२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा मुक्तेश्वर मुर्तिया महोत्सव सुरु

सर्लाही – सर्लाहीको ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाममा बुधबारबाट मुर्तिया महोत्सव सुरु भएको छ। बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरधाम नजिकै चौरमा आयोजित महोत्सवको नेकपा माओवादीका नेता प्रभु साह र सर्लाही क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले संयुक्त रुपमा उद्घाटन गरे।

‘ऐतिहाँसिक धरोहर मुर्तिया जाऔंः आन्तरिक पर्यटनमा टेवा पुर्याऔं’ भन्ने मुल नाराका साथ आगामी माघ ९ गतेसम्म चल्ने महोत्सवमा कृषि उत्पादन, कृषि सम्बद्ध उपकरणसहित ४० वटा स्टलहरु राखिएको आयोजक समितिका अध्यक्ष तुलसी लुईंटेलले जानकारी दिए।

‘पुरातत्व विभागले उत्खनन् गरिरहेको ऐतिहासिक एवं धार्मिक स्थल मुक्तेश्वर धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’, उनले भने। महोत्सव उद्घाटन समारोहमा तामाङ, गुरुङ, मगर, क्षेत्री, मैथली लगायत विभिन्न जातजाति एवं समुदायको भेषभुषा र झाँकी समेत प्रस्तुत गरिएको थियो।

मिथिला आईडल नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति, जनकपुर अञ्चलस्तरीय ब्याडमिण्टन प्रतियोगिता समेत आयोजना गरिने महोत्सवमा स्थानीय पोखरीहरुमा बोट र्याप्mटिङ्गको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

मुक्तेश्वर धाममा पूराना विभिन्न कलाकृति, प्रतिमूर्ति झल्कने ईट्टा, ढुंगाका भग्नावशेषहरु रहेको छ। ११औं शताब्दीमा निर्माण भई १३औं शताब्दीमा भत्किएको पुरातत्व विभागको अध्ययनबाट आफूहरुले जानकारी पाएको स्थानीय पुण्यप्रसाद घिमिरेले जानकारी दिए।

प्रकाशित: ३ माघ २०७४ १५:३२ बुधबार

सर्लाहीमा मुक्तेश्वर मुर्तिया महोत्सव सुरु