दक्षिण एसियाकै लामो मानिएको बैतडीको पाताल भुवनेश्वर गुफा प्रचारप्रसार र उचित संरक्षणको अभावमा ओझेलमा छ। गुफाको संरक्षण र प्रचार प्रचारमा स्थानीय सरकार पनि उदासीन देखिएको छ।
यसको लम्बाईबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन। दुईपटक गुफा विशेषज्ञको टोलीले यसको लम्बाइ लिने प्रयास गरे पनि लम्बाई पत्ता लाग्न नसकेको हो।
गत आइतबार बेलायतका गुफा विशेषज्ञ पिटर एलिसन उनका सहयोगी बाङ्लादेशका आरिफ गोइया र स्थानीयहरु गरेर ५ जनाको टोली गुफाभित्र पसेकाे थियो। करिब डेढ किलोमिटरसम्म पुगेको टोली साँघुरो भएपछि फर्कियाे।
पानीको भेलले गुफाभित्र लगेको पातपतिंगर र माटोका कारण अन्तिम बिन्दुसम्म पुग्न नसकेको टोलीमा संलग्न कैलाश चन्दले बताए। यसअघि फ्रान्सेली गुफा विशेषज्ञको टोली पुगेको ठाउँभन्दा थप गहिराइमा याे टोली पुगेको गुफाका बारेमा स्थानीय जानकार कैलाश चन्दले बताए।
गुफाभित्र पसेका बेलायती गुफा विशेषज्ञ पिटर एलिसनले गुफाको गहिराई धेरै रहेको हुन सक्ने आँकल गरे। गुफाको अन्तिम बिन्दु पत्ता लगाउन त्यति सजिलो नभएको उनले बताए।
२०७२ सालमा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले ८ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भूमेश्वर गुफाको गहिराइ १ सय ६० मिटर रहेको ठम्याएको थियो। ८ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीकाे अभावमा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो। युट्युबबाट जानकारी पाएर बेलायती गुफा विशेषज्ञ एक जना बङ्गलादेशी सहयोगीसहित बैतडी आएका थिए।
धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको पाताल भुवनेश्वर धाम यहाँ मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत रहेको छ। पाताल भुवनेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न र धार्मिक पर्यटनलाई ग्रामीण अर्थतन्त्रसँग जोड्दै अघि बढ्ने योजना रहेको गाउँपालिका अध्यक्ष अम्म्रबहादुर कुँवरले बताए।
गुफाको अध्ययन अनुसन्धान नहुँदा यसको गहिराइ र लम्बाइ अझै यकिन पत्ता लागेको छैन। जंगलको मध्य भागमा लोभलाग्दो रमणीय ठाउँ भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ।
धार्मिक पर्यटनको सम्भावना भए पनि यसको संरक्षण हुन सकेको छैन। सरोकारवाला निकायको बेवास्ताले भौतिक संरचना र यसको विकास हुन नसकेको स्थानीय बताउँछन्। केही वर्ष अघि प्रवासमा रहेका स्थानीयले चन्दा संकलन गरी पाताल भुवनेश्वर जाने बाटोमा प्रवेशद्वार निर्माण गरेका थिए। सरोकार निकायले यसको विकासको लागि पहल नगर्दा ओझेलमा परेको स्थानीय नवराज धामीले बताए।
महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिँड्दा यस स्थानमा सतीदेवीको पैतला खसेकोले यसको नाम ‘पाताल भुवनेश्वर’ गुफा रहेको किंवदन्ती छ। पाताल भुवनेश्वर गुफा यहाँदेखि कैलाश पर्वतसम्म रहेको धार्मिक विश्वास छ। प्राचिनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ।
यसको पहिचान त्रेता युगमा अयोध्याका राजा रितुवर्णले गरेको किंवदन्ती प्रचलित छ। यो गुफाको द्वार सानो भए पनि भित्र पस्दा फैलिएको छ। यसको बाहिर माथिल्लो भागमा एउटा ताल रहेको छ। जुन सधैँ पानीले भरिभराउ हुन्छ। जस्तो सुकै खडेरीमा पनि तालको पानी नसुक्ने स्थानीय बताउँछन्।
दशरथचन्द राजमार्गको सिउँडेबाट एक किलोमिटर करिब २० मिनेटको पैदल दुरीमा पाताल भुवनेश्वर गुफा पुगिन्छ। गुफा वरिपरि विभिन्न तालतलैयाहरु, भगवान् शिवको मूर्ति र विभिन्न साना-ठुला गुफा छन्।
गुफा परिसरमै शिवको मन्दिरमा विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यक्रम हुने गरेका छन्। ‘पातालभूवनेश्वर’ गुफाको माथिल्लो भागबाट रौलाकेदार दार्चुलाको अपि हिमाल, भारतका विभिन्न हिम श्रृखलालगायत थुप्रै धर्मस्थलको दृश्यावलोकन गर्न सकिन्छ।
गुफा कति लामो छ र यसको अन्त्य कहाँ गएर हुन्छ, अझै सम्म पनि कसैले पत्ता लगाउन नसकेको सम्भवतः यो गुफा नेपालकै सबै भन्दो ठूलो गुफा हुन सक्ने सुर्नया गाउँपालिका–२ का, स्थानीय जयबहादुर चन्दले बताए।
यो गुफासँगै रहेको तालमा कुनै बेलामा भर्खरै ब्याएको भैँसी पानी पिउन जाँदा डुबेर करिब ७ किलोमिटर तल सुर्नया नदी किनार पानी निस्कने मुहानमा निस्किएको आफूले सुन्दै आएको स्थानीय कृष्ण पाण्डेयले बताए।
प्रत्येक वर्ष रामनवमीको दिन पूजाआजा हुने गरेको, सानो उमेरमा गुफामा जाने गरेको र गुफाभित्र दुई किसिमको पानीको धारा एउटा सेतो दूध जस्तो र अर्को पानीको धारा बग्ने गरेको पाण्डेयले जानकारी दिए। गुफाभित्र सानाठूला धेरै बाटा सर्प, शिव पार्वती लगायतका मूर्तिका आकृति समेत देखिन गरेको पाण्डेको भनाइ छ।
धार्मिक पर्यटकीय सम्भावना भए पनि पर्यटक तान्न सकेको छैन। पूजापाठ गर्ने र विवाह गर्नेहरू वरपरकाबाहेक हेर्न आउने पर्यटक न्यून मात्रामा आउने गरेको स्थानीय केशवदत्त भट्टले बताए।
गुफाको विकास र पर्यटक तान्न स्थानीयको चासो जानुपर्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए। घुम्न आउने पर्यटकलाई आकर्षण गर्न सके मात्रै पर्यटक भित्रिने भन्दै उनले थपे, ‘आवश्यक प्रचारप्रसार र आउने पर्यटकलाई आवश्यक पर्ने सुविधा दिन सके मात्रै यसको विकास हुन्छ।’
जिल्लाकै महत्त्वपूर्ण धार्मिक सम्पदा भए पनि यसको संरक्षण गर्न सकिएको छैन। यसको विकासको लागि छुट्याउने बजेटसमेत सही सदुपयोग हुन हुन सकेको छैन।
प्रकाशित: १० पुस २०८० १०:०७ मंगलबार