४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

हलचौरका ५६ घरधुरीले अझै पाएनन् राहत, भन्छन्: सहरमा आउँछ, गाउँमा आउँदैन्

जाजरकोट नलगाड नगरपालिका –८ हलचौरमा रहेका ५६ घरधुरीहरू भूकम्पबाट घरबार विहीन भएको ७ दिन पुगिसक्दा समेत राहत पाउन सकेका छैन।

राहत सदरमुकाम, स्थानीय बजार केन्द्रित र पहुँचवालाको वरिपरि हुँदा अहिलेसम्म हलचौरवासीले राहत पाउन नसकेका हुन्। हलचौरका रामप्रसाद खत्रीले चार दिनदेखि धाउँदा समेत राहत नपाउँदा खल्लो लागेको बताए।

नलगाड नगरपालिका –८ मा राहत सामाग्री नपुग्दा खुल्ला आकाशमै बसेका स्थानीयहरु। तस्बिर: नागरिक।

‘घरमा पुरिएको अन्न झिकेर केही दिन गुजारा गरे पनि उनको पछिल्लो दिनहरू कष्टकर हुँदै गइरहेको छ।’ उनले भने, घरमा बस्नका लागि न त्रिपाल छ न खाद्यान्न नै छ। बजार नजिकसम्म राहत आउने गरे पनि गाउँमा राहत पुग्न सकेको छैन।’

नलगाड नगरपालिका –८ का हलचौरका ५६ घरहरुका स्थानीयहरु खुल्ला आकाशमै कष्टकर रात बिताउने गर्दछन्। गाउँमा त्रिपाल, न्यानो कपडा र खाद्यान्न समेत पुग्न नसक्दा चिसोले बिरामी समेत हुन थालेको स्थानीय भूपेन्द्र खत्रीले बताए।

राहत बाँड्न आएको टोली पनि राहत नदिएर फर्किएको आरोप पीडितहरुको छ। ‘एउटा संस्थाले राहत लिएर आएको थियो’, अर्का भूकम्प पीडित गोपाल खत्रीले भने, हामीलाई नदिएरै फर्कियो। खाली हात घर आयौँ।’

सदरमुकाम र आसपासमा पहुँच हुनेहरुले मात्र राहत पाउने गरेको भन्दै हलचौरका स्थानीयहरुले आक्रोश पोखेका छन्।

‘राहत सदरमुकाममा आएको खबरहरु आउँछ तर, गाउँमा आउँदैन्।’ भूकम्प पीडित रामप्रसाद खत्रीले भने, आएको राहत पनि नदिएरै जान्छन्।’

खुल्ला आकाशमा रातभर चिसोले निन्द्रा नलाग्दा आँखा दुख्ने गरेको उनले बताए। गाउँमा राहतको नाममा एक दाना चामल पनि आएको छैन। सजिलो र पहुँच हुने ठाउँमा राहत वितरणले ग्रामीण बस्तीमा बिहान साँझको छाक टार्न सास्ती छ। घरमा पुरिएको अन्न निकाले केही दिन जोहो गरे पनि अहिले राहत नआउँदा आफूहरू समस्यामा परेको किशोर खत्रीले बताए।

त्यस्तै जाजरकोट सदरमुकाममा रहेको भेरी नगरपालिका– ४ को वडा कार्यालयमा एउटै व्यक्तिको नाम दोहोराएर राहत वितरण गरिएको भन्दै दुई दिन अगाडी विवाद समेत भयो। 

वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र रातारात राहत दिएको स्थानीयहरुले आरोप लगाएका छन्। वडामा राहत वितरणमा नाम दोहोरिएर आएपछि सामान्य विवाद भएता पनि हाल समाधान भइसकेको जाजरकोटका प्रहरी प्रमुख सन्तोष (डिएसपी) रोकाले बताए।

प्रकाशित: २३ कार्तिक २०८० ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App