२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ।

जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षतिको भएको अवस्थामा  भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा अहिले बिहान बसेको आकस्मीक बैठकले सो निर्णय गरेको हो।

बिहान १० बजे गृह मन्त्रालयमा बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व रहेको थियो। शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।  सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत घटनास्थलमा पुगिसकेको पनि भट्टराईले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८० ०६:५१ शनिबार

भूकम्पमा पीडित