२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्फ्युकाबीच ईशनाथमा सेलाइयो मूर्ति

फाइल तस्बिर

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती प्रतिमा सेलाइएपछि वातावरण शान्त बन्दै गएको छ। तीन दिनदेखि कर्फ्युका बिच बाटोमै छाडिएको सरस्वती प्रतिमालाई सोमवार विधिवत् रुपमा पोखरीमा सेलाइएको छ।

गत २ फागुनमा वसन्त पञ्चमीका दिन ईशनाथ नगरपालिका ७ स्थित घिउराटोलमा सरस्वती पूजा गरिएको थियो। पूजाको भोलिपल्ट ३ फागुनमा विसर्जन गर्नुपर्नेमा स्थानीयले गत शनिवार बाजागाजासहित सेलाउन जाँदा मानिसहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप भएको थियो। शनिवारदेखि स्थिति तनावग्रस्त हुँदा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो। आइतबार कर्फ्युलाई विस्तार गर्दै वडा नम्बर २ देखि ७ सम्म बढाइएको थियो।

विवादका बिच जिल्ला प्रशासन कार्यालय रौतहटले समस्याको समाधानको लागि निरन्तर पहल गरिरहेको थियो। ईशनाथको विवादले अन्यत्र पनि समस्या निम्तिन सक्ने कुरामा रौतहट प्रशासन अत्यन्त गम्भीर रहेको थियो। सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर सहमतिको पहल गर्दै सोमवार दिउँसो भएको सर्वपक्षीय सहमतिमा प्रतिमा सेलाउन दिने सहमति जुटेको थियो। सहमति भएपछि सोमवार दिउँसो सुरक्षाकर्मी तथा बुद्धिजीवीहरूको उपस्थितिमा मूर्ति सेलाइएको छ।

मूर्ति विसर्जन कार्यक्रममा संघीय सांसद किरण साह, नेपाल प्रहरीका डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेस प्रदेश प्रमुख संजय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सांसद जैद राजासहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

मूर्ति विसर्जन भए पनि ईशनाथको छ ओटा वडामा लगाइएको कर्फ्यु नहटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन्। मूर्ति विसर्जनसँगै इशनाथ नगरपालिकाको वातावरण शान्तिपूर्ण हुँदै गएको छ। 

प्रकाशित: ७ फाल्गुन २०८० १९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App