४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको सरकार नबनेसम्म देशमा विकास हुँदैन: अध्यक्ष ओली

दैलेखको राकममा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशमा विकास नहुने दाबी गरेका छन्। देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक हुने आलीको दाबी थियो।

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत कर्णाली नदी किनारस्थित दैलेखको राकमकर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने बताएका हुन्।

‘एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमि फिर्ता आउँदैन झन् मिचिने सम्भावना हुन्छ, युवाहरु विदेश पलायन हुन्छन्। देशमा विकास हुँदैन, महँगी बढ्दै जान्छ’ उनले भने।

आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने उनले दाबी समेत गरे। एमालेको सरकार हुँदा विभिन्न विकासका योजना अघि बढेको ओलीको भनाइ छ।

‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो, एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रुपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबीहरु छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महँगी बढ्यो, युवाहरुले रोजगारी नपाउने अवस्था बन्यो, विकास ठप्प छ, भ्रष्टाचार बढ्यो,’ ओलीले भने।

एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको ओलीले दाबी गरे। ‘एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो, युवा शक्ति बिदेसिने क्रम घटेको थियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देशको विकासका लागि एमाले चाहिन्छ।’

वर्तमान गठबन्धनको सरकारका कारण देशको विकास ठप्प भएको ओलीको दाबी छ। सबै जनता खुसी रहुन् भन्ने एमालेले लिएको नीतिलाई सिंगो नेपाली जनताले राम्ररी बुझेको ओलीले सुनाए। 

अर्को प्रसङ्गमा अध्यक्ष ओलीले पार्टीको सन्देश सुनाउँदै आम जनताको भावना बुझ्न अभियान थालेको बताए। उनले अभियानका क्रममा स्थानीय स्तरको समस्या र सम्भावनालाई गहिरो गरी बुझ्ने र सोही अनुसार आगामी दिनमा पार्टीले नीति लिने जिकिर गरे।

‘अभियान अन्तर्गत सुदूरपश्चिमको यात्राका क्रममा वर्तमान सरकारबाट आम जनता वाक्क दिक्क बनिसकेको पाए, सबै जनताहरु एमालेको सरकार कहिले बन्छ भनेर पर्खिरहेका छन्, ‘समृद्ध नेपाल खुसी नेपाली’ बनाउनका लागि एमालेको सरकार बन्नुपर्ने आम नागरिकको अपेक्षा छ,’ ओलीले भने।

 

राकमकर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुसार काम भइरहेको उनले जनाए। मध्य पहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँहरु सुगम बन्दै गएको अध्यक्ष ओलीको भनाइ छ।

ओलीको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत कर्णालीको दैलेखका विभिन्न पर्यटकीय स्थल हुँदै सुर्खेतपछि जाजरकोटमा भूकम्पबाट क्षतिपछि एमाले निकट युवा संघले निर्माण गरेका घरहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १७ मंसिर २०८० १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App