२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपक्षी ढुवानी व्यवसायीद्वारा होल्डिङ सेन्टरको माग

नेपाल पशुपक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सरोकारवालासँग माग गरेका छन्। पूर्व पश्चिम राजमार्गमा आठ÷आठ घण्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन माग गरेका हुन्।

एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याण सम्बन्धी सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रममा उनीहरूले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउनको लागि ठाउँ ठाउँमा होल्डिङ सेन्टरको आवश्यक पर्ने बताएका छन्। नेपाल पशुपक्षी जन्य व्यवसायी सङ्घका महासचिव किशोर प्रसाद शर्माले राँगा, भैँसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताए।

पशु ढुवानी गर्दा आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा  गन्तव्यमा पुराउन कठिन भएको उनको भनाई छ। नेपालमा पाँच स्थानमा पशुक्वारेन्ट टाइन भएपनि होल्डिङ सेन्टर छैन।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ। पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको त्यति चासो देखिँदैन। पशु ढुवानी व्यवसायी वैकुण्ठ बलामिले पशु ढुवानीको मापदण्ड पुरा गर्नका लागि भौतिक संरचनामा सुधार गर्नुपर्ने बताए। उनले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएको समेत बताए।

नेपालगञ्ज, बर्दघाट, लुम्बिनी, जितपुर, बारा, धनुषा लगायतका क्षेत्रमा चितवन हुँदै रागाँभैसी राजधानी भित्रने गर्दछन्। व्यवसायीले रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउनका लागि होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन्।

चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि तीन करोड ८० लाख समेत विनियोजन गरिएको थियो। तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेनटाइन चितवनका प्रमुख शिरिस गौतमले जानकारी दिए। होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले दुई लाख ४० हजार रुपैयाँ बजेट यस बर्षपनि विनियोजन गरेको उनले बताए। तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने डर रहेको उनले बताए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पशु ढुवानी मापदण्ड अनुसार गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। अधिकारीले स्थानीय तहबाट पनि केही कमीकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिएका छन्। व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशु सम्बन्धी मापदण्ड कार्यान्वयन गर्न अनुरोध गरेका छन्। एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताएकी छिन्। उनले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताइन्। हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्छ। तर भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिन्छ। सरकारको मापदण्ड पुरा पालना नभए पनि न्यूनतम मापदण्ड पालन गर्न उनले माग गरिन्। 

प्रकाशित: १७ माघ २०८० १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App