२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुक्तिनाथ दर्शन: पर्यटक बाहक सवारी ‘ननस्टप’ दौडिन्छन्

हतारमा यात्रा नगराउन व्यावसायीको आग्रह

मुक्तिनाथ (३८०० मिटर) दर्शन गर्न जाने क्रममा लेक लागेर ज्यान जान थालेपछि पदयात्रा व्यवसायीले हतारमा यात्रा नगराउन अरु व्यवसायीलाई आग्रह गरेका छन्। पोखराबाट छोटो समयमा हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पुर्‍याउँदा पर्यटकलाई लेक लाग्ने समस्या बढेको पदयात्रा व्यवसायीको भनाई छ।

मुस्ताङ प्रहरीका अनुसार पछिल्लो अढाई वर्षमा लेक लागेर २७ जना पर्यटकको ज्यान गएको छ। ती मध्ये सबैभन्दा बढी १९ जना भारतीय, ६ जना नेपाली, थाइल्याण्ड र युक्रेनका एक–एक जना रहेका छन्। मुस्ताङ प्रहरीका अनुसार चैत महिनामा मात्र चार जनाले लेक लागेर ज्यान गुमाएका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर धमाधम ज्यान जाने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताए। अहिले हतारमा पोखराबाट मुक्तिनाथ उकाल्दा लेक लागेर ज्यान जाने गरेको भन्दै उनले पर्यटकलाई हतारको यात्रा नगराउन पनि अरु व्यवसायीलाई आग्रह गरे।

‘पछिल्लो समय पोखराबाट एकैदिनमा मुक्तिनाथ लगेर राती अबेरसम्म पोखरा फर्काउने गरिएको छ। यस्तो क्रम रोक्न सकेनौ भने आगामी दिनमा अझै बढी क्षति हुन सक्छ,’ उनले भने, ‘यसले पर्यटनमा नराम्रो सन्देश प्रवाह हुन्छ।’ उनका अनुसार छोटो समयमा उच्च हिमाली भेगमा पुर्‍याउँदा पाहुनालाई लेक लाग्ने समस्या हुन्छ।

‘स्वदेशी पाहुनामा पनि यस्तो समस्या आउँछ। किनकि कम उचाइबाट एकाएक छोटो समयमा उच्च भेगमा लैजाँदा त्यसले लेक लाग्ने जोखिम बढाउँछ,’ उनले भने। भारतीय पर्यटक आउने यो सिजनमा दिनहुँ जसो घटना हुन थालेपछि यसप्रति सचेत हुन जरुरी रहेको उनले बताए। पन्थीका अनुसार यो समस्यालाई कम गर्नका लागि हतारको यात्रामा ब्रेक लगाउनुको विकल्प छैन। त्यसका लागि कहाँ कति बजे पुग्ने भनेर ‘टाइम कार्ड’ लागु गर्नुपर्ने हुन्छ।

टानले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पोखराबाट एकैदिनमा मुक्तिनाथ उकाल्ने गर्दा लेक लाग्ने जोखिम बढेको भन्दै व्यवसायीलाई यस्तो हतारको यात्रा नगराउन आग्रह गरेको छ। टान गण्डकीका सचिव तीर्थराज सुवेदीले विज्ञप्ति प्रकाशित गरि छोटो समयमा उच्च भेगसम्मको यात्राले लेक लाग्ने जोखिम हुने भएकोले त्यसलाई कम गर्नु पाहुनालाई ठाउँ ठाउँमा रोक्दै लैजान अनुरोध गरेको उल्लेख छ।

‘पाहुनालाई उचाइसँग अभ्यस्त बनाउँदै बिस्तारै लैजाने हो भने यो समस्या आउँदैन। तर, अहिले व्यवसायीले हतार गरेर एकैदिनमा मुक्तिनाथ उकालेर फर्काउने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हतारको यात्राले ज्यानै जाने जोखिम भएकोले पनि यसप्रति सचेत हुनुपर्ने छ।’

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार लगातार जसो घटना हुन थालेपछि प्रहरीले जोमसोम प्रवेशको नाका घाँसा र जोमसोममा पर्यटक प्रहरीमार्फत सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। घाँसामा प्रहरी र जोमसोममा पर्यटक प्रहरीले पर्यटक सवार गाडीमै चढेर स्वास्थ्यमा समस्या भए परीक्षण गराएर मात्र मुक्तिनाथ जानु भनेर सल्लाह दिने गरेको पनि उनले बताए।

व्यवसायीका अनुसार तेस्रो मुलुकका पर्यटक यस्ता समस्यामा कमै पर्छन्। किनकि उनीहरुले समय तालिका बनाएर पदयात्रा गर्छन्, सचेतना पनि अपनाउँछन, गाइड साथमा लिएर जान्छन्। मुक्तिनाथमा धार्मिक पर्यटक जान्छन्, कतिपय त दर्शन गर्न जाने भनेर भोक भोकै गएका हुन्छन्। त्यसले गर्दा शारीरिक समस्या बढी थपिने व्यवसायीको भनाई छ। पोखरा–जोमसोम करिब १८० किलोमिटर एकतर्फी दूरी एकै पटक पुरा गर्न खोज्दा यो अवस्था आएको व्यवसायीको भनाई छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पोखराबाट जोमसोममा बढीमा ५ घण्टामा आइपुग्ने गरि हतारको यात्रा गर्दा जोखिम बढेको बताउँछन्। उनका अनुसार अहिले जिपहरू म्याग्दीबाट ३ घण्टामा जोमसोम पुग्न थालेका छन्। ‘लामो रुटमा टाइम कार्ड लागु हुने हो। यहाँको रुट छोटो छ, मात्र उचाइ बढ्दै जाने हो । त्यसैले यी घटना हुन नदिन सचेतना नै प्रमुख हो,’ उनले भने, ‘व्यवसायीले पोखराबाटै पर्यटकलाई काउन्सिलिङ गरिदिनुपर्छ। तल्लो भेगबाट माथिल्लो भेगमा हतारमा जाँदा समस्या हुन्छ।’

पोखराबाट रातारात पाहुनालाई मुक्तिनाथ लगेर फर्काउने गर्दा समस्या बढेको उनले बताए। ‘भारतीय पर्यटक बोकेका गाडी ननस्टप दौडिरहेका हुन्छन्,’ पन्तले भने, ‘यसमा व्यवसायी अलि सचेत हुनुपर्छ। पर्यटकलाई बिस्तारै जानुपर्छ। सकेसम्म एक रात बीचमा बास बस्नुपर्छ भनेर सुरक्षित उपायबारे जानकारी दिने हो भने सहज हुन्छ। यसले क्षति हुनबाट रोक्छ।’

प्रकाशित: २० चैत्र २०८० १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App