२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पालिकामै नुन पाउँदा खुसी

गाउँमै नुन लिन पाइएपछि गाल्जेमा नुन लिनेको भीड। तस्बिर : ललित-कालिकोट

कालिकोटको तिलागुफा नगरपालिका– १० रुडुका अनिपाल रोकाया गाउँमै आयोडिनयुक्त नुन पाउदा खुसी छन्। आयोडिनयुक्त नुन लिनका लागि सधैं सदरमुकाम जानुपर्नेमा बाध्यता हटेर यसपटक गाउँमै नुन पाएपछि उनीमा खुसी छाएको हो।

पाँच पाकेट नुनका लागि अढाई हजार रूपैयाँ खर्च गरेर सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको छ। तिलागुफा नगरपालिकाले गाउँमै नुन डिपो स्थापना गरी नागरिकलाई नुन दिन सुरु गरेपछि स्थानीय खुसी भएका छन्। राजधानीमा सुनको खाँचो भए पनि कर्णालीका गाउँमा नुनको खाँचो छ। सरकारले अझै आयोडिनयुक्त नुन गाउँमै पु¥याउनु सकेको छैन।

तिलागुफाका नागरिकका लागि पालिकाको केन्द्र गाल्जेमा डिपो स्थापना गरी वितरण सुरु गरेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। ‘पाँच केजी प्याकेट नुन लिनका लागि जनताले सदरमुकाम धाउनु परिरहेको छ। यसका लागि स्थानीयले तीन हजारदेखि चार हजार रूपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ। यो बाध्यता हटाउन पालिकाको केन्दमा नुन डिपो राखेर नुन दिन सुरु गरेका छौं।’

अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ। त्यसैले आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरेका छौं। अब जनताले ढुक्क भए हुन्छ आयोडिनयुक्त नुन गाउँको डिपोमा संकट हुन दिँदैनौं,’ उनले भने।

जिल्ला सदरमुकाम मान्ममा जाँदा एक पाकेटको नौ रूपैयाँ पथ्र्याे भने गाउँमै नौ रूपैयाँले किन्न पाउनु भनेको स्थानीयबासीका लागि सहज भएको स्थानीय युवा जीवन शाहीले बताए। उनले भने, ‘नुन लिन आउँदा नेपाली नागरिकता ल्याएर आउनुपर्ने रहेछ। यस्तो झन्झट चाहिँ नागरिकलाई नदिएको भए हुने हो।’

पाँच पाकेट नुनका लागि जिल्ला सदरमुकामा धाउनुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीय नुन लिन गाल्जेमा भीड नै लागेको छ। आइतबार मात्र चार सय ५० जनाले नुन लगेको नगरपालिकाले जनाएको छ। गत हप्ता जिल्ला प्रशासनमा भएको छलफलअनुसार सबै पालिकाले पालिकामै नुन लिनको लागि प्रक्रीया सुरु गरेका छन्।

रास्कोटमा पनि नुन

पाँच पाकेट नुनका लागि दुई हजार पाँच सय रूपैयाँ खर्च गरेर सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको रास्कोट नगरपालिकाले जनाएको छ। रास्कोट नगरपालिकाले नगरको केन्द्र आरसपी बजारमा डिपो स्थापना गरेर नगरवासीलाई नुन वितरण गर्न थालेपछि वषौदेखिको नुनको पीडाबाट रास्कोटवासीले मुक्ति पाएका छन्।

नागरिकता र मालपोतसँग सम्बन्धित कामबाहेक अन्य सबै काम नगरपालिकामै हुन थालेपछि रास्कोटवासी सदरमुकाम मान्म जान छाडेका थिए। ‘नुनकै लागि ६ घण्टाको यात्रा गरी २ हजार खर्च गरेर सदरमुकामको डिपोसम्म पुग्नुपर्ने अवस्था थियो, यस्तो पीडाबाट मुक्ति मिलेको छ,’ रास्कोटका अनुरुद्ध सञ्ज्यालले भने, ‘बल्ल गाउँमा पनि सिंहदरबार आएको महसुस भएको छ, अहिले पैसा भएपछि सबै थोक गाउँमै पाइन थालेको छ।’

उनीमात्र होइनन्, नगरपालिकाबाटै नुन लिन पाउँदा धेरैमा खुसीको सीमा छैन। विगतमा नुनकै लागि एक महिनाको पैदल बाटो हिँडेर राजपुर कटासे गएको दुवैले बिर्सेका छैनन्।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा नगरपालिकामा पनि आयोडिनयुक्त नुन डिपो स्थापना गरेपछि अहिले यहाँका नागरिकले नुन पाउने गरेको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले बताए।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले पालिकामै नुन दिन पालिकालाई निर्देशन दिएपछि पालिका केन्दमा नुन दिन सुरु गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमै नुन डिपोको स्थापना गरिएको छ।

महिनामा एकपटक नुन दिने गरेको रास्कोट नगरपालिका नुन डिपोले जनाएको छ। मात्र ३ सयभन्दा बढीलाई नुन वितरण गरिएको शाखा डिपोले जनाएको छ। अरू पालिकाहरूले पनि नुन लिन सुरु गरेका छन्।

प्रकाशित: २९ चैत्र २०८० ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App