६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

ईर्खु (सिन्धुपाल्चोक)- भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्।

टहरोभित्रै चुहिने हिउँदे शीत र बर्खे झरीमा रुझ्दै पढ्न बाध्य विद्यार्थी चिटिक्क भवन पाउँदा मख्ख छन्। घामपानीबाट, शीत र झरीबाट छुटकारा पाउँदा उनीहरु त्योभन्दा बढी खुशी देखिए । स्थानीय अभिभावकको सक्रियता र चन्दामा बनेको विद्यालय भवन भूकम्पले ढालेको थियो ।

       भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत जिल्ला शिक्षा कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाइ र दाताको सहयोगमा दुई तले चारकोठे विद्यालय भवन बनेको हो । ‘अब ढुक्कले पढ्न पाउने भयौँ,’ विद्यार्थी अञ्जली तामाङले भनिन्, ‘घामपानी, झरी र हावाहुरीबाट डर नहुने भो ।’

       विद्यालयको २१ औँ वार्षिकोत्सवको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले नवनिर्मित भवनको उद्घाटन गरे । समयमै निर्माण सकेर पुनर्निर्माणमा सघाएको भन्दै उनले विद्यालय र व्यवस्थापन समितिलाई धन्यवाद थिए ।

       विद्यालयका प्रधानाध्यापक जनकराज गिरीले झण्डै ६८ लाख रुपैयाँ लागतमा भवन पुनर्निर्माण भएको बताए। उनका अनुसार आयोजना कार्यान्वयन इकाइले भवन निर्माणका लागि ६० लाख २८ हजार रुपैयाँ बजेट छुट्याएका थियो । ललितपुरका दाता श्यामकाजी अवालेले ६ लाख ६६ हजार रुपैयाँ बराबरको विद्यालय भवनमा प्रयोग भएका ४३ हजार ७ सय ईँटा सहयोग गरेका थिए।

       अपांगमैत्री रहेको उक्त विद्यालय भवन जिल्लामा सरकारी लगानीमा भूकम्पपछि पुनर्निमाण भएको पहिलो सामुदायीक शैक्षिक संस्था हो । भूकम्पमा जिल्लाका ५ भन्दाबढी सामुदायिक विद्यालय क्षतिग्रस्त भएका थिए । नयाँ भवन पाएको खुशीमा उक्त विद्यालयमा अध्ययनरत १ सय १९ विद्यार्थी, अभिभावक र शिक्षकले यो पटकको वार्षिकोत्सव भव्य ढंगले मनाए।

नागरिककर्मी  दंगाल सम्मानित

       विद्यालयको वार्षिकोत्सवका सिन्धुपाल्चोकस्थित नागरिक सम्वाददाता ध्रुव दङ्गाल सम्मानित भएका छन्। शैक्षिक क्षेत्रको विकास र विद्यालयको पक्की संरचना निर्माणमा सामाचार लेखेर सहयोग पुर्याएको भन्दै उनलाई सम्मानित गरिएको हो ।

       चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले दङ्गाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । अभिभावकले कच्ची संरचनाबाट सञ्चालनमा ल्याएको उक्त विद्यालय २०६६ को बर्खामा भत्किएको थियो। विद्यार्थी खुला आकासमूनि पढिरहेको विषयमा दङ्गालले समाचार लेखेपछि विद्यालयको पक्की भवनको जग बसेको थियो।

कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणलाई सघाउने क्रममा विद्यालय भवनको निर्माणका लागि पौने ७ लाख बराबरको इँटा सहयोग गर्ने दाता श्यामकाजी अवाले, आर्थिक सहयोग गर्ने रामकृष्ण दङ्गाल लगायतलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७४ ११:२३ मंगलबार

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग