३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘अन्तर्वार्ताको तालिका नआएसम्म आन्दोलन स्थगित हुँदैन’

वीपी प्रतिष्ठानका आन्दोलनरत शिक्षकहरुलाई सम्बोधन गर्दै शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान। तस्बि: रोहित/नागरिक

उच्च अदालतको आदेश पछि बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले अपिल जारी गर्दै तत्काल कार्यकारिणी समितिको बैठक बसेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

उच्च अदालतले अवरुद्ध भएको बढुवा प्रक्रियाबारे मार्गनिर्देशन गरेको भन्दै का.मु. उपकुलपति कार्कीले आन्दोलनरत शिक्षक, कर्मचारीहरुलाई काममा फर्किएर अस्पताल सेवा र पठनपाठन सुचारु गर्न पनि अपिल गरेका छन्।

का.मु.उपकुलपति कार्कीले कार्यकारिणी समिति (का.स.) बैठक बसेर बढुवा प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए पनि आन्दोलनरत शिक्षक, कर्मचारीहरुले भने उनीप्रति अविश्वास प्रकट गरेका छन्।

विगतमा पनि पटक पटक सम्झौता गरेर पालना नगरेको कारण पुर्णरुपमा विश्वास गर्ने अवस्था नभइसकेको भन्दै शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिले आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

बाँकी रहेको अन्तर्वार्ताको तालिका कार्यकारिणी समितिको बैठकबाट स्वीकृत भएपछि मात्र भद्र अवज्ञा आन्दोलन स्थगित गर्ने निर्णय भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए।

‘का.मु.उपकुलपतिको अपिल पढ्यौं, त्यहाँ तत्काल का.स.बैठक बसेर प्रक्रिया अघि बढाउने भन्ने छ। तर तत्काल भनेको कहिले हो ?’ उनले भने, ‘विगतमा पनि आफैले पटक पटक सहमति गरेर लागु भएन। अब पनि विश्वास गर्ने अवस्था छैन। त्यसैले अन्तर्वार्ताको तालिका नआएसम्म आन्दोलन स्थगित हुँदैन।’

उपकुलपति कार्कीले अपिल जारी गरेपछि शिक्षक र कर्मचारी कल्याण समाजको छुट्टाछुट्टै बैठक बसेको थियो। उपकुलपतिको अपिललाई स्वीकार गर्ने कि नगर्ने भन्नेबारे शिक्षक र कर्मचारीहरुबीच अलग धारणा बनेको थियो।

शिक्षकहरु अन्तर्वार्ताको तालिका नआएसम्म काममा नफर्कने निर्णयमा पुगेका थिए भने कर्मचारीहरु का.स.बैठक बस्न ४८ घण्टाको अल्टिमेटम दिएर काममा फर्कने निधोमा पुगेका थिए। तर, छुट्टा छुट्टै बैठक पछि संयुक्त संघर्ष समितिको स्टेरिङ कमिटी बैठकबाट भने दुवै समाज तत्काल आन्दोलन स्थगित गर्न नहुने निष्कर्षमा पुगेको थियो।

बैठक पछि संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उच्च अदालतबाट आएको आदेशको सम्मान गर्न उक्त निर्णयमा पुगेको जनाएको छ।

‘शिक्षक, कर्मचारीहरुको जायज माग पुरा गराउनको लागि भएको भद्र अवज्ञा कार्यमा संलग्न कोही कसैलाई पुर्वग्राह राखी कुनै पनि कारबाही नगर्ने, नगराउने प्रतिबद्धता व्यवस्थापनबाट आउनुपर्ने माग गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो माग पुर्णरुपमा सम्बोधन नगरी पहिला जस्तै अलमल्याउने प्रयास भएको खण्डमा यसभन्दा कडारुपमा प्रस्तुत हुने निर्णयमा पुगेको ब्यहोरासमेत जानकारी गराउन चाहन्छौँ।’

प्रतिष्ठानले २०७९ माघ २० र २५ गते आन्तरिक बढुवाको विज्ञापन प्रकाशित गरि अन्तर्वार्ता समेत सुरु गरेको थियो। करिब ८ महिनाअघि प्रतिष्ठानको का.मु. उपकुलपतिमा नियुक्त भएर कार्की आएपछि बढुवा प्रक्रिया रोकेका थिए। 

बढुवा प्रक्रिया अघि बढाउन शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलनसमेत गरेका थिए। डा.कार्की आफैले लिखित सहमति गरेपनि पालना गर्नबाट पछि हटेका थिए। 

पछिल्लो समय पनि पुस २ गतेदेखि १५ गतेभित्र अन्तर्वार्ता सुचारु गर्ने लिखित सहमति गरेर पालना नगरेपछि शिक्षक, कर्मचारीहरु गत पुस २९ गतेदेखि आन्दोलनमा उत्रँदा पठनपाठन ठप्प पारेका छन् भने उपचार सेवा पनि प्रभावित भएको छ।

का.मु. उपकुलपति कार्कीकै डिजाइनमा उच्च अदालतमा बढुवा प्रक्रिया विरुद्ध मुद्दासमेत दायर भएको आन्दोलनरत पक्षको आरोप छ। उक्त मुद्दामा पहिलो पटक सुनुवाइ हुँदा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।

तर, बुधबार भएको सुनुवाइपछि अदालतले आन्तरिक बढुवा प्रक्रिया कानुन बमोजिम भएको ठहर गर्दे अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेपछि बढुवा प्रक्रिया सुचारु गर्ने बाटो खुलेको छ। 

तर, अन्तर्वार्ताको मिति तोकिनुपर्ने माग राखेर शिक्षक, कर्मचारीहरुको आन्दोलन भने जारी नै छै। पठनपाठन ठप्प हुँदा मारमा परेका विद्यार्थीहरु पनि गत एक सातादेखि पढाई सुचारु हुनुपर्ने माग लिएर रिले अनसनमा छन्।

प्रकाशित: २५ माघ २०८० २०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App