१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मधेसमा शीतलहरले सकस

चिसोबाट जोगिन जनकपुरमा आगो ताप्दै महिला र बालबालिका ।

पूर्वेली ब्यूरो

 

विराटनगर- दुई दिनयता पश्चिमी हावासँगै परेको शीतलहरले बढाएको जाडोले मध्यपूर्वी तराई–मधेसमा सर्वसधारणको दैनिकी कष्टकर बनेको छ ।
प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीच धेरै अन्तर रहेकाले पनि शीतलहर र चिसो मौसमविद्को भनाइ छ । बुधबार विराटनगरको अधिकतम तापक्रम २७ डिग्री र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमात्र छ । बिहीबार तापक्रम अझै घट्ने अनुमान गरिएको छ ।

 

चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । बिहानैदेखि चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन् ।

शीतलहर र बाक्लो हुस्सुले जनकपुरको हवाईसेवा दुई दिनदेखि प्रभावित छ । जहाज उडान र अवतरणका लागि भिजिबिलिटी नपुग्दा जनकपुर विमानस्थलबाट हवाईसेवा हुनसकेको छैन । झापाको भद्रपुर र मोरङको विराटनगर विमानस्थलबाट पनि बुधबार साँझसम्म जहाज उडान र अवतरण भएको छैन । विराटनगर विमानस्थलका प्रमुख सुरेशमान सिंहका अनुसार दिउँसो भिजिबिलिटी बढे पनि बिहार र साँझ निकै कम हुने गरेकाले जहाज सञ्चालनमा समस्या भइरहेको छ ।
    मध्यपूर्वी तराई–मधेसका मुख्य सहरमा शीतलहरले सर्वसधारणको चहलपहल पनि पातलिएको छ । धेरै स्थानमा दाउरा बालेर स्थानीय आगो तापिरहेका छन् । आगो ताप्न प्रशासनले सार्वजनिक स्थलमा दाउरा र विपन्न बस्तीमा न्याना कपडा बाँड्नुपर्ने माग उठेको छ ।
    विपन्न बस्तीमा शीतलहरले निकै बिजोग भएको छ । न्यानो कपडा अभावमा सर्वसाधारण आगो तापेरै जाडो छल्ने प्रयासमा छन् । जनकपुरस्थित धर्मवान टोलको ऐलानी बस्ती, उत्तीमपुर, कुवा, रामपुर, लोहना, कुर्था, मुजेलिया, कटैयाचौरी, कपिलेश्वरलगायत स्थानका दलित तथा विपन्न परिवार शीतलहरको जोखिममा छन् । दैनिक श्रम गरी जीवनयापन गर्नेहरू  न्याना कपडा अभावमा कठ्यांग्रिएका छन् ।
    शीतलहर अकस्मात बढेपछि जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले आकस्मिक बैठक गरी बुधबारदेखि दुई साताका लागि सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरेको छ । रेडक्रस सोसाइटीले सहरका केही स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाए पनि विपन्न परिवारले भने त्यस्तो राहत पाउन नसकेको गुनासो गरेका छन् ।
    साउनको बाढीले घर–टहरा भत्काएका जनकपुर उपमहानगरका ती बस्तीसँगै धनुषाका मुखियापट्टि मुसहरनिया, धनौजीलगायत कमला नदी छेउका बस्तीमा शीतलहरको प्रभाव बढ्दो छ । दिनभर लाग्ने हुस्सु र शीतलहरका कारण सडकमा पनि यात्रु तथा सवारीसाधन कम देखिएका छन् ।

चहलपहलमा कमी
    तराई–मधेसमा चिसोका कारण जनजीवन प्रभावित भएसँगै विद्यालयमा विद्यार्थीसमेत आउन छाडेका छन् । बजारमा किनमेलका लागि आउने ग्राहक पनि कम छन् ।
    हुस्सु र शितलहरले झापाका विद्यालयमा विद्यार्थी संख्या घटेको छ । विपन्न समुदायका विद्यार्थी विद्यालयसम्म आउन छाडेका छन् । आदिबासी समुदाय बाहुल्य बस्तीका विद्यार्थी विद्यालय जान छाडेका हुन् । गौरीगन्ज गाउँपालिका १ महाभराकाको बालकल्याण माविका प्रध्यानाध्यापक भोलाप्रसाद खतिवडाले निरन्तर बढेको चिसो र न्याना कपडा अभावमा विद्यार्थी विद्यालय आउन छाडेको बताए ।
    ‘जाडो बढेसँगै विद्यालय आउने विद्यार्थी संख्या कम भएको छ’, उनले भने, ‘सन्थाल, राजवंशी, कोचलगायत समुदायका विद्यार्थी पढ्नआउन छाडेका छन् ।’ विद्यालयले पनि पर्याप्त तातो खानेकुरा (खाजा) को प्रबन्ध मिलाउन नसकेको उनले बताए । यस्तै होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवकुमार मैनालीले पनि न्यानो कपडा र जुत्ता चप्पल अभावमा बालबबालिका विद्यालय आउन छोडेको बताए । ‘    चिसो बढेपछि विद्यार्थी आउन सक्दैनन्,’ उनले भने, ‘चिसो अझै बढ्ने हो भने ९० प्रतिशत बालबालिका स्कुल आउनै छाडछन् । यसले बीचैमा स्कुल छाडने सम्भावना पनि हुन्छ ।’
    सुकुमबासी बस्तीमा समेत चिसोका कारण समस्या भएको छ । गौरादह–४ स्थित सुकुमबासी बस्तीका  बालबालिका पनि जाडोकै कारण विद्यालय जान छाडेका छन्,’ स्थानीय राम पोखरेलले भने, ‘दैनिक काम गरेर खर्च जुटाउने पनि जाडोले घरबाहिर जान पाएका छैनन् ।’

विपन्न परिवार संकटमा   
    एक्कासि बढेको चिसो र शीतलहरका कारण महोत्तरीका सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको जनजीवन पनि कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र पश्चिमी स्याँठले न्यूनतम तापक्रम तल झर्न थालेपछि जनजीवन अत्यन्तै कष्टकर बनेको हो ।   
    चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । बिहानैदेखि चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन् ।   
    १० नगरपालिका र ५ गाउँपालिकाका अधिकांश चिसोको मारमा छन् । चिसोका कारण जिल्ला अस्पताल जलेश्वरमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका विरामी पनि बढेको जलेश्वर अस्पतालका चिकित्सक साकेसलाल कर्णले बताए ।  दैनिक १० देखि १५ जनासम्म अस्पतालमा आउन थालेको उनले बताए । हुनेखानेभन्दा पनि अतिविपन्न परिवार र दलित बस्तीमा चिसोले बढी समस्या देखिएको छ ।
सीतापुर भंगहा, हतिसर्वा, रघुनाथपुर, औरही, बिजलपुरा, रामगोपालपुर, लक्ष्मीनियामा बाक्लो बसोबास रहेको मुसहर र बाँतर समुदाय चिसोले सबैभन्दा बढी प्रभावित भएको नेपाल रेडक्रस सोसाइटी जलेश्वरले जनाएको छ । शीतलहरले गहुँ, गोलभेंडा, आलु, प्याज, लसुनलगायत अन्न र तरकारीबालीमा पनि प्रत्यक्ष असर पार्ने जिल्ला कृषि विकास कार्यालय, महोत्तरीले जनाएको छ ।

(विनोद सुवेदी÷विराटनगर, सुरेश यादव÷जनकपुर, महेशकुमार दास÷महोत्तरी र युवराज विवश÷दमकको सहयोगमा)

प्रकाशित: २० पुस २०७४ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App