पाल्पा–पुर्खौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन्।
कुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि सोमबहादुर माटोको भाडा बनाउने अभियानमा जुटेका हुन।
माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो उनको छ।
भाडा बनाउनका लागि चाहिने उपयुक्त पहेँलो र चिप्लो नरम माटो निकाल्ने ठाउँमा सुरक्षा बेस क्याम्प बसेपछि समस्या बढेको हो। निजी जग्गामा भाडा बनाउनका लागि माटो दिँदैन, सोमबहादुरले दुखेसो पोखे।
जाडोको समयमा मकै भुट्न, शुभकार्यमा समेत उपयुक्त मानिने हाडी, गर्मीयाममा चिसो पानी पिउनका लागि उत्तम मानिने घैँटो, खुत्रुके, हाडालगायतका माटोका भाडाको माग धेरै छ।
माटाका त्यस्ता भाडा रु ३०० देखि एक हजार ५०० सम्म स्थानीय बजारमा बिक्री हुने गर्छ। पहिला पहिला गाउँगाउँ भारी बोकेर धान, मकै गहुँलगायत अन्न बालीसँग साटिने भाडा अहिले घरबाटै बिक्री हुन थालेपछि कुमालले मासिक रु तीन चार हजार आम्दानी गर्छन।
कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिनका लागि यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नुपर्नेमा सोमबहादुरले जोड छ।
विसं २०६८ को जनगणनाअनुसार पाल्पामा कुमाल समुदायको जनसंख्या ३ हजार ६सय ९५ छ। पाल्पाका रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहे पनि कुमाल समुदायका मानिस माटाका भाडा बनाउन पेशाबाट विस्थापित बन्दै गएका छन्। (रासस)
प्रकाशित: २९ पुस २०७४ ११:०२ शनिबार