२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोकियो १९–१७ वर्षका बालबालिकाको विवाह

जुम्लाको तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा हुनै लागेको बाल विवाह रोकिएको छ। जनप्रतिनिधि, कर्मचारी र प्रहरी चौकीको समन्वयमा हुनै लागेको बाल विवाह रोकिएको वडा सचिव खड्गबहादुर रावतले बताए।

सचिव रावतका अनुसार यही फागुन ९ गते १९ वर्षीय बालक र १७ वर्षीया बालिकाबीच बाल विवाह हुन लागेको थियो। विवाह गर्ने भनेर बालकको घरमा बालिका लगिसकेको अवस्थामा बाल विवाह रोकिएको हो।’

पहिले बाल विवाह नगर्न आग्रह गर्‍यौं। बाल विवाह गर्दा हुने हानीका विषयमा जानकारी दियौं’, उनले भने, ‘बालक र बालिका पक्ष आआफ्नो घरमा राखेर बसाल्न राजी भएपछि बाल विवाह रोकिएको उनी बताउँछन्।’ उनीहरुका अभिभावकले उमेर पुग्दासम्म पढाइलेखाइ गर्ने र उमेर पुगेपछि विवाह गर्ने सहमति गरेको सचिव रावतको भनाइ छ।

तिला– ८ वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्ने तयारी छ। सचिव रावतले भने, ‘कुनै पनि समुदायमा बाल विवाह नहोस् भनेर सचेतनाका क्रियाकलाप भइरहेका छन्। गाउँटोल, बस्ती र घरदैलोमा पुगेर बाल विवाहविरुद्धको अभियान घनीभूत रुपमा चलिरहेको छ। जसअनुसार नै पहिलोपटक हुनै लागेको बाल विवाह रोकिएको हो।’

संविधानले बाल विवाह गर्नु अपराध ठानेको छ। कुनै पनि व्यक्ति समुदायमा बाल विवाह भइहालेमा तीस हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने व्यवस्था गरेको छ। अहिले वडा कार्यालयले बाल विवाह गर्दा हुने सजाय र स्वास्थ्यमा पर्ने असरका बारेमा सचेतना तीव्र पारेको छ।

बल विवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै विवाह गर्दा हुने भाजभतेरसमेत बहिस्कार गर्ने निर्णय वडा कार्यालयले गरेको छ। विवाह गर्दा पालिकाको सिफारिस अनिवार्य गरिएको सचिव रावतले बताए।

प्रकाशित: १२ फाल्गुन २०८० ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App