३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विविधताको धनी पर्यटनप्रेमी रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्। यसको प्रशासनिक केन्द्र कोल्बुङमा छ। यसको क्षेत्रफल १५५.०६ वर्गकिलोमिटर छ। गाउँपालिकाको पूर्वमा भारत, पश्चिममा सूर्योदय नगरपालिका, उत्तरमा सूर्योदय नगरपालिका तथा दक्षिणमा झापा जिल्ला पर्छन्।

यो क्षेत्र भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा समेत विविधता बोकेको गाउँपालिका हो। रोङ गाउँपालिको नामकरण सम्बन्धमा रहेको धारणाअनुसार यो क्षेत्र आदिकालदेखि लेप्चा/लाप्चा जातिको मौलिक थलोका रूपमा थियो। नेपाल एकीकरण हुनुअघि यस क्षेत्रको शासन प्रणालीमा यिनै लाप्चा जातिको महत्त्वपूर्ण भूमिका थियो।  

वर्तमान सन्दर्भमा राज्य पुनर्संरचनाक्रममा यस क्षेत्रमा आदिकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको नामबाट यस जातिको ऐतिहासिक थातथलो भएकाले यस गाउँपालिका क्षेत्रलाई रोङ नामकरण गरिएको हो।

वास्तविक लेप्चा भाषामा लेप्चाको भाषा तथा लिपिलाई नै रोङ भनिन्छ।  २०७८ सालको जनगणनाअनुसार गाउँपालिकाको कुल जनसंख्या १७ हजार ३ सय ६७ छ। रोङमा लोपोन्मुख लेप्चासहति ब्राह्मण/क्षेत्री, राई, लिम्बू, मगर, तामाङ, गरुङ, विश्वकर्मा, दर्जी, सार्की, भुजेल/खवास, सुनुवार/मुखिया र सन्यासीलगायतको बसबोबास छ।

रोङ विभिन्न पर्यटकीयस्थलका कारण चर्चित छ। यहाँको पाथीभरा मन्दिरमा बर्सेनि हजारौं पर्यटक आउँछन्। कन्याम र अन्य पर्यटकीयस्थल नजिकै पर्ने भएकाले रोङ पर्यटनमा अग्रणी छ।

झापाको बाटो भएर इलाम जिल्ला छिर्ने मेची राजमार्गको प्रवेशद्वार नै रोङमा पर्ने भएकाले इलाम आउने धेरैजसो पर्यटक सुरुमै रोङ आइपुग्छन्। भारतीय सीमासँग समेत जोडिएकाले रोङ गाउँपालिका पर्यटनमा अगुवा बनेको छ।

हर्कटे बजार पनि अर्काे पर्यटकीय गन्तव्य हो। धेरै जातका अर्किड (सुनाखरी) पाइने गाउँका रूपमा पनि रोङको कोल्बुङ चर्चित छ।

रोङलाई अहिले ग्रामीण पर्यटनको केन्द्र बनाउन प्रयास भइरहेको छ। यहाँका हाँसपोखरीबाट सुरु हुने करसोङ पदमार्ग दर्जनभन्दा बढी महत्वपूर्ण पर्यटकीयस्थल हुँदै भारतसम्म छुन्छ।

प्राकृतिक हिसाबले सुन्दर, हराभरा, तराईसँगै जोडिएको भू–भागको चिसो हावापानी, ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको संगमका रूपमा विकास भइरहेको छ यतिबेला करसोङ पदमार्ग।

तराई र भारतीय सीमाबाटसमेत नजिक पर्ने भएकाले करसोङ पदमार्गलाई प्रचुर सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ।

रोङ गाउँपालिकाको हासपोखरीस्थित मेची राजमार्गको खण्डबाट नेपाल–भारत सीमा मेचीखोलासम्मको २९ किलोमिटर पदमार्गमा पूर्वाधार धमाधम विकास भइरहेको छ। यो पदमार्गका २० स्थानलाई महत्वका साथ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन स्थानीय जागरुक भएका छन्। 

प्रकाशित: १२ माघ २०८० ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App