३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण

राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्।

गत माघको पहिलो हप्ता एक कार्यक्रममा सहभागी हुन आचार्य नेतृत्वमा मन्त्रालयको एउटा टोली भारतको उडिमामा पुगेको थियो। उक्त भ्रमणको विषयलाई लिएर साहले आचार्यलाई स्पष्टीकरण सोधेका हुन्। उक्त टोलीमा खाानेपानी मन्त्री महेन्द्र यादवले कर्मचारीको कोटामा आफ्नो छोरा सुनिल यादवलाई पनि विदेश भ्रमणमा पठाएका थिए। 

खानेपानी ढल निकास तथा सरसफाइ सम्बन्धी कार्यक्रममा सहभागी हुन सुनिल भारत तर्फ गएका हुन्। कार्यक्रम ४ दिन सम्म चलेको थियो। उक्त टोलीमा सहसचिव द्वय मिना श्रेष्ठ, अर्जुन गौतम पनि थिए। यसैगरी खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठ पनि उक्त टोलीमा सहभागी थिए।

उडिसा जाने टोलीमा मन्त्रालयका उपसचिव द्वय रवीन्द्र पोखरेल र रितेश झा पनि थिए।  युन एन ह्याविट्यासको आयोजनामा मन्त्रालयको टोली विदेश भ्रमणमा गएको थियो। मन्त्रालय स्रोतका अनुसार सुरुमा मन्त्रीको छोराको नाम विदेश भ्रमण टोलीमा थिएन। पछि मन्त्रीले आफै आयोजकलाई टेलिफोन गरी आग्रह गरे पछि सुनिलको नाम युएन ह्याविट्यासले राखेको थियो। सुनिल खानेपानी मन्त्री यादवका स्वकीय उपसचिव पनि हुन्।

आचार्यलाई सोधिएको स्पष्टीकरणमा विदेश भ्रमण गर्नु अघि मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको विषयमा प्रष्ट पार्न भनिएको छ। यसैगरी कुन राहदानी प्रयोग गरेर विदेश भ्रमण गर्न गएको भनी आचार्यलाई प्रश्न गरिएको छ। आचार्यले बिदा स्वीकृति गराएर विदेश भ्रमणमा गएका थिए।

मन्त्रीले छोरालाई विदेश पठाउने निर्णय राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन विपरीत थियो। केन्द्रले केही दिन अघि मात्र सबै मन्त्रालयलाई परिपत्र गरी विदेश भ्रमण गर्ने टोलीमा मन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवलाई नराख्न परिपत्र गरेको थियो। कर्मचारीको कोटामा मन्त्रीका स्वकीय सचिव, सल्लाहकारहरू विदेश जान थाले पछि यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो। विदेश भ्रमणमा कडाइ गर्न केन्द्रले सबै मन्त्रालयलाई गत पुसको अन्तिम साता परिपत्र गरेको थियो।

प्रकाशित: ११ फाल्गुन २०८० २०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App