१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चन्दननाथका कान्छा पुजारी रमेश भन्छन्,‘भक्तजनको आदरले उत्साहित हुन्छु’

जुम्लाको हिमा गाउँपालिका–४ सिम्तोलीका २४ वर्षीय रमेश न्यौपाने कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य पुजारी छन्। उनी अहिलेसम्मकै उमेरले कान्छा पुजारी हुन्।

उनी १७ वर्षको कलिलो उमेरमै मन्दिरको पुजारी बनेका थिए। २०७३ सालमा एसइईको तयारीका लागि सदरमुकाम खलङ्गा आएका न्यौपाने २०७५ सालदेखि निरन्तर चन्दननाथको मुख्य पुजारीको रूपमा काम गर्दै आएका छन्। 

सुरुमा मन्दिरमा गाईबस्तु चराउने र जल ल्याउने काम गरिरहेका रमेशलाई त्यति बेलाका मुख्य पुजारी नवराज अधिकारीले मन्दिरमा पूजाआजा गर्न सिकाएका थिए।

‘पुजारी भन्ने बित्तिकै पाका पुस्ताको हुनुपर्ने मान्यता छ। यस्तो अवस्थामा एक बालकलाई पुजारी बनाएर सिङ्गो मन्दिरको पूजा गर्ने जिम्मेवारी पाउनु चानचुने कुरो होइन,’ उनले भने, ‘सानै उमेरमा पुजारी बन्ने मौका पाएँ। मन्दिरको मुख्य मूर्ति दत्रातयको पूजा गरिरहेको छु।’ गुठी समितिले पनि मन्दिरको सुरक्षाको लागि सिसिटिभी जडान गर्नेदेखि प्रहरीको बिट राख्ने कार्य गरिदिएको छ।

जसले गर्दा पनि रमेश निर्धक्क भएर मन्दिरमा पूजा चलाइरहेका छन्। उनी अहिलेसम्मका पुजारीहरूमध्ये सबैभन्दा कान्छा हुन्। त्यसैले पनि उनी आकर्षणको केन्द्र बनेका हुन्। आन्तरिक तथा बाह्य पर्यटक, भक्तालुदेखि मन्दिरमा चासोका साथ कुरा गर्छन्। चन्दननाथमा पुजारीको रूपमा पहिलो अवसर त सन्न्यासी पाउने गर्छन्। उनीहरू नभएको खण्डमा विवाह नगरेका कुमारले पुजारीको काम गर्न पाउने मान्यता छ। त्यही अनुसार रमेश २०७५ मा चन्दननाथ मन्दिरका पुजारी बनेका हुन्। अहिले चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा गुरुकुल पाठशाला स्थापना गरेर पुजारी उत्पादन गर्न सुरु भएको छ। रमेशले पनि सुरुका केही दिन गुरुकुल पाठशालामा गएर पूजापाठको ज्ञान लिएका थिए।

२०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरमा मूर्ति चोरी भए। मन्दिरमा काम गर्ने जनशक्तिको अभाव थियो। पहिलेदेखि मन्दिर र धर्म कर्ममा विश्वास राख्ने उनले मन्दिरमै बसेर पढ्ने रहर गरे। उनले रहर मान्दैमा मन्दिरमा काम पाउने अवस्था थिएन। उनलाई पुजारी नवराज अधिकारीले मन्दिरमै राखेर काम लगाउन थाले।

घरमा हुँदा दैनिक पूजाआजामा व्यस्त रहने भएकोले मन्दिरमा आएर पूजापाठ गर्नु उनको लागि खासै नौलो थिएन। रमेश बिहान ३ बजे उठ्छन्। मूर्तिहरू नुहाई धुवाइ र मन्दिर सफाइ गरेर ५ बजे बिहानीको आरती पूजा गर्छन्। भक्तजनलाई टीका लगाउने, भण्डार पकाउने, बिहान १० बजे भोक लगाएर दिउँसोको आरती गर्छन्।

बेलुकी तीन बजे नुहाएर मन्दिर सफा गर्ने र बेलुकी ६ बजेदेखि पूजाआजामा व्यस्त हुन्छन्। कक्षा १२ सम्म पढेका उनी आफैले गुरुकुल शिक्षा पढेका थिए। चन्दननाथ मन्दिरको पुजारी भनेर सबैले सम्मान गर्छन्।

राराताल घुम्न जाने पर्यटकहरू मन्दिरमा आएर उनको हातबाट टिका लगाउने गर्छन्। उनी पनि यात्रा सफलताको कामना गर्दै आशिष् दिइरहेका हुन्छन्। परिवारले भने उनलाई पुजारी नहोस् भन्ने चाहन्थे। पटक–पटक घरमा जाँदा पुजारी नहुनु परिवारको दबाब झेलिरहनु पर्थ्यो।

उनले भने, ‘पुजारी भएको पाँच महिनापछि मात्र घरमा जानकारी दिए। परिवारबाट पुजारी छाडेर बिहे गरेर घरजममा बस्न दबाब छ।’ तर उनले मानिरहेका छैनन्। गुठी समितिले उनको पारिश्रमिक मासिक २१ हजार रुपैयाँ तोकेको छ। मन्दिरमा उठेको सबै रकम गुठी समितिको खातामा जम्मा हुने गरेको छ। हरेक पूजामा उनले विश्वको कल्याण होस्, देशमा शान्ति होस् भन्ने कामना गरिरहेका हुन्छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थहरू सबैले मन्दिरमा आएर आदर सम्मान गरेको देख्दा काम गर्न झनै उत्साहित हुने गरेको उनको अनुभव छ।

‘गुठी समितिले पुजारी बन्न पत्यायो। मैले पनि काम गर्न चाहे,’ पुजारी न्यौपानेले भने,‘मन्दिर धार्मिक स्थल हो। जहाज भक्तालु दर्शन गरिरहेका हुन्छन्। तर मन्दिर छेक्ने गरी बनाइएका संरचनाले शोभा हराएको छ।’ उनले कालिका मावि तलिकुडुमा माध्यमिक शिक्षा अध्ययन गरेका थिए। पुजारी न्यौपाने कर्णालीको धार्मिक पर्यटन प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउँछन्। गुठी समितिका कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यले रमेश चन्दननाथ मन्दिरमा अहिलेसम्मकै कान्छो पुजारी भएको बताए।

‘मन्दिरका मूर्तिदेखि आसपासमा रहेका सबै सम्पत्ति पुजारीकै जिम्मेवारीमा छन्,’ उनले भने, ‘अहिलेसम्म मन्दिरमा राम्रो काम गरेर मन्दिरको विश्वसनीयता बढाउने काम गर्नुभएको छ।’

प्रकाशित: ११ फाल्गुन २०८० १५:२५ शुक्रबार

रमेश न्यौपाने चन्दननाथ मन्दिर