तीनवटा प्रहरी युनिटले नयाँ भवन पाएका छन्। जिल्लाका विकट गाउँपालिका लिमचुङबुङ र ताप्ली तथा कटारी नगरपालिकाको पहाडी १० नं वडा सोरुङछबिसेले अत्याधुनिक नयाँ भवन पाएका हुन्।

शक्रबार आयोजित एक कार्यक्रममा इलाका प्रहरी कार्यालय लिमचुङबुङको भवन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) टेकप्रसाद राईले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ।

गाउँपालिका केन्द्र बाराहानजिकै वडा नं २ मा नवनिर्मित भवन संघीय सरकार, सहरी विकास तथा भवन निर्माण आयोजना विराटनगरको रेखदेखमा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैयाँमा भुस्नाम्छा कन्स्ट्रक्सन गाईघाटको ठेक्कामा निर्माण भएको हो।

०७७ असार ५ गते सम्झौता गरी निर्माण सुरु भएको भवन ०७८ असार पहिलो साताभित्र सम्पन्न गरिसक्ने सम्झौता भए पनि कोभिडका कारण ढिला भएर म्याद थपेर ०७९ मा सम्पन्न भएको हो।

भवन सकिए पनि घेराबार, खानेपानी तथा विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले उद्घाटन गर्न केही समय ढिला भएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।

एसपी थापाका अनुसार अढाईतले भवनमा १२ कोठा रहेका छन्। भुइंँतलाका ८ कोठा कार्यालय, ब्यारेक र थुनुवा कक्ष प्रयोजनमा प्रयोग हुनेछन् भने पहिलो तलाका ४ कोठा कार्यालय प्रमुखको आवास कक्ष बनाइने उनले बताए। भवन स्थानीयवासीले निःशुल्क दान दिएको १७ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिएको पनि एसपी थापाले बताएका छन्। 

एआईजी राईले उद्घाटन गर्दै देश र जनताको सुरक्षाका लागि रात दिन खट्ने प्रहरीलाई सुरक्षित र व्यवस्थित गर्ने योजनाअनुसार भवन निर्माण गरिएको बताए।

हरेक युनिटलाई भवन, सवारी साधनलगायत भौतिक पूर्वाधार, यन्त्र उपकरण र बन्दोबस्तीको जोहो मिलाउन सके मात्र जनताको सुरक्षामा प्रहरी संगठन सफल हुने उनको भनाइ थियो। प्रहरी प्रहर सतर्क भएर सुरक्षा, अनुसन्धान, उद्धारमा खटेर देश र जनताको सुरक्षा दिने संगठन भएकैले प्रहरी भनिएको एआईजी राईले बताए।

उनले ‘जहाँ प्रहरी, त्यहाँ हरी’ भन्ने नारा आत्मसात गर्दै अपराध अनुसन्धान, विपत व्यवस्थापन र उद्धार तथा चुस्त–दुरुस्त सेवा प्रवाह गर्न मातहत प्रहरीलाई निर्देशन दिए। देशभरको प्रहरीलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने अभिभारा आप्mनो रहेको तर,   उदयपुरकै स्थायी बासिन्दा भएकाले यो जिल्लालाई विशेष प्राथमिकतामा राख्दै आएको स्मरण एआईजी राईले गराए।

उनले नायवब निरीक्षक (सई) कमान्डको ‘ग’ श्रेणीको इलाका प्रहरी लिमचुङबुङलाई निकट भविष्यमै ‘क’ श्रेणीमा स्तरोन्नति गर्ने गरी पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिदिने आश्वासन पनि दिए।

उदयपुरका धेरै युनिटहरूलाई भवन, सवारी साधन र बन्दोबस्तीयुक्त बनाइसकिएको र बाँकीलाई पनि छिटै व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै उनले तर बजेट अभाव मागअनुसार गर्न नसकिएको बताए। ‘अहिले देशभर ८ सय चौकी र २५ हजार जनशक्ति माग भइरहेको छ, तर बजेट नभएकाले पूरा गर्न सकेको छैन।’

चैत २९ गते मात्र कटारी १० सोरुङछबिसे र ताप्ली– ५ रुपाटारका प्रहरी चौकी भवनको उद्घाटन भएको थियो। प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजिपी) चन्द्रकुबेर खापुङले बिहान सोरुङछबिसे र दिउँसो रुपाटारमा भवन उद्घाटन गरेका हुन्।

नयाँ भवन बनेपछि जनताले पाउने प्रहरी सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै डिआईजी खापुङले प्रहरीले प्रदान गर्ने सेवा चुस्त, दुरुस्त र गुणस्तरीय बनाउन निर्देशन दिए।

२४ सै घन्टा जनताको पहरा दिने प्रहरी कर्मचारीलाई नयाँ भवनले मनोबल बढ्ने भन्दै उनले सुविधासम्पन्न भवन पाएपछि थप जोस, जाँगर र ऊर्जाका साथ काम गर्न उनको निर्देशन थियो। शान्तिसुरक्षा र अमनचयन कायम गर्न प्रहरी एक्लैले नसक्ने भएकाले  जनता र प्रहरी मिलेर लाग्नुपर्ने उनको भनाइ थियो।

सोरुङछबिसेको चौकी भवन प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक करोड ६४ लाख ७३ हजार रुपैयाँ लागतमा सहरी विकास तथा भवन निर्माण आयोजनाले निर्माण गरेको हो। उता रुपाटारको प्रहरी चौकी भवन शान्ति तथा पुन निर्माण मन्त्रालयको शान्ति कोषमार्फत एक करोड ११ लाख १८ हजार चार सय ४९ रुपैयामा निर्माण भएको हो।

उद्घाटन कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालय, संघसंस्थाका प्रमुख, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा स्थानियको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नयाँ वर्षसँगै तीनवटा प्रहरी युनिटले अत्याधुनिक र सुविधासम्पन्न नयाँ भवन पाएपछि शान्ति सुरक्षामा मद्दत पुग्ने बताए।

नयाँ साल लागेसँगै प्रहरी युनिटहरूले नयाँ भवन प्राप्त गरेपछि पक्की पनि आत्मबल बढेर सेवा प्रवाहमा बढोत्तरी आउने अपेक्षा गरेको सिडिओ घिमिरेले बताएका छन्।

प्रकाशित: ३ वैशाख २०८१ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App