५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पुराण रकम विवादले राधाकृष्ण कुञ्ज विहारीमा भाँडभैलो

संस्थाकी अध्यक्ष तथा वाचिका सपना बस्नेत। तस्विरः महेश्वर

सदरमुकाम गाईघाटमा दुई महिनाअघि लगाइएको श्रीमद् भागवत ज्ञान महायज्ञमा संकलित रकमले आयोजक राधाकृष्ण कुञ्ज विहारी संस्थामा भाँडभैलो मच्चिएको छ।

त्रियुगा नगरपालिका २ स्थित खैजनपुरमा ‘आमा–बाउ स्नेह घर’ निर्माणार्थ माघ ५ देखि १३ सम्म लगाइएको पुराणमा भक्तजनले दिएको दान द्रव्य सार्वजनिक गर्न र उठेको रकम संस्थाको बैंक खातामा जम्मा गर्नुपर्नेमा व्यक्तिका हातमा परेपछि समितिमा विवाद भएको हो। संकलित रकम व्यक्तिका हातमा जिम्मा लगाएको भन्दै समितिका सचिव र कोषाध्यक्षलगायत बहुमत सदस्यले छानबिन माग गर्दै निवेदन दिएका छन्।

असन्तुष्टपक्ष सचिव पुष्प खतिवडा, कोषाध्यक्ष सुशीला राउत र सातजना सदस्यले अध्यक्ष सपना बस्नेत, उपाध्यक्ष रबिना खड्का, सल्लाहकार संयोजक उदय बस्नेत र सल्लाहकार सूर्य खड्काले संकलित रकम कब्जा गरी हिनामिना गरेको भन्दै छानबिनका लागि प्रशासन र वडा कार्यालय गुहारेका हुन्।

रकम सार्वजनिक गर्न समीक्षा बैठक राख्न अध्यक्ष र उपाध्यक्षसँग बैठक राख्न आग्रह गर्दा नराखेपछि उनीहरुले जिल्ला प्रशासन, त्रियुगा नगरपालिका ११ र २ न. वडा कार्यालयलाई छानबिन गर्न गुहार निवेदन दिएको सचिव खतिवडाले बताए।

‘पुराण लगाएको एक महिना बित्दासम्म आयव्यय सार्वजनिक नगर्दा हामीलाई भक्तजनले जहाँ भेट्यो त्यहीँ कति चन्दा उठ्यो भन्दै जानकारी मागिरहे’, सचिव खतिवडाले भने, ‘बैठक राखेर हिसाब सार्वजनिक गरौँ भन्दा अध्यक्ष र उपाध्यक्ष मान्नु हुन्न। त्यसैले निवेदन दिनुपर्‍यो।’

फागुन ९ मा निवेदन दिएपछि ११ नं वडाध्यक्ष सुमन्त कोइरालाले छलफल गर्न फागुन १८ मा दुवै पक्षलाई बोलाएकोमा अध्यक्ष र उपाध्यक्ष उपस्थित नभएपछि दोस्रोपटक २४ गते बोलाए, तर सो दिन पनि उनीहरु नआएको खतिवडाले बताए।

जिल्ला प्रशासनले भने कार्यालयमा दर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीले निवेदन लिन नमानेको खतिवडाले बताएका छन्। नौ दिनको पुराणमा दाता भक्तजनबाट प्राप्त दान रकम सार्वजनिक नगर्दा लाजमर्दो भएर निवेदन दिनुपरेको कोषाध्यक्ष सुशीला राउतले बताइन्। पुराणको रकम बैँकमा जम्मा गरेर चेकमार्फत कारोबार गर्नुपर्नेमा व्यक्तिले लगेकोमा उनको आपत्ति छ।  

पुराण अवधिभर एक छाक खाएर कथा वाचक टोलीको सेवामा खटेका कविता खड्का, शर्मिला कार्कीलगायतले पनि हिसाब पारदर्शी गर्नुपर्ने माग गरे। पदाधिकारी र भक्तजनको मागप्रति समितिले बेवास्ता गरेपछि सचिव र कोषाध्यक्षसहित बहुमत पक्षले निवेदन दिएको उनीहरु बताउँछन्।

खतिवडाले संकलित रकम बैँक खातामा नराखी व्यक्तिले लैजानु नै नियतमा खोट भएको बताए। उठेको रकम सार्वजनिक गर्नुपर्ने भन्दै उनले खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने माग गर्दा अध्यक्ष र उपाध्यक्षले वास्तै नगरेको बताए। पुराणमा सन्त श्रीनिवास आचार्यले दिएको २१ हजार दान पनि व्यक्तिगत खातामा जम्मा गरिएको उनले बताए।

कोषाध्यक्ष राउतका अनुसार श्रीनिवासले पुराणमै दक्षिणा दिन भनेपछि बैँकको खाता नम्बर उपलब्ध गराइएकोमा सल्लाहकार सूर्य खड्काको व्यक्तिगत खातामा तीन दिनपछि उक्त रकम जम्मा गर्न लगाएको पाइएको छ। ‘सन्त श्रीनिवासले स्नेह घर बनाउन २१ हजार दिने भन्दै खाता नम्बर माग्नुभयो’, कोषाध्यक्ष राउतले भनिन्, ‘हामीले खाता नम्बर दियौँ, तर उहाँलाई खातामा हाल्न रोकेर सूर्य खड्काको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाएछन्।’

पुराण अवधिभर आर्थिक सचिवालयमा ममता ठकुरी, रञ्जना काप्mले र शर्मिला कार्कीको टोलीले बसेर दिनैपिच्छे संकलित रकम साँझमा अध्यक्ष बस्नेत र उपाध्यक्ष खड्कामार्फत जिम्मा लगाउने गरेका थिए। रकम दिदा भर्पाइ गरेर बुझाउने गरेको प्रमाण आफूसँग रहेको ठकुरीले बताएकी छन्। पुराणमा भक्तजनले दिएको, कलशयात्रा र दान पेटिकामा जम्मा भएको एकमुष्ट ११ लाख ७७ हजार ३ सय ५ रुपैयाँ भर्पाइ गरेर समितिका सल्लाहकार संयोजक उदय बस्नेतलाई बुझाएको ठकुरीले बताएकी छन्।

पुराण वाचकसमेत रहेकी अध्यक्ष सपना बस्नेतले भने समितिमा कुनै विवाद नभएको दाबी गरिन्। आफू हाल अर्को ठाउँमा पुराण वाचनमा व्यस्त हुनुपरेकाले बैठक बस्न नभ्याएको भन्दै बस्नेतले केही दिनपछि सबै कुराको जानकारी गराउने बताइन्। ‘हामी अहिले अर्को पुराणमा छौं’, उनले भनिन्, ‘यो कार्यक्रम सकेपछि सबै कुरा भन्छौँ है !’ उपाध्यक्ष खड्काले जवाफ दिइन्।

समितिका सल्लाहकार संयोजक उदय बस्नेतले पुराणको सबै खर्च आफूले जोहो गरेको भन्दै सोहीअनुसार उठेको रकमबाट फस्र्यौट गरिएको बताए। समितिकी अध्यक्ष तथा वाचक सपना आफ्नै श्रीमती भएकाले पुराण लगाउन अग्रिम लगानी आफूले गरिदिएको र उठेको रकमबाट तिरोभरो गरेको उनले बताए।

‘पुराण लगाउने मिति तय गरेर कार्डसमेत बाँडिसकिएको रहेछ, तर साथमा एक रुपैयाँ पनि रहेनछ’, बस्नेतले भने, ‘समितिका मान्छे आएर लगानी गरिदिनुस्, पुराणबाट उठेको रकमले सोधभर्ना गर्छौं भनेपछि मैले संगीत सामग्री, खानपिन, टेन्ट र फर्निचर व्यवस्थापनमा समेत लगानी गरिदिएँ।’

पुराणकै पैसाले भवन निर्माण कार्य सुरु भइसकेको बस्नेतले बताए। ‘पुराणकै पैसाले भवन बनाउन सुरु भइसकेको छ’, बस्नेतले भने, ‘त्यहाँ गएर हेर्नुस् ढुंगा, गिटी, बालुवा, इँटा। काम भइरहेको छ। केकति खर्च भयो, कामदारले कति ज्याला पाए भन्ने जानकारी पाउन सक्नुहुन्छ।’

११ नं वडाध्यक्ष कोइरालाले समितिको एउटा पक्षले वडा कार्यालयमा निवेदन दिएकाले छलफल गराउन खोज्दा अर्को पक्ष नआएको बताए। चैत पहिलो साता दुवै पक्षलाई राखेर छलफल गराउने टुंगो लागेको वडाध्यक्ष कोइरालाले बताए।

प्रकाशित: ५ चैत्र २०८० १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App