यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।
रौतापोखरी कोसी प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय गन्तव्यमध्ये अति सम्भावना बोकेको ठाउँ भएकाले यसको भविष्य पनि सुन्दर रहेको गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए। उनका अनुसार सदरमुकाम गाईघाटदेखि ४९ किलोमिटर उत्तरमा पर्ने रौतापोखरी समुद्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा अवस्थित छ। चिसो र स्वच्छ हावापानी, सुन्दर र मनोरम जङ्गलबिचमा बाह्रै मास पानी जमिरहने सफा र सुन्दर पोखरी र पोखरी छेउमा रौतामाई देवीको मन्दिर छ। पोखरीको उत्तरतर्फ मनोरम हिमशृङ्खला, दक्षिण, पश्चिम र पूर्वतिर टाढा टाढाका सहर बजार देख्न सकिने ठाउँ भएकाले दृष्यास्वादनका लागि पनि पर्यटकहरू यो ठाउँ आउने गर्छन्।
पर्यटकीय मात्र नभएर धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण मानिएको यो ठाउँमा घुमफिर गर्न, पुनताजगी लिन, पुजा आराधना र भक्ति भाव गर्न आन्तरिक पर्यटक र भक्तजनको रोजाइको केन्द्र बन्दै गएको छ। रौतापोखरीको विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले पछिल्लो समय निकै ध्यान दिँदै गएको रौतामाई ६ का वडाध्यक्ष पृथ्वीबहादुर राईले बताएका छन्। उनका अनुसार यो ठाउँको परापूर्व कालदेखि धार्मिक महत्व रहँदै आएको छ।
रौतामाई मन्दिरमा बाह्रै मास पूजा आराधना हुने गरेको छ। तर, बली दिने पूजाआजा भने विशेष गरी माघ महिना भरी हुन्छ। माघ भरी भने पाठी र परेवा बली दिने दर्शनार्थीको बाक्लो घुँईचो लाग्ने गरेको राईले बताए। माघ १ देखि अन्तिम सम्म भक्तजनहरू पोखरीमा नुहाएर रौतामाई मन्दिरको पूजा गरी पाठी र परेवाको बली दिने गर्दछन्। कन्चन पोखरीको चिसो पानीमा नुहाएर पूजा आराधना गरी मन्दिरमा बली चढाउँदा रोगव्याधी हट्नुका साथै सबै खाले मनोकामना पुरा हुने परम्परागत मान्यता रहिआएको वडाध्यक्ष राई बताए।
त्यसैले माघ महिना भरी दर्शनार्थीको बाक्लो उपस्थिति हुने गरेको छ। स्थानीय शिक्षक बलराम राईका अनुसार अन्य महिना पनि बली दिने क्रम निरन्तर चलिरहने गरेको छ। तर, कात्तिक, पुस र चैतमा भने पूजा आराधना केही नहुने र बली दिन पनि मनाही गरिएको उनले बताए।
सडक सुविधा पुगिसकेको हुनाले सदरमुकाम गाईघाटलगायत व्यापारिक केन्द्रहरू कटारी, बेलटार, रामपुर र मुर्कुचीबाट सबै दिन जसो आन्तरिक पर्यटकहरू रौतापोखरी पुग्ने गरेका छन्। प्रायजसो शुक्रवार दिनभरिको काम सकेर साँझमा रौतापोखरी पुगेर शनिबार दिनभर रमाउने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्। गाईघाटदेखि साउने, रानीबाससम्म २५ किलोमिटर गाईघाट–दिक्तेल सगरमाथा लोक मार्ग पक्की भइसकेको छ। रानीबासदेखि खाँबु डहरसम्मको ९ किलोमिटर खण्ड पनि पक्की भइसकेको छ भने डहरदेखि रौतापोखरीसम्मको १५ किलोमिटर खण्ड भने कच्ची सडक रहेको छ। सो खण्डलाई पनि पक्की बनाउन सके गाईघाटदेखि रौतापोखरीको यात्रा डेढ घण्टामा तय गर्न सकिने यातायात व्यवसायीहरू बताउँछन्।
आन्तरिक पर्यटक र भक्तजनहरू बढ्दै गएपछि रौतापोखरीलाई व्यवस्थित बनाउनका लागि गाउँपालिका थप लागी परेको प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत बताउँछन्। उनका अनुसार अहिलेसम्म रौतापोखरीलाई धार्मिक र पर्यटकीय हिसावले सुधार गर्न थुप्रै संरचनाहरू निर्माण गरिसकिएको छ। चालु वर्ष पनि पर्यटन शीर्षकमा बजेट विनियोजन गरेर काम गर्ने योजना रहेको उनले बताए। रौतापोखरी क्षेत्रलाई व्यवस्थित बनाउन तथा त्यहाँको जैविक वनस्पतिहरूको रक्षा गर्न अतिक्रमणबाट बँचाउनु मुख्य चुनौती भएकाले विगत ३ वर्षयता घेरावार गरिदैछ।
सम्पूर्ण रौतापोखरी क्षेत्रको सुरक्षाका लागि घेरावार गर्ने काम अन्तिम चरणमा पुगिसकेको बस्नेतले बताए। त्यसैगरी सो क्षेत्रलाई धार्मिक तथा पर्यटनमैत्री बनाउँन प्रत्येक ५ सय मिटर दूरीका अलगअलग टाकुरामा बिभिन्न देवदेवी तथा विभूतिहरूको मूर्ति स्थापना गरिएको छ। पोखरीदेखि ५ सय मिटर माथिको थुम्कोमा किराँती राजा यलम्बरको मूर्ति, त्यसपछि दुर्गा भगवती, तेस्रो थम्कीमा शिव पार्वती र चौथो थुम्कीमा बुद्ध मूर्ति स्थापना गरिएको छ। ती हरेक मूर्तिबाट अर्कोमा पुग्न जैविक प्रविधिको खुड्किलो (सिँढी) निर्माण गरिएको छ। स्थानीय ढुङ्गा र माटोको प्रयोगबाट बनाइएको सिँढीको दायाँबायाँ फलामे रेलिङ निर्माण गरेर यात्रु पर्यटकलाई हिँड्न सहज बनाइएको छ। पर्यटकलाई थकाई मार्न, बिसाउनी र आराम गर्न ठाउँ ठाउँमा फलामे फलैँचा र आराम गर्ने पार्टी (सेड)हरू पनि त्यहाँ निर्माण गरिएको छ।
प्रकाशित: २६ मंसिर २०८० १४:५५ मंगलबार