७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बौद्ध सम्पदामा ल्हारक्यालको मनपरीतन्त्र

फाइल तस्बिर

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ। उपाध्यक्ष लामामाथि लुम्बिनीस्थित बौद्ध सम्पदाको संरक्षण गर्नुको साटो अस्तित्व नै संकटमा पार्न उद्यत् रहेको आरोप छ।

उपाध्यक्ष नियुक्त भएलगत्तै उनले गरेका निर्णय र गतिविधि विवादास्पद बनेका छन्। शक्तिको आडमा लामाले कोषका कर्मचारी र बोर्डका सदस्यलाई समेत प्रभावमा पारेर विवादास्पद निर्णय र काम गरिरहेको स्रोतको दाबी छ।  

उनले लुम्बिनीमा विभिन्न संरचना निर्माण गर्ने, मायादेवी मन्दिरको डिजाइन परिवर्तन गरी गुम्बा बनाउने, बुद्धको अस्थि धातु रहेको रामग्राम स्तुप क्षेत्र प्रतिस्पर्धाबिनै निजी कम्पनीलाई लिजमा दिन सैद्धान्तिक सहमति गर्नेजस्ता विवादास्पद निर्णय गरेका छन्।

गत साउनमा उपाध्यक्ष नियुक्त भएलगत्तै लामाले पहिलो बैठकमै कोषको सम्पर्क कार्यालय काठमाडौं राख्ने प्रस्ताव ल्याएका थिए। तर चौतर्फी विरोध भएपछि उनी पछि हट्न बाध्य भए। उनले भदौ २४ गतेको बैठकबाट बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर, बुद्ध जन्मस्थलको मुख्य चिनारी माायादेवी मन्दिरको डिजाइन परिवर्तन गरी गुम्बा बनाउने निर्णय गरेका थिए।

उनले मायादेवी मन्दिरको पुनः डिजाइनका लागि अन्तर्राष्ट्रिय जगत्सँग चन्दा उठाउने बताउँदै आएका छन्। मन्दिरको पुनः डिजाइनका लागि आफूले सात करोड रूपैयाँ चन्दा दिने प्रतिबद्धता गरेका उनले त्यसको स्रोत भने खुलाएका छैनन्।

स्थानीय तथा सरोकारवालाले मायादेवीको मन्दिर लुम्बिनीको मुख्य चिनारी भएकाले यसको जिर्णोद्धार आवश्यक भए पनि स्वरूपमै परिर्वतन हुनेगरी पुनः डिजाइन गर्न नहुने तर्क राख्दै आएका छन्। पुनः डिजाइनको प्रस्ताव विमति राख्ने कोषका एक सदस्यलाई उनले कारबाहीको पत्र थमाइदिए।

‘मायादेवी मन्दिरको पुनः डिजाइन गर्दा अहिलेको मौलिकता गुम्ने र त्यहाँका पुरातात्विक सम्पदा नासिने, हराउने खतरा छ,’ कोषका एक अधिकारीले भने, ‘कोषमा लामाको मनोमानी छ। जुन सर्तमा उनलाई उपाध्यक्ष बनाइयो त्यही सर्त पूरा गर्नु नै उनको मुख्य उद्देश्य होला।’

मायादेवी मन्दिरको पुनः डिजाइन प्रस्तावको विरोध भएपछि लामाले यसका लागि विज्ञ टोली छनौट गरी प्रारम्भिक प्रस्ताव तयार पार्ने काम अगाडि बढाएका छन्। लामाले विश्व सम्पदा क्षेत्रभित्र गुरुयोजनाविपरीतका कामलाई पनि तीव्रता दिइरहेका छन्। मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्ने संरचना (सेड) बनाइँदै छ।

मन्दिरको मुख्य प्रवेशद्वारको पश्चिमतिर दियो बाल्ने सेड निर्माण गरिएको छ। कपिलवस्तुको कुदान क्षेत्रमा पुरातत्व विभागको अनुमति नलिईकन आरसिसी संरचनामा गेट निर्माण भइरहेको छ। शाक्यहरूको नरसंहारस्थल सगरहवामा पनि मूर्ति कार्यशाला गर्दै पत्थरका मूर्तिहरू निर्माण गरिएको छ।

पुस २३ देखि माघ ८ गतेसम्म राष्ट्रिय स्तरका मूर्तिकारहरू जम्मा गरेर सगरहवामा ढुंगामा मूर्ति कुँदिएको छ। पुरातात्विक सम्पदामा असर पर्नेगरी मूर्ति कार्यशाला गरिएको भन्दै पुरातत्व विभागले आपत्ति जनाइसकेको छ।

यसैगरी उपाध्यक्ष लामाले नवलपरासीस्थित बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुप क्षेत्र प्रतिपर्धाबिनै एउटा निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिन समझदारी (एमओयु) गरेका छन्। मंसिर २६ गतै रामग्राममा आयोजित कार्यक्रममा सम्पदा क्षेत्र निजी कम्पनीलाइ लिजमा दिने गरी समझदारी भएको सार्वजनिक गरेका थिए।

प्रतिस्पर्धाबिनै सिंगापुरमा कार्यालय रहेको मोक्ष फाउन्डेसनले स्रोत जुटाउने र प्रमिस्ड ल्यान्डले व्यवस्थापन गर्ने गरी रामग्राम स्तुप क्षेत्र लिजमा दिने समझदारी भएको उनले बताएका थिए। कोषको बैठकले असोजमै समझदारी गर्ने निर्णय लिएको थियो।

अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा पुगेको छ। लेखा समितिले कोषसँग आवश्यक कागजात मागेको छ। विवादमा तानिएपछि उपाध्यक्ष लामाले विज्ञप्ति निकालेर चोखिने प्रयास गरेका छन्। निजी कम्पनीलाई लिजमा दिने सम्झौता नगरिएको तर रामग्रामको विकास र संरक्षणमा यस्ता काम गर्न सकिन्छ है भनेर समझदारी मात्र भएको विज्ञप्तिमा उल्लेख छ।

तर कोषका सदस्यसचिव सानुराजा शाक्यले रामग्राम विकास र संरक्षणका लागि निजी कम्पनीलाई लिजमा दिन बोर्डकै निर्देशनमा समझदारी भएको बताए। उनले असोज २९ गते उक्त समझदारीपत्रमा हस्ताक्षर भएको बताए। ‘समझदारी भएको हो, लिजमा दिइहाल्ने निर्णय भएको हैन,’ शाक्यले भने, ‘सम्बन्धित कम्पनीले आवश्यक सर्त पूरा गर्न नसके सम्झौता गर्न सकिँदैन।’

कोष र प्रमिस्ड ल्यान्डबीच भएको समझदारीपत्रमा दूरदर्शी परियोजनाका नाममा हाल संरक्षित जमिन ४ बिघा ५ कट्ठा र स्थानीयको थप ११६ बिघा अधिग्रहण गरी १२० बिघा लिजमा दिने उल्लेख छ। समझदारीपत्रमा गुरुयोजना निर्माणसँगै रामग्रामका नाममा भएको आम्दानीको २० प्रतिशत संंरचना मर्मत र संरक्षणमा प्रमिस्ड ल्यान्डले पाउने पनि भनिएको छ।

समझदरीअनुरूप जग्गा अधिग्रहणसहित परियोजनाका लागि झन्डै ७ अर्ब रूपैयाँ लाग्ने बताइएको छ। मोक्षले सम्पदा क्षेत्रका नाममा अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग जुटाउने बताइएको छ।

निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी

बौद्ध सम्पदामा लुट मच्याउन प्रतिस्पर्धाबिनै रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिन गरिएको समझदारीपत्रको रामग्रामका स्थानीय र सरोकावालाले विरोध गरेका छन्। कोषले समझदारीपत्र रद्द नगरे आन्दोलनमा उत्रिने चेतावनी रामग्रामवासीले दिएका छन्।

पुरातात्विक सम्पदाहरूको संरक्षण र विकास सरकारी निकायबाटै गरिनुपर्ने माग उनीहरूको छ। ‘निजी कम्पनीलाई लिजमा दिएर पुरातात्विक स्थलको अस्तिव नामेट पार्न खोजिएको छ, जुन कुरा स्वीकार्य छैन,’ रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले भने।

रामग्राम– ७, उजैनीका रामानन्द कोइरीले रामग्रामको विकास र संरक्षण सरकारी स्तरबाटै गरिनुपर्ने बताए। ‘निजी कम्पनीलाइ ९९ वर्षका लागि लिजमा दिएर अमूल्य सम्पदामाथि लुट मच्याउने र स्थानीयको घरजग्गा हडप्ने योजना सफल हुन दिँदैनौं,’ उनले भने।

रामग्राम स्तुप

रामग्राम बुद्धको अस्थिधातु राखिएका आठ स्थानमध्ये एक भएको बुद्धग्रन्थहरूमा उल्लेख छ। नवलपरासी सदरमुकामबाट तीन किलोमिटर दक्षिण–पूर्वको उजैनी गाँउ नजिकै झरही खोलाको किनारमा रामग्राम स्तुप छ। समथर जमिनमा माटोको थुम्को छ। 

सोही स्तुपलाई अहिले ४ बिगाह जमिनसहित चारैतिरबाट संरक्षण गरेर राखिएको छ। बुद्धदर्शनका अध्येताका अनुसार बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि कोलियहरू कुशीनगर पुगेको र तीनैले बुद्धको अस्थि ल्याएर उजैनी गाउँ नजिकै खोला किनारमा गाडेर स्तुप बनाएका हुन्।

प्रकाशित: २९ माघ २०८० ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App