१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्वोच्चमा केसीको बयान- 'प्रधानन्यायाधीशमाथि छानबिन गर्न माग'

काठमाडौं- अदालतको अपहेलना अभियोगमा गिरफ्तार डाक्टर गोविन्द केसीले न्यायमा विकृति भित्रिएको देखेर शुद्धीकरणका लागि आफू बोलेको बयान दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा मंगलबार केसीको बयान लिइएको थियो । मंगलबार बयानमात्र सकिएको भन्दै इजलासले बुधबार बिहान १० बजे अदालतमै उपस्थित गराउन सुरक्षाकर्मीलाई आदेश दिएको छ ।  
बयान सकिएपछि इजलाससमक्ष केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले ‘पक्राउ पुर्जी’ मा कुन कानुनको उल्लंघन गरेबापत पक्राउ गरिएको हो भन्ने जानकारी नगराइएको भन्दै मुद्दा खारेजीको माग गरेका थिए । ‘कुनै पनि नेपाली नागरिकलाई बिनाकारण संविधानविपरीत अदालतमा बयान गराउन पाइँदैन, मुद्दा खारेज होस्’, उनले भने ।
प्रहरीबाट सर्वोच्चमा उपस्थित गराइएका डाक्टर केसीले ‘फैसलाको आलोचना गर्नु अदालतको अवहेलना’ नभएको जिकिर गरे । उनले न्यायालयका विरुद्ध नभई गलत निर्णय दिने न्यायाधीशविरुद्ध आफू रहेको बयान दिए ।
बयानको क्रममा सर्वोच्चको प्रश्न थियो, ‘प्रतिवेदनमा पेस भएको समाचार सामग्री, प्रेस विज्ञप्ति तपाईंको हो, होइन ?’ अर्को प्रश्न थियो, ‘तपाईंले भन्नुभएको कुरा अदालतको अवहेलनाजनक हो भन्ने लाग्दैन ?’ केसीको उत्तर थियो, ‘अनलाइन पत्रपत्रिकाको बारेमा भन्न सक्दिन । विज्ञप्ति मैले नै प्रेषित गरेको हो । विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अमर्यादित तबरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ ।’
मेडिकल कलेजसम्बन्धी सुधारका लागि आफूले डेढ दशकदेखि प्रयास गर्दै आएको उनले बयानका क्रममा बताए । ‘सर्वोेच्चको आदेशले मेडिकल माफियाले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखेर प्रेसविज्ञप्तिसमेत निकाली अनशन बस्नुपरेको हो’, डाक्टर केसीले बयानमा भने, ‘सुधारको प्रयास गर्दागर्दै एक्कासि प्रहरीको सहयोग लिई अदालतसमक्ष बयानका लागि ल्याइएको छ ।’
उनले ‘न्याय प्रशासनको नेतृत्व निष्पक्ष, आदर्शवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्बन्धी विवाद, उमेर विवाद, शैक्षिक योग्यतासम्बन्धी विवाद, राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया, नातावादलगायतका क्रियाकलापका साथै न्यायपालिकाको आस्था र गरिमालाई चुनौती दिएका कारण अदालतको अवहेना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो’, केसीले बयानमा भने ।
‘सम्मानित प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरे न्यायको गरिमा वृद्धि हुन्छ । अदालत जनताको केन्द्र बन्छ’, केसीसँग लिइएको लिखित बयानमा उल्लेख छ ।
केसीलाई पौने ९ मै अदालत पु¥याइयो
सर्वोच्चले मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सोमबार आदेश दिएको थियो । सोमबार राति गिरफ्तार केसीलाई मंगलबार प्रहरीले बिहान पौने ९ बजै नै अदालत पु¥याएको थियो ।
बिहानैदेखि सर्वोच्चमा प्रहरी तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरी एम्बुलेन्समा डाक्टरको साथमै अदालत पु¥याइएका केसीलाई प्रवक्ताको कार्यकक्षमा राखिएको थियो । केसीले कमजोरी महसुस भएको बताएपछि ११ बजेतिर घाम ताप्न भन्दै सर्वोच्चको पछाडिपट्टि चौरमा प्रहरी एम्बुलेन्समै राखिएको थियो ।
दिउसो १ः२० मा केसीलाई इजलासमा लगिएको थियो । इजलासमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए । केसीलाई इजलास पु¥याइएलगत्तै न्यायाधीश मिश्रले ‘कस्तो छ डाक्टर साब ?’ भन्दै सोधे । केसीले आफू ठीकै भएको जवाफ दिए । न्यायाधीश मिश्रले ‘उहाँ कमजोर हुनुहुन्छ, बोल्न दिनुस्’ भनेपछि अपहेलना मुद्दा फाँटका अधिकृतले बयान लिन सुरु गरेका थिए ।
न्यायाधीश मिश्रले प्रहरीका डाक्टरसँग केसीको स्वास्थ्य अवस्थाका विषयमा समेत सोधेका थिए । केसीको रेखदेखमा संलग्न डाक्टरले ‘हिजोभन्दा कमजोर बनेको र रक्तचाप कम हुँदै गएको’ जवाफ दिएकी थिइन् ।
केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सुरेन्द्र केसीलगायतले बहस गर्ने भएका छन् ।

प्रकाशित: २६ पुस २०७४ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App