२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्वाचनमा गम्भीर त्रुटि भएको शर्मा पक्षको दाबी

गैरआवासीय नेपाली संघको विवाद उत्कर्षमा पुगेको छ। एनआरएनए ११ औं महाधिवेशनमा काठमाडौंमा भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि सुरु भएको विवाद अझै सुल्झिएको छैन।

निर्वाचन समितिले बद्री केसी अध्यक्षसहित निर्वाचित समितिको नामावली सार्वजनिक गरेपछि अध्यक्षका प्रतिस्पर्धी महेश श्रेष्ठ र आरके शर्माले धाँधली भएको भन्दै नयाँ समिति गठन गरेका थिए। श्रेष्ठ र शर्मा पक्षधरले केसी नेतृत्वको समिति अवैध भएको भन्दै आरके शर्मा अध्यक्ष, बुद्धिप्रसाद सुवेदी महासचिव रहेको समिति घोषणा गरेका थिए । त्यसपछि केसी र शर्माले एनआरएनएको समानान्तर गतिविधि गर्दै आएका छन्। निर्वाचन समितिबाट घोषणा भएको केसी नेतृत्वको समितिलाई शर्मा पक्षले अवैध भन्दै आएका छन्। केसीले स्वघोषित शर्मा नेतृत्वको समितिको औचित्य नभएको बताउँदै आएका छन्।

आरके शर्मा पक्षले मंगलबार काठमाडौंमा पत्रकार भेटघाट गरी गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा त्रुटि भएको दाबी गरे। शर्माले अनलाइन निर्वाचनमा गम्भीर सात वटा त्रुटी भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे।

शर्माले उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको र यस सम्बन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मत पत्रमा नाम फरक भएको भनिए तापनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको दाबी गरेको छ। पछिको स्पष्टीकरणमा सिस्टम ब्याक एन्ड मा इन्ट्रिगेसन मिस्टेक भएको भनिए पनि यो स्पष्टीकरणले सिस्टमप्रति नै झन् गम्भीर आशंका पैदा गरेको शर्माले बताए। त्यसैगरी, सिस्टमको फिचर अनुसार सबै पदाधिकारीको मत संख्या अनिवार्य बराबर हुनुपर्नेमा फरक फरक भएको उनले बताए। नेपालमा आउने प्रतिनिधिहरूले अनिवार्य काठमाडौंको सोल्टी होटलको बुथवाट मतदान गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलबाट खसेको मत समान हुनुपर्नेमा फरक भएको दाबी गरे।

विधानको दफा २१ (७) अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएपछि निर्वाचनमा प्रभाव पार्ने गरी कुनै पनि नियमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको, अनलाइन भोटिङको फेस भेरिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घन्टापछि नौ सय ९५ बाट घटाएर ६ सय ५५ बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको, फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशतभन्दा कम गरिनु फेस भेरिफिकेसनको अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भएको र निर्वाचनको बीचमै यसरी निर्वाचनको प्रक्रिया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको आरोपसमेत लगाए। सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आइडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीबाट पुनः फिर्ता लिनुले पासवर्ड दुरूपयोग गरिएको हुनसक्ने आशंका आफूहरूलाई लागेको शर्मा पक्षका महासचिव बुद्धिसागर सुवेदीले बताए। नेपालमा आइसकेका केही प्रतिनिधिहरूको नामबाट विदेशबाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनीयतामा गम्भीर आशंका रहेको उपाध्यक्ष गंगाधर गौतमले बताए।

कार्यक्रममा सुवेदीले नेपालीहरूको सुखदुःखमा गैरआवासीय नेपाली संघ सदैव साथै रहेको बताए। सोहीअनुसार जाजरकोट भूकम्प प्रभावितलाई रातह वितरण गरिएको बताउँदै उनले एनआरएनएको टोलीले भूकम्प प्रभावित समुदायलाई पहिलो चरणमा दुई हजार थान कम्बल, पाँच सय थान त्रिपाल, चार हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको जानकारी दिए।  

प्रकाशित: १३ मंसिर २०८० ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App