५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धेरै यात्रु चढाउने हतारले दुर्घटना जोखिम

फाइल तस्बिर

केही दिन अघि तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो। भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट कक्षा ३ मा अध्ययनरत उत्तम चौधरीको घटनास्थलमै मृत्यु भयो। विद्यालय क्षेत्रमा भएको यो दुर्घटना बसको अधिक गतिका कारण निम्तिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लका अनुसार यो दुर्घटनाको कारण तीव्र गतिका कारण भएको हो। प्रहरीका अनुसार घोराही सम्म आउँदै गरेको उक्त बस यात्रु खोस्नका लागि तीव्र गतिमा थियो। उक्त बस भन्दा अगाडी अर्को बस थियो। अगाडीको बसलाई छिचोलेर यात्रुहरू चढाउनका लागि पछाडिको बसका चालकले बसको गति बढाए। तर तीव्र गतिमा रहेको बसले विद्यार्थीलाई ठक्कर दिन पुग्यो। ‘अगाडी रहेको बसलाई उछिनेर यात्रुहरू खोस्नका लागि चालकले बसको गति बढाए,’ डिएसपी मल्लले भने ‘तर सडकमा हिँडिरहेका विद्यार्थीलाई बसले ठक्कर दिन पुग्यो।’

यो घटना मात्रै हैन, जिल्लामा हुने अधिकांश बस दुर्घटनाको कारण भनेकै यात्रु खोसाखोस गर्ने होड हो। अझ बिशेषगरि स्थानीय रुटमा चल्ने यात्रुवाहक बसहरूको यो प्रतिस्पर्धाले यात्रु सँगै पैदल यात्रुहरूलाई ज्यानको जोखिममा पारिरहेका हुन्छन्। ‘जिल्लाको दुर्घटनाको अवस्था हेर्ने हो भने यात्रु कसरी चाँडै चढाउने भन्ने प्रतिस्पर्धाका कारण हो,’ डिएसपी मल्लले भने ‘यात्रु चढाउने होडका कारण ओभरटेक गर्ने प्रतिस्पर्धा चल्छ, अनि तीव्र गतिका कारण दुर्घटना भइरहेका छन्।’

स्थानीय रुटमा चल्ने सवारी साधनहरू पालैपालो छुट्ने गरी क्यू सिस्टम लागू गरिएको छ। तर अघि छुटेको बस भन्दा पछि छुटेको बस यात्रु खोस्न तीव्र गतिमा कुदेर ओभरटेक गर्ने प्रवृत्ति जिल्लामा अधिक देखिन्छ। ‘क्यू सिस्टम त छ तर बस छुटेपछि बाटोमा ओभरटेक गरेर यात्रु खोस्ने प्रवृत्ति अधिक छ,’ डिएसपी मल्लले भने ‘यसको नियमन अधिक जरुरी छ।’ त्यसो त,सडकमा सवारी साधनको चाप बढिरहेको छ, तर सडकको चौडाइ भने बढेको छैन। अनि यिनै साँघुरा सडकमा बढ्ने सवारी साधनको तीव्र गति दुर्घटनाको अधिक जोखिम बनिरहेको प्रहरी बताउँछ।

गति नियन्त्रण नै दुर्घटना न्यूनीकरणको प्रमुख उपाय रहेको भन्दै जिल्लामा टाईमकार्ड लागु गर्ने निर्णय समेत भएको छ। टाईमकार्ड लागु भएपछि गति नियन्त्रण हुने र दुर्घटना न्यूनीकरण हुने प्रहरीको आङ्कलन छ। टाईमकार्ड लागु गर्ने निर्णय भए पनि यसको कार्यान्वयन भने अहिले सम्म हुन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइम कार्ड लागु गर्ने खाका बनेको र यो खाकाका विषयमा यातायात व्यवसायिहरुसंग छलफल गरेर अन्तिम रूप दिने तयारी भइरहेको छ।

‘टाईमकार्ड कसरी लागु गर्ने भनेर सामान्य खाका बनाएका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक किरण मल्लले भने ‘अब यातायात व्यवसायिहरुसंग बसेर यसलाई अन्तिम रूप दिने छौँ।’ उनका अनुसार यातायातका साधनहरूको अधिकतम गति अनि चेकजाँचको प्रबन्ध कसरी मिलाउने भन्ने सम्बन्धमा अन्तिम निर्णय हुन बाँकी रहेको र यो टुङ्गिए लगत्तै टाइमकार्ड लागु हुने उनले बताए।

जिल्लामा गत साउन देखि अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने झन्डै १ सय सवारी दुर्घटना भएका छन् भने ४० भन्दा बढीको मृत्यु भएको छ।     

प्रकाशित: ४ माघ २०८० १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App