इटहरी- सुनसरीका पत्रकारिताको इतिहासका एउटा खम्बा पत्रकार डम्बरबहादुर थापाको मंगलबार विहान निधन भएको छ।
७६ वर्षिय थापाको आफ्नै निवास इनरुवा वडा नं. ६ मधेशा निधन भएको हो। थापा दमले पीडित थिए। उनी नियमित चिकित्सकसँग चेकजाँच गरेर औषधी सेवन गरिरहेका थिए । ‘आज पनि चेकजाँच गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी अनुसार एम्बुलेन्स डाकिएको थियो । तर, घरमा एम्बुलेन्स आउन नपाउँदै मृत्यु हुन पुग्यो,’ थापाकी श्रीमती कमलाले मंगलबार भनिन् । कमलाका अनुसार, थापा बिहान उठेर चिया खाएपछि निधन भएको हो ।
नेपाली पत्रकारितामा निडर पत्रकारका रुपमा चिनिएका थापा पञ्चायत कालमा निश्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्दा पत्रकारका रुपमा पहिचान स्थापित गराउन सफल बनेका थिए । त्यही भएर उनलाई २०४७ साल फागुन २४ गते योद्दा पत्रकारको उपनाम सहित सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
स्वर्गीय थापा पत्रकारिता गर्ने क्रममा पटकपटक गरि ५४ पटक पक्राउ परेका थिए । त्यस क्रममा तीन वर्ष ९ महिना १७ दिन थुनामा बसेका थिए । थुनामै परेका बेला विराटनगर कारागारमा हुँदा मार्ने प्रयास समेत भएपछि २१ दिन अनशन बसेका थिए । अनशन बसेपछि उनलाई जेलमुक्त गरिएको थियो ।
थापा नेपाली पत्रकारिता इतिहासमा अन्तरवार्ताकारका रुपमा समेत लिने गरिन्छ । थापाले तत्कालिन अवस्थामा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, वीपी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तत्कालिन राजा महेन्द्र, पूर्व भारतीय प्रधानमन्त्री चन्द्र शेखरजस्ता व्यक्तिको समेत अन्तर्वार्ता लिएका थिए । थापाको मंगलबार दिउँसो सुनसरी खोलामा अन्तिम दाहसंस्कार गरिएको छ। दाहसंस्कारको क्रममा नेपाल पत्रकार महासंघले थापाको पार्थिक शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । थापाको श्रद्दाञ्जली व्यक्त गर्न जिल्लाभरका सञ्चारकर्मी भेला भएका थिए ।
यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरी शाखाले शोक बक्तब्य जारी गरि थापा निधन भएको दुःखद् खबरले स्तब्ध भएको जनाएको छ।
प्रकाशित: २ माघ २०७४ ०८:५६ मंगलबार